Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

बैंक मर्जरको कहानी : विकास बैंकहरु रहलान् कि, नरहलान् ! (रिपोर्टसहित)

२०७६ पुष २४ गते

बैंकिङ खबर । मर्जर तथा एक्विजिसन नीतिले वाणिज्य बैंकको संख्या घटाउन नसके तापनि विकास बैंक र फाइनान्स कम्पनीहरुको संख्यामा ठूलो प्रभाव पारेको छ । विकास बैंकको संख्या ८६ बाट २५ मा झरेको छ भने अझै झर्ने क्रममा छ । ८७ वटा रहेका फाइनान्स कम्पनीहरु २२ वटा मात्रै बाँकी छन् । वाणिज्य बैंकको संख्या ३२ बाट झरेर २७ कायम भएको छ । मर्जर तथा एक्विजिनको नीतिलाई थप बल दिन राष्ट्र बैंकले पुँजीवृद्धिको नीति अघि सारेपछि मर्जरको क्रमले झन् तीव्रता पाएको देखिन्छ ।

वाणिज्य बैंक विलय
पुँजीवृद्धिको नीतिपछि वाणिज्य बैंकहरुमध्ये, लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू गाभिएर बैंक अफ काठमाण्डू लुम्बिनी बनेका थिए । पछि नाम परिवर्तन गरी बैंक अफ काठमाण्डू नै राखियो र लुम्बिनी बैंकको नाम निशाना मेटिन पुग्यो । ग्राण्ड बैंक र किष्ट बैंक प्रभु विकास बैंकमा गाभिएर प्रभु बैंक बन्यो । हालै जनता बैंक ग्लोबल आईएमई बैंकमा विलय भएको छ । 

विकास बैंक धेरै प्रभावित
वाणिज्य बैंकमा खासै प्रभाव नपरेपनि थुप्रै विकास बैंकहरु विलय हुन पुगेका छन् । राष्ट्रिय स्तरकै कारोबार गरेर नाम कमाइरहेका बैंकहरु नै वाणिज्य बैंकमा गाभिएर वा अर्को राष्ट्रिय स्तरको विकास बैंकमा गाभिएर हराउन पुगेका छन् ।

टुरिजम डेभलपमेन्ट बैंक मेगा बैंकमा विलय यो भने एनआईडीसी डेभलपमेन्ट बैंक राष्ट्रिय वाणिज्य बैंकमा मिसियो । ग्लोबल आईएमई बैंकमा प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल डेभलपमेन्ट बैंक मिसिए । नेपाल इन्भेष्टमेन्ट बैंकमा एस डेभलपमेन्ट बैंकको विलय भयो । जनता बैंकमा राष्ट्रिय स्तरकै त्रिवेणी विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंक गाभिए । कुमारी बैंकमा राष्ट्रिय स्तरको काष्टमण्डप डेभलपमेन्ट बैंक गाभियो । लक्ष्मी बैंकमा राष्ट्रिय स्तरको प्रोफेशनल दियालो विकास बैंक विलय भयो ।

भिबोर सोसाईटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एकआपसमा गाभिएर लुम्बिनी विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेपछि भिबोर र सोसाइटी मिलेर बनेको भिबोर सोसाइटीको नाम निशाना मेटियो । यता, राष्ट्रिय स्तरको फेवा विकास बैंक क्षेत्रीय स्तरको गण्डकी विकास बैंकसँग मर्ज भयो, जसबाट फेवाको नाम विलय भई नयाँ बैंकको नाम गण्डकी विकास बैंक राखियो । राष्ट्रिय स्तरकै दुई विकास बैंकहरु महालक्ष्मी र यती एकआपसमा गाभिएर महालक्ष्मी विकास बैंक बनेपछि यति डेभलपमेन्ट बैंकको नाम निशाना हरायो ।

