
कृष्ण निरौला –
१. नेपाल राष्ट्र बैंकको नेपाल सरकार संग कस्तो सम्बन्ध छ ? नेपाल राष्ट्र बैंक ऐन, २०५८ का आधारमा व्याख्या गर्नुहोस् ? What is the relationship of Nepal Rastra Bank with the Government of Nepal? Explain in
lights of NRB Act, 2058. (10 marks)
नेपाल राष्ट्र बैंक ऐन,२०५८ को परिच्छेद ८ ले नेपाल राष्ट्र बैंक र सरकारको सम्बन्धको बारेमा व्याख्या गरेको छ जसलाई
निम्न बमोजिम हेर्न सकिन्छ :
– राष्ट्र बैंक सरकारको बैंकर, सल्लाहकार र वित्तिय एजेन्ट हुनेछ र सरकारलाइ बैंकले क्षेत्राधिकारसंग सम्बन्धित परामर्श दिनुपर्नेछ ।
– प्रत्येक वर्ष नेपाल सरकारले वार्षिक बजेट तयार गर्दा आन्तरिक ऋण लगायत अधिविकर्षको सम्बन्धमा बैंकसंग परामर्श लिनेछ र बैंकले प्रत्येक वर्ष आर्थिक तथा वित्तीय विषयमा नेपाल सरकार समक्ष पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन पेश गर्नेछ ।
– नेपाल सरकारले बाह्य क्षेत्रबाट ऋण लिंदा बैंकसंग ऋण रकमको राशि, प्राप्ति, शर्त, भुक्तानी आदिको परामर्श गर्नेछ ।
– त्यस्तै विदेशी विनिमयमा दायित्व सिर्जना हुने गरी निजी वा सार्वजनिक संस्थालाइ सरकारले स्वीकृति दिंदा बैंकसंग
परामर्श लिनेछ ।
– बैंकले नेपाल सरकारको वा नेपाल सरकारले तोकिदिएको अन्य निकायको निक्षेप स्वीकार गर्नेछ ।
– बैंकले नेपाल सरकारद्वारा जारी गरिएको ऋणपत्रको खरिद बिक्री गर्ने, बजार व्यवस्था गर्ने, हस्तान्तरण गर्ने र सोको
अभिलेख राख्ने, साँवा, ब्याज र अन्य दस्तुरको भुक्तानी जस्ता एजेन्टको कार्य गर्नेछ ।
– सरकारको सम्बन्धित निकायले मौद्रिक नीति, कर्जा, शोधनान्तर, विदेशी विनिमय, बैंकिङ्ग जस्ता विषयसंग सरोकार राख्ने कानूनको संसोधन गर्न पर्दा राष्ट्र बैंक संग परामर्श लिन सक्नेछ ।
– ऐनमा अन्यथा व्यवस्था गरिएको बाहेक बैंकले सरकार वा सरकारी स्वामित्व भएका संस्थालाई कुनै प्रकारको वित्तिय
सहयोग प्रदान गर्ने छैन ।
– बैंकले १८० दिनभित्र चुक्ता हुने गरी सरकारलाई कर्जा प्रदान गर्न सक्ने र नेपालले कुनै अन्तरास्ट्रिय संस्थाको सदस्य हुँदा तिर्नुपर्ने दस्तुर सम्बन्धि लामो अवधिको कर्जा सरकारलाइ दिन सक्नेछ ।
– बैंकले सरकारलाई प्रदान गर्ने कर्जाका सबै रकम नेपाली रुपैंयामा हुनेछन् र कर्जासम्बन्धी सबै सम्झौता, रकम, सीमा,
व्याजदर, शर्त आदि स्पस्ट हुनुपर्छ ।
निश्कर्षमाः नेपाल राष्ट्र बैंकले सरकारको वित्तिय एजेन्टको रुपमा कार्य गर्दै आर्थिक सबलीकरण, अर्थतन्त्रको विकास,
आर्थिक स्थायीत्व र आर्थिक समृद्धि जस्ता सरकारका प्रमुख उद्देश्य पुरा गर्ने सहयात्रीको रुपमा कार्य गर्दछ भन्न सकिन्छ ।
