बैंकिङ खबर । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि हुन लागेको बैंकिङ एक्स्पोको तयारी पुरा भएको छ । एक्स्पोका संयोजक माधव निर्दोषले एक्स्पोको सबै तयारी पुरा भएको र कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सबैको साथ मिल्नेमा आफू विश्वस्त रहेको बताए । आइतबार र सोमबार दुई दिन संचालन हुने एक्स्पोको उद्घाटन गभर्नर डा. चिरंजीबि नेपालले गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा विभिन्न कम्पनीहरुको स्टल, विषयगत विज्ञहरुसँगको अन्तरक्रिया, उद्यमीहरुको अनुभव एवम् सांस्कृतिक मनोरञ्जनको समेत व्यवस्था गरिएको संयोजक निर्दोषले जानकारी दिए ।
आम नेपालीमाझ वित्तीय चेतना अभिबृद्धि गर्ने एवं उद्यमशीलताको विकास गर्ने उद्देश्य स्वरुप विगत चार बर्षदेखि संचालन भइरहेको ‘वित्तीय जागरण ः राष्ट्रिय अभियान’ कार्यक्रम अन्तगर्त काठमाडौँमा हुन लागेको यो तेस्रो बैंकिङ एक्स्पो हो । एउटै छानामुनि बैंकिङ, बीमा, सेयरबजार, रेमिट्यान्स तथा फाइनान्सीयल टेक्नोलोजीको सूचना प्रदर्शन एवं उद्यमशीलता र बैंकिङ लगानीका सवालमा सूचना प्रवाह हुने भएकाले बैंकिङ एक्स्पो बैंक तथा वित्तीय कारोबारसँग सम्बन्धित सबै कम्पनीहरुका साथमा वित्तीय करिअर बनाउन चाहने विद्यार्थी, उद्यमशीलतामा लाग्न चाहने युवा र सर्वसाधारणका लागि समेत अत्यन्त उपयोगी रहेको कार्यक्रम संयोजक निर्दोषले बताए ।
बैंकिङ एक्स्पो कार्यक्रम विशेषगरी बैंक वित्त कम्पनी तथा बीमा, रेमिट्यान्स कम्पनी, डिजिटल फाइनान्स सम्बन्धि कम्पनीहरु, क्यापीटल कम्पनीहरुका बारे प्रत्यक्ष सूचना बुझाउने थलो हो । जसलाई आम नागरिक र वित्तीय कम्पनीहरुबीच एकैठाउँमा भेला हुने अवसरका रुपमा लिइन्छ । एउटै छानामुनि बैंकिङ, बीमा, सेयर बजार, रेमिट्यान्स, र फाइनान्सीयल टेक्नोलोजीको सूचना प्रवाह हुने हुँदा यस कार्यक्रम वित्तीय तथा आर्थिक चेतना अभिबृद्धिमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा एउटै छानामुनि विभिन्न बैंक–वित्त, माइक्रो फाइनान्स, बीमा, सेयरबजारसँग सम्बन्धित विभिन्न संघसंस्था एवं क्यापीटल र अन्य कन्पनीहरु, रेमिट्यान्स कम्पनीहरु, फाइनान्सीयल टेक्नोलोजीहरु र सम्बन्धित अरु निकायका सूचनामूलक स्टलहरु संचालन गरिने छन् । सम्बन्धित संस्थाको स्टलमा गएर आफ्नो मनमा भएका जिज्ञासाहरु पुरा गर्न सकिन्छ । स्टलहरु विहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछन् ।
कार्यक्रममा बैंकिङ लगानी, उद्यमशीलता, लघुउद्यमशीलता, फाइनान्सीयल टेक्नोलोजी, सेयर बजार, जीवन बीमा, नीर्जिवन बीमा, रेमिट्यान्स, लगायतका विषयमा विभिन्न चरणमा विभिन्न विज्ञ र सरोकारवालाको सहभागितामा लगातार प्रस्तुती तथा अन्तरक्रियात्मक कार्यक्रम पनि संचालन गरिने छ । यस कार्यक्रमबाट उद्यमशील बन्ने आइडिया प्राप्त गर्न सक्नुहुनेछ । त्यसतै, प्रविधिको प्रयोग गर्दा हुने फाइदा, रेमिट्यान्सका फाइदा लगायतका विषयमा पनि महत्वपूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ । सम्बन्धित विषयमा विज्ञहरुसँग अन्तरक्रिया समेत गर्न पाइने भएकाले आफूले जान्ने खोजेका कुरामा प्रष्ट हुन पाइन्छ ।
