June 27th, 2016

मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता साधारण शेयर नेप्सेमा

meroमेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको २० लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । सोमबार मेरो माइक्रोफाइनान्स र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बिच प्रति शेयर अंकित तथा चुक्ता मूल्य १ सय रुपैयाँ कायम भएको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । शेयर सूचीकरण सम्झौता पत्रमा यस संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल र नेपाल स्टक एक्सचेन्ज लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले हस्ताक्षर गरे ।

कम्पनीले सर्वसाधारणका लागि श्री ग्लोबल आइएमई क्यापिटल लि. काठमाडौँ मार्फत ६ लाख १२ हजार कित्ता साधारण शेयर गत फाल्गुन २७ गते देखि निष्काशन गरेको थियो । यसरी सर्वसाधारणहरूमा ५ लाख ५६ हजार ९ सय २० कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरूमा २४ हजार ४ सय ८० कित्ता तथा सामूहिक लगानी कोषमा वितरण गरिएको ३० हजार ६ सय कित्ता तथा कम्पनीका संस्थापकहरूले लगानी गरेको १३ लाख ८८ हजार कित्ता समेत गरी २० लाख कित्ता शेयर वितरण भई नेपाल स्टक एक्सचेन्ज लि.मा सूचीकरण भएको हो । 

धितोपत्र सम्बन्धी ऐन, २०६३ वमोजिम सम्बन्धित कम्पनी र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बिच शेयर सूचीकरण हुनुपर्ने र सोको सार्वजनिक सूचना दैनिक प्रकाशित मितिले ७ दिन पश्चात् विधिवत नेपाल स्टक एक्सचेन्ज लि. बाट शेयर ईजाजत प्राप्त सदस्य दलालहरू मार्फत नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार हुने प्रक्रिया रहेको छ । यस कम्पनीको शेयर सूचीकरणबाट नेपाल स्टक एक्सचेन्ज लि. मा विकास बैंक समूह अन्र्तगत सूचीकृत कम्पनीहरूको संख्या ९७ र कुल सूचीकृत कम्पनीहरूको संख्या २ सय ३१ पुगेको छ ।