बैंकिङ खबर । बैंकहरुले व्याज अनुदानमा युवा तथा स्वरोजगार कर्जा दिन्छन् । यस्तो कर्जा सात लाख रुपैयाँसम्म पाइन्छ । उच्च शिक्षा हासिल गरेका युवाहरुलाई दिइने यस्तो कर्जा लिनको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थामा निवेदकको सक्कल शैक्षिक प्रमाणपत्र धितो राख्नुपर्छ ।
कसले पाउँछ ?
कर्जा लिन स्थायी लेखा नम्बर भएको र कर्जा सूचना केन्द्रको कालोसुचीमा नपरेको हुनुपर्छ । कम्तीमा स्नातक उतीर्ण भएको र ४० वर्ष उमेर ननाघेका युवाले यस्तो कर्जा पाउँछन् । विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेको भए नेपालको कुनै विश्वविद्यालयबाट समकक्षता सम्बन्धमा प्रकाशित सार्वजनिक सूचीमा निज अध्ययन गरेको विश्वविद्यालय समावेश भएको हुनुपर्छ । त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालय वा समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद लगायतका सरकारी निकायहरुबाट कम्तिमा ७ दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास तालिम अनिवार्य रूपमा लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा सीप विकास तालिम लिएको प्रमाण पेश गरेको हुनुपर्छ । साथमा उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव पेश गर्नुपर्दछ ।
आवश्यक कागजात
यस्तो कर्जा लिन सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाको विधिवत् रुपमा भरिएको कर्जा आवेदन फाराम, प्रचलित कानून बमोजिम दर्ता भएको व्यवसाय तथा स्थायी लेखा नं प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव चाहिन्छ । दश लाख रुपैयाँ भन्दा बढीको कर्जाको हकमा विस्तृत परियोजना प्रस्ताव पनि चाहिन्छ । त्यस्तै, कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्वःघोषणा पनि आवश्यक पर्छ । शैक्षिक प्रमाण पत्रको सक्कल प्रति र सीप विकास तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ ।
सही कागजात र प्रक्रिया पुरा गरेको २१ दिनभित्र बैंकले कर्जा दिने वा नदिने निर्णय गरिसक्छ । बैंक तथा बित्तीय संस्थाले दिने कर्जामा निर्धारण गरेको ब्याज दर मध्ये ५ प्रतिशत ब्याजदर अनुदान सुविधा पाइन्छ ।