त्यस्तै, गरीब परिवारमा जन्मीएर पनि उद्यमशीलताको माध्यमबाट अर्थतन्त्र हाँकेका सफल उद्यमीहरुले आफ्ना अनुभवहरु सहित प्रस्तुती पनि दिने कार्यक्रम रहेको छ । यस्ता अनुभवहरुले गरीबी हटाउन विदेश जानुपर्ने बाध्यता भएकाहरुलाई स्वदेशमा केही गर्न प्रेरणा दिनेछ । यसका लागि आवश्यक कर्जा प्रक्रियाहरुका बारेमा पनि एक्स्पोमा जानकारी पाइन्छ ।
कार्यक्रममा सूचनामूलक स्टल संचालनसँगै विभिन्न कम्पनीहरुले नयाँ स्कीमहरु घोषणा गर्नेछन् । विभिन्न मनोरंनात्मक सांगीतिक तथा साँस्कृतिक कार्यक्रमहरु संचालन गरिने छन् । यति धेरै जानकारी विना कुनै शूल्क पाइन्छ ।
बैंकिङ एक्स्पो वित्तीय चेतना बढाउने अवसर हो । अहिलेको अवस्थामा बैंकमा काम गर्नेहरुका लागि मात्र नभएर सर्वसाधारण वा अन्य पेशा अपनाएकाहरुलाई पनि वित्तीय ज्ञानको खाँचो छ । पैसा कमाएर मात्र हुँदैन बचत र लगानी गर्न पनि जान्नुपर्छ । अहिले त हरेक काम प्रविधिको सहायताले घरमै बसीबसी सम्भव हुन थालेको छ । तर, यसका लागि बैंकमा खाता हुनुपर्छ र प्रविधिको प्रयोग गर्न जान्ने हुनुपर्छ । हातमा पैसा नहुनेहरु पनि कर्जा लिएर उद्यमी बनेका छन् । बैंकले कस्तो कस्तो कर्जा कसरी दिन्छ भन्ने बारे जानकारी हुनुपर्छ । बैंकमा मुद्दति निक्षेप राख्दा, ऋणपत्र खरिद गर्दा वा म्यचुअल फण्डमा लगानी गर्दा हुने फाइदाका बारेमा हरेकलाई जानकारी हुनुपर्छ । घरमै बसेर मेबाइलबाट सेयर भर्न सकिन्छ, खाता खोल्न सकिन्छ, सपिङ गर्न सकिन्छ, बैंकका सेवाहरुका बारेमा बुझ्न पनि सकिन्छ । तर, सबैभन्दा पहिले त यी प्रविधिहरुका बारेमा बुझेको हुनुपर्छ । यी सबै कुराहरुका बारेमा जानकारी लिने थलो बैंकिङ एक्स्पो हो ।
त्यस्तै, सम्पत्ति जति कमायो उति बढी जोखिम हुन्छ । कहिले भुकम्प, बाढी जस्ता प्राकृतिक प्रकोपको डर र कहिले आगलागीको चिन्ता । त्यस्तै, कहिले चोरी डकैती हुने पीर । गाडी किन्यो भने दुर्घटना होला भन्ने पीर । छोराछोरी भए शिक्षा कसरी दिने भन्ने चिन्ता । घरमा गाईभैँसी किन्यो, मर्लान् वा रोग लाग्ला भन्ने चिन्ता । यी सबै चिन्ताहरुको निदान छ । समयमा नै यी वस्तुहरुको बीमा गराउने हो भने न गाईभैँसी मर्दा घाटा होला भन्ने पीर न छोरालाई पढाउने खर्च कहाँबाट ल्याउने भन्ने पीर । तर, बीमा कसरी गर्ने ? कहाँ गएर गर्ने ? केकेको बीमा हुन्छ ? कस्तो कस्तो अवस्थामा क्षतिपूर्ति पाइन्छ । बीमा गर्ने कम्पनीहरु कुनुकन छन् ? कुन कम्पनीको सेव कस्तो छ ? यी सबै कुराको जानकारी हुनुपर्छ, जुन बैंकिङ एक्स्पोमा पाइन्छ ।
बैंकिङ एक्स्पोको अवसरमा बैंक तथा वित्तीय संस्थाहरुका साथमा रेमिट्यान्स कम्पनीहरु, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, बीमा कम्पनीहरु, सेयर बजारसँग सम्बन्धित ब्रोकर, धितोपत्र बोर्ड, नेप्से, सीडीएससी, मर्चेन्ट बैंक जस्ता कम्पनीहरु लगायत एउटै छानामुनि भेला हुन्छ । एकै ठाउँबाट हरेक कुराको बारेमा जानकारी पाइने भएकाले बैंकिङ एक्स्पो अवसरैअवसरको थलो भएकाले एकपटक सबैले अवलोकन गर्नुपर्ने कार्यक्रम संयोजक निर्दोषको भनाई छ ।
नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बैंकर्स संघ, विकास बैंकर्स संघ, वित्त कम्पनी संघ, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स संघ, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, बीमा समिति लगायतको सहकार्यमा बैंकिङ एक्स्पो संचालन गर्न लागिएको हो ।




