December 9th, 2019

राष्ट्र बैंकले तोकेको कृषि अनुदान कर्जा : यस्ता छन् विशेषताहरु

बैंकिङ खबर । सहुलियत व्याजमा पाइने कर्जा बैंक तथा वित्तीय संस्थाले विभिन्न आठ क्षेत्रमा दिन्छन् । हरेक क्षेत्रका लागि छुट्टाछुट्टै कर्जा सीमा राष्ट्र बैंकले तोकिदिएको छ । व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा पनि यसैअन्तर्गत पर्दछ ।

कति पाइन्छ ?
यस शीर्षकमा बैंकहरुले पाँच करोड रुपैयाँसम्म कर्जा प्रदान गर्दछन् । बढीमा पाँच वर्षसम्मका लागि यस्तो कर्जा पाइन्छ । किस्ता भुक्तानीको अवधि कर्जाको प्रकार, रकम, उद्देश्य र जोखिमको स्तर हेरेर बैंकहरुले निर्धारण गर्न सक्ने व्यवस्था छ । बैंकहरुले आफ्नो आधार व्याजदरमा बढीमा दुई प्रतिशत थप गरी कर्जा दिन्छन् । व्याजभन्दा बाहेक थप शूल्क लिन नपाउने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्दा दश लाख रुपैयाँसम्म सामूहिक जमानीका आधारमा र त्यस भन्दा बढी व्यवसायिक परियोजना धितोमा कर्जा प्रवाह गर्न सक्ने व्यवस्था छ । यस्तो कर्जा प्रवाह गर्दा परियोजनाको सम्भाव्यतालाई मुख्य आधारको रूपमा लिनु पर्ने छ ।

व्याज अनुदान कति ?
बैंक तथा बित्तीय संस्थाले दिने कर्जामा निर्धारण गरेको ब्याजदर मध्ये पाँच प्रतिशत ब्याजदर अनुदान सुविधा उपलब्ध छ । पाँच करोड रुपैयाँ भन्दा बढीको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जामा भने दुई प्रतिशत मात्र ब्याजदर अनुदान उपलब्ध गराइन्छ ।

बीमामा पनि सहुलियत
सहुलियत कर्जा लिएर गरिएको व्यवसायको अनिवार्य बीमा गर्नुपर्ने प्रावधान छ । बीमा प्रिमियमको २५ प्रतिशत व्यवसायीले र ७५ प्रतिशत नेपाल राष्ट्र बैंकको सोधभर्ना खाताबाट भुक्तानी गरिन्छ । बैंकहरुले कर्जाको पनि अनिवार्य बीमा गर्छन्, जसको २५ प्रतिशत शूल्क बैंक आफैँले तिर्ने र बाँकी नेपाल राष्ट्र बैंकको सोधभर्ना खाताबाट भुक्तानी गरिने प्रावधान छ ।

कसरी लिने ?
स्थायी लेखा नम्बर भएको र कर्जा सूचना केन्द्रको कालो सूचीमा नपरेको व्यक्तिले सहुलियत कर्जा पाउनेछन् । कुनै व्यक्तिले व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा लिनुपरे १८ वर्ष पुरा भएको हुनुपर्छ । दश लाख रुपैयाँ भन्दा कमको सामूहिक जमानीमा कर्जा लिनुपरेमा कर्जा जमानी सम्बन्धी कागजात पेश गर्नुपर्छ । दश लाख रुपैयाँ भन्दा बढीको कर्जाको लागि भने अनिवार्य रुपमा संस्था र एक करोड रुपैयाँ भन्दा बढीको कर्जाको लागि अनिवार्य रुपमा कम्पनी हुनुपर्ने व्यवस्था छ । संस्था वा कम्पनीको हकमा नेपाली नागरिकको शतप्रतिशत शेयर स्वामित्व रहेको हुनुपर्छ । कर्जा लिन जाँदा उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव बुझाउनुपर्छ । दश लाख रुपैयाँ भन्दा बढीको कर्जाको लागि भने ऋणीको विस्तृत परियोजना प्रस्ताव नै बुझाउनुपर्छ ।

कागजात केके चाहिन्छ ?
यस्तो कर्जा लिन सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाको विधिवत् रुपमा भरिएको कर्जा आवेदन फाराम, प्रचलित कानून बमोजिम दर्ता भएको व्यवसाय तथा स्थायी लेखा नं प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव चाहिन्छ । दश लाख रुपैयाँ भन्दा बढीको कर्जाको हकमा विस्तृत परियोजना प्रस्ताव पनि चाहिन्छ । त्यस्तै, कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्वःघोषणा पनि आवश्यक पर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]