बैंकिङ खबर । नेपाल राष्ट्र बैङ्कले जसरी पनि बैंकहरुलाई मर्जर गराएर संख्या घटाई गुणस्तर बढाउने अडान लिएपछि अधिकांश बैंकहरु मर्जरमा जान तयार भएका छन् । प्रायः बैंकहरुले साधारणसभामार्फत मर्जरको बाटो खुला गरेका छन् । केही बैंकले मर्जरलाई भन्दा पनि अरुलाई प्राप्ति गर्ने दाउमा छन् । खराव बैंकको सूचिमा परेकालाई प्राप्ति गरेर बलियो बेंक बनेको प्रभुले कुनै पनि एउटा वाणिज्य बेंकलाई आफूमा गाभ्ने रणनीति बनाएको छ । ठुलो बैंकिङ समुह अन्तरगत रहेको प्रभु बैंकमा गाभिने बारे दुईवटा वाणिज्य बैंक र एउटा विकास बैंकले छलफल अगाडि बढाएका छन् । २८ वटा वाणिज्य बैंक मध्ये जनता बैंक ग्लोबल आईएमई बैंकमा गाभिएर संयुक्त कारोबारको तयारीमा छ । मर्जरबाट एक भएता पनि नामै हटाउने भएपछि जनता बैंक ग्लोवल आइएमई बैंकमा गाभिए सरह हुने छ । जनता बैंक र ग्लोवल आइएमई बैंले मंसीर अन्तिम साताबाट एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । प्रभु बैंकले साधारणसभामार्फत मर्जरको ठाउँमा अरुलाई प्राप्ति गर्ने निर्णय गरिसकेको छ । यसको अर्थ प्रभु बेंकले आफ्नो ब्राण्ड कायम राखि अरुलाई गाभ्ने तयारी गरेको छ । उसले अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । सनराइज बैंकले पनि आफ्नो १२ औँ वार्षिक साधारणसभामार्फत मर्जरको बोटो खुला गरिसकेको छ । नेपाल एसबीआई बैंकले यही मंसिर २९ गते गर्न लागेको २६ औँ साधारणसभाबाट मर्जर तथा प्राप्ती सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्दैछ ।
विकास बैंकहरु धेरै मर्जर भईसकेका छन् । जसकारण विकास बैंकको संख्या घटेर दुइदर्जनमा खुम्चिएको छ । यसमा पनि साना विकास बैंकहरु मात्र नभएर राष्ट्रिय स्तरकै विकास बैंकहरु धमाधम मर्जरमा गइरहेका छन् । गण्डकी विकास बैंक मेगा बैंकमा गाभिने अन्तिम तयारीमा छ । कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा गाभिएर संयूक्त कारोबारको तयारीमा छ । बलिया विकास बैंकका रुपमा रहेका मध्येकै ओम विलय भइसकेको छ भने गण्डकी विलयको संघारमा छ । त्यस्तै महालक्ष्मी विकास बैंकले समेत गत कात्तिकमा सम्पन्न १८ औँ वार्षिक साधारणसभाबाट मर्जर तथा प्राप्तीका लागि बाटो खुला गरिसकेको छ । उता अर्को अव्वल विकास बैंकका रुपमा रहेको गरिमा विकास बैंकले पनि राम्रो रेसियो पाए मर्जरमा जाने योजना बनाइसकेको छ । गरिमाको यही मंसिर २७ गते हुन लागेको १३ औँ वार्षिक साधारणसभामार्फत मर्जरबारे निर्णय गर्ने छ । गरिमाले राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त संघ–संस्थासँग मर्जर हुने अथवा प्राप्ती सम्बन्धी सम्पुर्ण प्रकृयाको लागि सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने भन्ने निर्णय साधारणसभाबाटै गर्ने छ । मुक्तिनाथ विकास बैंकले पनि मंसिर ३० गते हुन लागेको १३ औँ साधारणसभाबाट मर्जर तथा प्राप्तीको बाटो खुला गर्ने छ ।
क्षेत्रीय स्तरका विकास बैंकहरु पनि मर्जरकै क्रममा रहेका छन् । मर्जर नीति आउनुअघि ८६ वटा रहेका विकास बैंकहरु असोज मसान्तसम्ममा २५ वटामा झरेका छन् । जसमा साना विकास बैंकहरु १५ वटा छन् । तीमध्ये, तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको एकीकृत कारोबार यही मंसिर २२ गतेदेखि हुँदैछ । त्यस्तै, सहयोगी विकास बैंक सिटिजन्स बैंकमा गाभिँदैछ । यसबाहेक, अन्य विकास बैंकहरु पनि मर्जर प्रकृयामै देखिन्छन् ।
अन्तत वाणिज्य बैंकहरुको संख्या १४।१५ मा झार्ने, विकास बैंकहरुको संख्या र फाइनान्स कम्पनीको संख्या पनि १६ १६ मा झार्ने राष्ट्र बैङ्कको योजना छ । सोही अनुरुप बैंकहरुलाई मर्जरको दिशातर्फ लगिएको छ । राष्ट्र बैङ्कको योजना अनुसार नै बैंकहरु धमाधम मर्जरमा जाँदैछन् । लघुवित्त वित्तीय संस्थालाई पनि दुई दर्जनका सिमित गर्ने राष्ट्र बैङ्कको योजना छ ।


