January 3rd, 2020

१४ परियोजनाका लगानीकर्ताको सूचि तयार

बैंकिङ खबर । लगानी बोर्डले १४ परियोजनाको पूर्व योग्यता मूल्यांकन सकेर लगानीकर्ताको संक्षिप्त सूचि तयार गरेको छ । गत वर्षको चैत्रमा आयोजना गरिएको लगानी सम्मेलनमा प्रतिवद्धता गरिएका विभिन्न १४ परियोजनाको पूर्व योग्यता मूल्यांकन सकिएको हो ।

बोर्डले शुक्रबार पत्रकार सम्मेलन गरेर १४ परियोजनाको करिब ११ खर्ब ८८ अर्ब नेपाली रूपैयाँ बराबरको लगानीको सूची तयार पारेको जानकारी दिएको छ । बोर्डका अनुसार, ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी समेत छनोट भएको छ । त्यस्तै, १० अर्ब ५४ करोड रूपैयाँको भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्ब्लिङ्ग प्लान्ट परियोजनाका लागि लगानी प्रतिवद्धता गरेको कोरियाको मोट्रेक्स कम्पनीसँग परियोजना लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ ।

करिब ६४ अर्ब ६१ करोड रूपैयाँ लागत रहेको चाइना नेपाल फ्रेन्डसिप पार्क निर्माणका लागि पनि समझदारी भएको बोर्डले जनाएको छ । पार्क प्रदेश १ को दमकमा बन्नेछ । त्यस्तै विराटनगर, वीरगंज र भैरहवामा मल्टीमोडल लजिस्टिक पार्क निर्माण हुँदैछ । करिब १३ अर्ब रूपैयाँ कुल लागतका यी पार्कहरुको निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न दुई छुट्टाछुट्टै कम्पनीसँग समझदारी भएको छ ।

हाल बोर्डले पाँच खर्ब ६५ अर्ब रुपैयाँको कुल परियोजना लागत भएका ९ वटा आयोजनाको सहजीकरण गरेको छ भने १०४ अर्ब लागतको अरुण तेस्रोको काम एक तिहाई सकिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]