२. नेपाल राष्ट्र बैंकले गर्ने विदेशी विनिमय संचितिमा के के पर्दछन् ? विदेशी विनिमय व्यवस्थापन गर्न राष्ट्र बैंकलाइ के–कस्तो अधिकार छ ? What are the items included in the foreign exchange reserves maintained by Nepal Rastra Bank? Also mention the rights of NRB for foreign exchange management. (6+4=10)
उत्तरः नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ७ को दफा ६६ मा राष्ट्र बैंकले गर्ने विदेशी विनिमय संचितिको बारेमा र
सोहि परिच्छेदको दफा ६३ मा विदेशी विनिमय व्यवस्थापन गर्ने अधिकार राष्ट्र बैंकलाई दिइएको छ । बैंकले गर्ने विदेशी
विनिमय संचितिमा निम्न सम्पत्ति समावेश हुन्छन् :
(क) बैंकले जिम्मा लिएको वा बैंकको खातामा रहेको सुन तथा बहुमूल्य धातु ।
(ख) बैंकले जिम्मा लिएको वा बैंकको खातामा जम्मा रहेको विदेशी मुद्रा ।
(ग) बैंकको नाममा विदेशी केन्द्रीय बैंक वा अन्य विदेशी बैंक खातामा रहेको विदेशी मुद्रा ।
(घ) बैंकको नाममा अन्तर्रा्ष्ट्रिय मुद्रा कोषमा जम्मा रहेको स्पेशल ड्रइङ राइट्स (एस.डि.आर) ।
(ङ) बैंकको जिम्मामा रहेको विदेशी विनिमयमा भुक्तानी हुने गरी कुनै ऋणी वा दायित्वकर्ताले जारी गरेको विनिमयपत्र,प्रतिज्ञापत्र, बचत ऋणपत्र, बण्ड तथा अन्य ऋण सुरक्षण ।
(च) तत्काल वा पुनर्ख्रिद गर्ने गरी विदेशी बैंक वा अन्तराष्ट्रिय वित्तीय संस्थासंग वा ती संस्था जमानी बसेको र
भविष्यमा खरिद गर्ने गरी बैंक तथा अर्को पक्ष बीच विदेशी विनिमयमा भुक्तानी हुने गरी भएको सम्झौता ।
विदेशी विनिमयको व्यवस्थापन गर्न बैंकलाई देहाय बमोजिमको अधिकार हुनेछ :
(क) विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्तिलाई यस ऐन वा अन्य प्रचलित कानूनको अधीनमा रही इजाजतपत्र
जारी गर्ने ।
(ख) इजाजतपत्र प्राप्त व्यक्तिबाट गरिने विदेशी विनिमय कारोबार नियमित तथा व्यवस्थित गर्नका लागि नियम तथा
विनियम बनाउने, आवश्यक आदेश, निर्देशन वा सूचना जारी गर्ने ।
(ग) इजाजतपत्र प्राप्त व्यक्तिको निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने ।
(घ) इजाजतपत्र प्राप्त व्यक्तिको कारोबारको आधार, सीमा तथा शर्त निर्धारण गर्ने ।
(ङ) नेपाली रुपैयाँको विदेशी विनिमय दर निर्धारण पद्धति तोक्ने ।
निश्कर्षमाः देशको विदेशी विनिमय दर निर्धारण गर्नका लागि उपयुक्त नीति बनाउनुपर्ने हुन्छ र नेपाल राष्ट्र बैंक ऐनले
बैंकलाई सो अधिकार दिएको छ । राष्ट्र बैंकको कुशल विदेशी विनिमय सम्बन्धी नीति निर्माण र सो को प्रभावकारी कार्यान्वयनले देशको विदेशी राष्ट्रहरुसंग कत्तिको बार्गेनिङ पावर छ भन्ने कुरा प्रष्ट रुपमा इङ्गित गर्दछ ।
३. नेपाल राष्ट्र बैंक २०५८ अनुसार संचालक समितिको गठन र सो समितिको काम, कर्तव्य र अधिकार उल्लेख गर्नुहोस् । Explain the formation of Board of Directors and its functions, duties and powers as per
NRB Act, 2058.