साना विकास बैंकको कुरा गर्दा, प्रभु बैंकले समिृद्धि र गौरीशंकर विकास बैंकलाई गाभेको छ । ग्लोबल आईएमई बैंकले सोसियल विकास बैंक र गुल्मी विकास बैंकलाई गाभेको छ । कतिपय एकजिल्ले विकास बैंकहरु गाभिएर तीन जिल्ले, तीन सजल्ले गाभिएर १० जिल्ले वा १० जिल्ले गाभिएर राष्ट्रिय स्तरका विकास बैंक पनि बनेका छन् । हालै भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकलाई गाभेर १० जिल्ले शाइन रेसुंगा डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरमा स्तरोन्नति भयो । तीन जिल्ले विकास बैंकको रुपमा स्थापना भएको यस विकास बैंकले रेसुंगा डेभलपमेन्ट बैंकलाई गाभेपछि १० जिल्ले बनेको थियो । त्यसपछि बैंकले एक जिल्ले गौमुखी विकास बैंकलाई गाभेको थियो । mससाना संस्था गाभेर आफुलाई स्थापित गर्दै लगेको शाइन रेसुंगा जस्ता बैंक पनि छन् भने राष्ट्रिय स्तरमा गएका कतिपय विकास बैंकहरु आफैँ पनि विलय भइसकेको अवस्था छ ।

फाइनान्सको अवस्था पनि उस्तै
प्रायः वाणिज्य बैंक र ठूला विकास बैंकले एक वा सोभन्दा बढी फाइनान्स कम्पनी गाभेका छन् । सुरुमै आईएमई फाइनान्स र लर्ड बुद्ध फाइनान्स गाभेको ग्लोबल आईएमई बैंकले हालै हाथवे फाइनान्सलाई गाभेको थियो । प्रभु फाइनान्सबाट प्रभु विकास बैंक हुँदै वाणिज्य बैंक बनेको प्रभु बैंकले जेनिथ र वैभव फाइनान्स गाभेको छ । सिभिल बैंकमा इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी गाभिएको छ । महालक्ष्मी फाइनान्स, सिद्धार्थ फाइनान्स र मालिका विकास बैंक मिलेर महालक्ष्मी विकास बैंक बनेको हो । सिद्धार्थ डेभलपमेन्ट बैंकमा नेपाल आवास फाइनान्स गाभिएको थियो । अहिले सिद्धार्थको नै नाम निशाना मेटिइसकेको छ । कामना विकास बैंकमा कास्की फाइनान्स गाभिएको थियो । अहिले कामना र सेवा विकास मिलेर कामना सेवा विकास बैंकको नामबाट कारोबार भइरहेको छ । यसरी थुप्रै फाइनान्स कम्पनीहरु सुरुदेखि नै ठूला बैंकहरुमा विलय हुँदै आएका छन् । फाइनान्स कम्पनीहरु प्रायः विकास बैंक र वाणिज्य बैंकमा गाभिँदै विलय भएका छन् ।

विलयको क्रम अझै जारी
राष्ट्र बैंकले ल्याएको बीग मर्जरको नीतिका कारण अब विकास बैंक मात्र नभएर वाणिज्य बैंकको संख्यामा पनि कटौति भई १४।१५ मा झर्ने छ । कमजोर बैंकहरुलाई सबल बैंकमा मर्जर गराउनका लागि राष्ट्र बैंकले कमजोर बैंकहरुकाृ लिष्ट तयार गरिसकेको अवस्था छ । यसबाट आधाभन्दा बढी वाणिज्य बैंकहरुको नाम निशाना मेटिने देखिन्छ ।

अहिले राष्ट्रिय स्तरका ११ वटा बैंक मात्रै संचालनमा छन् । मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, कैलाश विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, देवः विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंक हाल संचालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंक हुन् । यसमध्ये, कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा गाभिँदैछ भने गण्डकी विकास बैंक मेगा बैंकमा गाभिन लागेको छ ।