बैंकिङ खबर । यो साता नेपाल राष्ट्र बैंकका २७ जना उपनर्देशकहरुको बढुवा भएको छ । लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको पूर्ति भएको छ । अन्य केही गतिविधिहरु यो साता वित्तीय क्षेत्रमा भएका छन्ः
राष्ट्र बैंकका उपनिर्देशकहरुको बढुवा
नेपाल राष्ट्र बैंकले २७ जना उपनिर्देशकको बढुवा गरेको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख छ । नेपाल राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावली २०६८ तेस्रो संशोधन समेतको विनियन ५३ अनुसार बढुवा गरिएको हो । योग्यता पुगेकाहरुमध्येबाट बढी अंक प्राप्त गर्ने कर्मचारीका आधारमा बढुवा गरिएको जनाइएको छ ।
धितोपत्र बोर्डमा नयाँ नेतृत्व
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले ढुंगानालाई आगामी चार बर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । उनी नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशकबाट अवकास पाएका व्यक्ति हुन् । उनीसँग बैंकिङ क्षेत्रबारे बढी ज्ञान छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र बेलायतबाट विजनेश फाइनान्समा एमबीए गरेका ढुंगाना यसअघि धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए ।
कनेक्ट आईपिएसबाट दुई लाखको कारोबार गर्न सकिने
कनेक्ट आईपीएसको एपबाट प्रतिमहिना अधिकतम दुई लाखको कारोबार गर्न सपकने भएको छ । यसअघि यस्तो सीमा एक लाख रहेको थियो । नेपाल राष्ट्र बैंकद्धारा जारी भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन‐२०७६ बमोजिम सीमा बढाईएको कम्पनीले जनाएको छ । प्रति कारोबार सीमा भने ५० हजार नै यथावत रहेको छ । कम्पनीको वेबसाइटबाट गरीने प्रति कारोवार १० लाख र मासिक कारोवार सीमा ५० लाख रहेको छ ।
एक महिनामा एक्सिस बैंकका १५ हजारले छोडे जागीर
पछिल्लो एक महिनामा भारतको एक्सिस बैंकका १५ हजार कर्मचारीले जागिर छाडेका छन् ।
बैंकको व्यवस्थापनमा भएको परिवर्तनका कारण काम गर्न समस्या आएपछि मिड लेभल र माथिल्लो तहका कर्मचारीले जागिर छाडेका हुन् । एक्सिस बैंकले पछिल्लो वर्षमा २८ हजार जनालाई नोकरीमा राखेको थियो । बैंकले यो त्रैमासमा ४ हजार नयाँ कर्मचारीलाई नियुक्त गर्ने योजना बनाएको छ ।



