बैंकिङ खबर । विकास बैंकहरु अझै मर्जरमा जाने भएका छन् । अहिले जम्मा १० वटा राष्ट्रिय स्तरका विकास बैंक संचालनमा रहेकोमा गण्डकी विकास बैंक मेगा बैंकमा र कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा मर्ज हुने प्रक्रियामा रहेका छन् । अब गरिमा विकास बैंक पनि मर्जरमा जाने सुर गर्न थालेको छ । मंसिर २७ गते हुन लागेको १३औँ वार्षिक साधारणसभामार्फत गरिमाले राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त संघ–संस्थासँग मर्जर हुने अथवा प्राप्ती सम्बन्धी सम्पुर्ण प्रकृयाको लागि सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव परित गर्ने भएको छ ।
क्षेत्रीय स्तरका विकास बैंकहरु पनि मर्जरकै क्रममा रहेका छन् । मर्जर नीति आउनुअघि ८६ वटा रहेका विकास बैंकहरु असोज मसान्तसम्ममा २५ वटा मात्रै बाँकी छन् । जसमा साना विकास बैंकहरु १५ वटा छन् । तीमध्ये, तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको एकीकृत कारोबार यही मंसिर २२ गतेदेखि हुँदैछ । त्यस्तै, सहयोगी विकास बैंक सिटिजन्स बैंकमा गाभिँदैछ । यसबाहेक, अन्य विकास बैंकहरु पनि विस्तारै अन्य संस्थामा गाभिँदै जाने अवस्था देखिन्छ ।


