प्रभु टेक्नोलोजी प्रा.लि. र हुवावे टेक्नोलोजी नेपाल कम्पनी प्रा.लि. को संयुक्त पहलमा बहुउपयोगी एवं बहुप्रतिक्षित mRupaiya (मोबाईल वित्तीय प्रणाली) छिट्टै सञ्चालनमा आउने भएको छ । करिब ६० प्रतिशत नेपालीहरु बैंकिङ्ग पहुँच बाहिरै रहेको यथार्थलाई मध्येनजर गर्दे उनीहरुलाई पनि सहज र सरल रुपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ mRupaiya सञ्चालनमा ल्याउन लागिएको हो । यसबाट बैंकिङ्ग कारोबारको पहुँच बाहिर रहेका विशेष गरी ग्रामिण क्षेत्रमा रहेका उपभोक्ताहरुले नगद जम्मा गर्न, झिक्न, स्थानान्तरण, रेमिट्यान्स सेवा लगायतका व्यापारिक कारोबारको लागि तत्काल भुक्तानी गर्न सक्नेछन् । यो सेवाका लागि नेपालभर ६,००० भन्दा बढि एजेण्टहरुको सञ्जाल रहने बताइएको छ । उपभोक्ताहरुले आफुलाई पायक पर्ने नजिकको एजेण्ट मार्फत् यो सेवा लिन सक्नेछन् ।
हुवावे टेक्नोलोजी विश्वको उत्कृष्ट मोबाईल वित्तीय सेवा प्रदायक कम्पनीहरुमध्यको एक हो । यसले विश्वका २६ वटा देशमा उपभोक्ताहरुलाई सफलतापुर्वक मोबाईल वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । नेपालमा प्रभु टेक्नोलोजीसँगको सहकार्यमा यो सेवा सञ्चालनमा आउन लागेको हो । करिब २ करोड भन्दा बढिको संख्यामा रहेका मोबाईल फोन उपभोक्ताहरुलाई मोबाईलबाटै बैंकिङ्ग कारोबार सेवा उपलब्ध हुने यो सेवा अत्याधुनिक प्रविधियुक्त सफ्टवेयरबाट सञ्चालनमा ल्याईनेछ । यो सेवा उपभोग गर्ने ग्राहकहरुले आफ्नो मोबाईलबाटै सहज रुपमा तोकिए बमोजिमका वित्तीय सेवा उपभोग गर्न सक्नेछन् ।
mRupaiya सञ्चालनमा आए पश्चात् नेपालका बैंकिङ्ग पहुँच बाहिर रहेका उपभोक्ताहरुलाई विश्वसनीय तथा भरपर्दो सेवाको लागि एक नयाँ आयाम हुने छ भने नेपालको प्रविधिमा आधारित वित्तीय सेवाको विकासमा कोशे ढुङ्गा सावित हुने विश्वास लिईएको छ । बैंकिङ्ग सेवाको पहुँच बाहिर रहेका उपभोक्ताहरुलाई सरल र सहज रुपमा वित्तीय सेवा उपलब्ध गराई उनीहरुको जीवनस्तर माथि उकास्न यो सेवाले सहयोग पुर्याउनुका साथै देशको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास लिईएको छ ।