उत्तरः नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ३ मा संचालक समितिको गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धि
व्यवस्था गरिएको छ ।
संचालक समितिको गठन निम्न अनुसारको हुन्छस्
(क) गभर्नर – अध्यक्ष
(ख) सचिव, अर्थ मन्त्रालय – सदस्य
(ग) दुई जना डेपुटी गभर्नर – सदस्य
(घ) आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु मध्येबाट नेपाल सरकारले
नियुक्त गरेका तीन जना सञ्चालक – सदस्य
संचालक समितिका काम, कर्तव्य र अधिकारहरुः
(क) मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गर्ने ।
(ख) बैंक नोट तथा सिक्काको सम्बन्धमा आवश्यक निर्णय गर्ने र सो को निष्कासनका सम्बन्धमा आवश्यक नीतिको तर्जुमा
गर्ने ।
(ग) वाणिज्य बैंक तथा वित्तीय संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गराउने व्यवस्था र बैंकिङ तथा वित्तीय व्यवस्थाका
सम्बन्धमा आवश्यक नीति निर्माण गर्ने ।
(घ) बैंकको नियम तथा विनियम स्वीकृत गर्ने र बैंकको सञ्चालन र व्यवस्थापनमा लागू हुने नीति निर्माण गर्ने ।
(ङ) बैंकका कर्मचारीहरुको नियुक्ति, बढुवा, सरुवा, बर्खास्ती, पारिश्रमिक, निवृत्तभरण, उपदान, सञ्चयकोष, विदा,
आचरण तथा सेवा सम्बन्धी अन्य शर्तहरु बारे नीति निर्धारण गर्ने ।
(च) बैंकको लागि वार्षिक कार्यक्रम र बजेट तथा वार्षिक लेखापरीक्षणको हिसाब स्वीकृत गर्ने र सोको प्रतिवदेन जानकारीको लागी नेपाल सरकारमा पेश गर्ने ।
(छ) बैंकको काम कारबाही बारेको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने ।
(ज) वाणिज्य बैंक तथा वित्तीय संस्थालाई इजाजतपत्र दिने र रद्द गर्ने सम्बन्धमा नीति निर्माण गर्ने ।
(झ) बैंकले नेपाल सरकारलाई प्रदान गर्ने कर्जाको सीमा स्वीकृत गर्ने ।
(ञ) बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थालाई दिने कर्जा तथा पुनरकर्जाको रकम, सीमा तथा शर्तको निर्धारण गर्ने ।
(ट) अन्तर्रा्ष्ट्रिय संघ, संस्थामा बैंकको सदस्यता सम्बन्धमा निर्णय गर्ने ।
(ठ) बैंकको वित्तीय स्रोत परिचालन र लगानी नीति निर्माण गर्ने ।
(ड) यस ऐनमा संशोधन गर्नु पर्ने आवश्यकता देखिएमा सो को कारण खुलाई नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्ने ।
(ढ) यस ऐन अन्तर्गत गभर्नरको अधिकार क्षेत्र भित्र पर्ने बाहेकका अरु सबै विषयमा निर्णय गर्ने ।
(ण) समितिमा रहेको अधिकारहरु गभर्नर वा समितिद्वारा गठित उपसमितिलाई प्रत्यायोजन गर्ने ।
निश्कर्षमाः नेपाल राष्ट्र बैंकका प्रमुख उद्देश्य (अर्थतन्त्रको दिगो विकासका लागि मूल्य र शोधनान्तर स्थिरता तथा समग्र वित्तिय क्षेत्रको स्थायित्व कायम गर्ने) पुरा गर्नका लागि आवश्यक नीति निर्माण गर्नु र सो को प्रभावकारिता परख्नु नै संचालक समितिको काम, कर्तव्य र अधिकारको परिधि हो भन्न सकिन्छ ।
निरौला कृषि विकास बैंक, मुख्य कार्यालय रामशाहपथमा चार्टर्ड एकाउन्टेन्टको रुपमा कार्यरत छन् ।



