यो साता केके भयो वित्तीय क्षेत्रमा ? हेरौँ साताभरमा मूख्य खबरहरु

बैंकिङ खबर । यो साता नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको प्रथम पाँच महिनामा आधारित देशको आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । त्यस्तै, राष्ट्र बैंकका अधिकारी र बैंकर्स संघका पदाधिकारीहरुलाई बोलाएर अर्थमन्त्रीले विभिन्न निर्देशनहरु दिएका छन् । यसबाहेक, अन्य केही गतिविधिहरु पनि वित्तीय क्षेत्रमा भएका छन्ः

देशको आर्थिक तथा वित्तीय स्थिती
राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गरेको छ । जसअनुसार, औसत मुद्रास्फीति ६.३३ प्रतिशत छ । आयात ४.२ प्रतिशतले घटेको छ भने निर्यात २७.० प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ०.१ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२३ अर्ब ३० करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति रु.१०८८ अर्ब ३१ करोड छ, जुन ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ । संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु.२८७ अर्ब ८४ करोड र राजस्व परिचालन रु.३३७ अर्ब ७१ करोड छ । विस्तृत मुद्राप्रदाय ३.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.० प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले बढेको छ ।

बैंकर्स र राष्ट्र बैंकलाई अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंक र बैंकर्स संघलाई आधा दर्जन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय, नेपाल राष्ट्र वैक र बैंकस् एशोशियसनका पदाधिकारीबीचको छलफलमा अर्थमन्त्री डा. खतिवडाले व्याजदर, सेवा शूल्क, लगानी, सहुलियत कर्जा लगायतका विषयमा निर्देशन दिएका छन् । सरकारले अघि सारेका नीति नियम तथा योजनामा भएका प्रगति र त्यसको कार्यान्वयनको चरणमा देखा परेको समस्याका बारेमा जानकारी गराउन अर्थमन्त्रीले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

निजी सवारी कर्जामा डाउनपेमेन्ट खुकुलो बनाइने
नेपाल राष्ट्र बैंकले निजी सवारीसाधन कर्जासम्बन्धी व्यवस्थालाई खुकुलो बनाउने भएको छ । ऋणमा गरिएको कडाईका कारण राजश्व नै प्रभावित भएपछि राष्ट्र बैंकले डाउनपेमेन्टलाई खुकुलो बनाउने भएको हो । निजी सवारी किन्नका लागि बैंकले ८० प्रतिशत ऋण दिने गरेकोमा यसलाई कडाई गर्दै ५० प्रतिशतमा झारिएको थियो । बैंकले कम ऋण दिने भएपछि सवारी खरिद गर्ने ग्राहकमा कमी आएका कारण व्यवसायीहरुले गाडीहरु आयात गर्नै कम गरे । जसकारण राजश्वमा उल्लेख्य कमी देखिएपछि राष्ट्र बैंकले निजी सवारीका लागि बैंकले दिने कर्जाको सीमा ५० प्रतिशतबाट बढाउने भएको छ ।

सनराइज बैंकले सिर्जना फाइनान्स किन्ने
सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति सम्बन्धि सम्झौतामा बुधबार हस्ताक्षर भएको हो । सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदनको आधारमा स्वाप रेसियो तय गर्ने सम्झौता भएको छ । सिर्जना फाइनान्स बिराटनगरमा प्रधानकार्यालय रहि मोरङ्ग, सुनसरी र सप्तरी गरि ३ जिल्लामा कार्यक्षेत्र रहेको फाइनान्स कम्पनी हो । कम्पनीले २१ वटा शाखामार्फत सेवा दिइरहेको छ ।

पुनर्बीमा कम्पनीले पुँजी घटाउने
नेपाल पुनर्बीमा कम्पनीले पुँजी घटाउन उच्च अदालत पाटनबाट स्वीकृति पाएको छ । कम्पनीका तर्फबाट तत्कालीन निमित्त प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले उच्च अदालत पाटनमा पुँजी घटाउन निवेदन दिएका थिए । अदालतले निवेदन अनुसारकै स्वीकृति दिएको हो । अब कम्पनीको अधिकृत पूँजी १५ अर्ब तथा चुक्ता तथा जारी पूँजी १० अर्ब कायम रहने भएको छ । यससँगै अब कम्पनीलाई आईपिओ निष्काशन गर्ने बाटो पनि खुलेको छ । कम्पनीले एक करोड ६० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ जसपश्चात् कम्पनीको चुक्तापुँजी १० अर्ब पुग्नेछ ।

उखु किसानको पैसा नतिर्ने उद्योग कारबाहीमा
सरकारले उखु किसानको पैसा नतिर्ने दुई वटा उद्योगको बैंक खाता रोक्का गरेको छ । अन्नपूर्ण र इन्दिरा सुगर एण्ड एग्रोको बैंक खाता रोक्का गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गरेको छ । मन्त्रालयले पटक पटक ताकेता गर्दा पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । बाँकी पाँच उद्योगले भने किसानको रकम भुक्तानी गरेका छन् ।

बीमा जागरणसम्बन्धी गीत सार्वजनिक
बीमा चेतना अभिबृद्धि गर्न प्रकाशित गरिएको बीमा जागरण गीत ‘बीमा गरौ खुसी हुनलाई’को एक समारोहबीच सोमबार बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईंद्धारा बिमोचन गरिएको छ । बीमा समितिको प्रवद्र्धनमा मिडिया इन्टरनेसनलद्धारा प्रकाशित उक्त एल्वममा नीर्जिवन बीमा र जीवन बीमाको महत्वका बारे सरल ढंगले प्रकाश पारीएको छ । लोकलयमा आधारित उक्त गीतबाट ग्रामिण क्षेत्रमा बीमा पहुँच अभिबृद्धिमा सहयोगि हुने अपेक्षा गरिएको छ ।

राष्ट्र बैंकमा अवकाश र बढुवा
नेपाल राष्ट्र बैंकमा हालै चार जना कार्यकारी निर्देशकले अवकाश पाएका छन् । महेश्वरलाल श्रेष्ठ, लक्ष्मी प्रपन्न निरौला, सुनिल उदास र सरिता भट्ट अधिकारीले अवकाश पाएका हुन् । उदास र अधिकारीको ठाउँमा रेवति प्रसाद नेपाल र रामु पौडेललाई नियुक्त गरिसकिएको छ । कानुन महाशाखा प्रमुख रहेका रेवति नेपालले भुक्तानी ब्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् भने वित्तीय जानकारी इकाईमा रहेका रामु पौडेलले फाइनान्स कम्पनी सुपरिवेक्षण विभागको जिम्मेवारी पाएका छन् ।वरियता क्रमका आधारमा तेस्रो र चौथो स्थानमा विश्रुुत थापा र राम बहादुर मानन्धर रहेका छन् । केही दिनमा उनीहरुको बढुवा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.