बैंकिङ खबर । चेकमा लेखिएका रकम भुक्तानी गर्न सुनिश्चितता प्रदान गर्न भुक्तानी योग्य छ भनि सम्बन्धित बैंकले प्रमाण्ति गरेको चेकलाई गुड फर पेमेन्ट चेक भनिन्छ । यस्तो चेक बनाउन खातावालाले आफ्नो खातामा चेकमा लेखिने रकम जम्मा गरी चेक काटिन्छ । यो चेक बैंकले केहि शुल्क लिएर प्रमाणित गरेको हुन्छ । यस्तो चेक लिई आउनेलाई बैंकले तोकिएको समय भित्र भुक्तानी दिन बैंक वाध्य हुनेछ ।
अरु चेकमा जस्तो गुड फर पेमेन्ट चेकमा भुक्तानी नहुने डर हुँदैन । किनकि, बैंकले यस्तो चेक जाँच गर्ने क्रममा नै खातामा मौज्दात भए नभएको, हस्ताक्षर वा मिति मिले नमिलेको, अंक र अक्षरमा फरक परे नपरेको लगायतका विषयमा यकिन गरिसकेको हुन्छ । साथै गुड फर पेमेन्ट चेक बराबरको रकम सम्बन्धित खातामा नै रोक्का गरिएको हुन्छ वा अन्य आन्तरिक खाता (मार्जिन खातामा) ट्रान्सफर गरिएको हुन्छ । यसर्थ, गुड फर पेमेन्ट चेकलाई वित्तीय कारोबारमा नगदसरह मान्यता र विश्वास गरिन्छ ।
गुड फर पेमेन्ट गर्ने चेकको साथमा निवेदन दिएपश्चात् निश्चित शुल्क लिएर बैंक तथा वित्तीय संस्थाले सो चेकलाई गुड फर पेमेन्ट भनी प्रमाणित गरिदिन्छन् । अन्य चेक सटही गर्ने प्रक्रियासरह यस्तो चेकलाई सटही गर्न सकिन्छ । यस्तो चेकलाई बदर गर्नु परेमा बैंक तथा वित्तीय संस्थाको आ(आफ्नो आन्तरिक नियमअनुसार बदर गर्न सकिन्छ । सामान्यतयाः निवेदक स्वयंले गुड फर पेमेन्ट प्रमाणित गरेको चेक बैंक तथा वित्तीय संस्थामा पेश गरी बदर गराउन सक्दछन्। गुड फर पेमेन्ट चेक पेस नगरिएको वा हराएको अवस्थामा निवेदक र धारक (चेक जारी गरिएको व्यक्ति वा संस्था) को संयुक्त निवेदनको आधारमा चेक बदर गर्न सकिन्छ । अन्य अवस्थामा निवेदक एक्लैले धारकको अनुमतिबिना चेक बदर गर्न सक्दैन ।
बैंक तथा वित्तीय संस्थाले यस्तो चेक खरिद गर्न सक्दछन् । चेक खरीद प्रक्रियामा बैंक तथा वित्तीय संस्थाले अर्को मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थाको चेक यसमा उल्लेख गरिएको रकममा आन्तरिक नियम अनुसार निश्चित रकम कम गरी ((डिस्काउन्ट गरी) तुरुन्त सम्बन्धित ग्राहकको खातामा जम्मा गरिदिन्छ। उक्त खरिद गरिएको चेक असुली (कलेक्सन) वा समासोधन (क्लियरिङ) मार्फत् सटही गरी हिसाब मिलान हुन्छ । खरिद गरिएको चेक सकेसम्म चाँडै सटही गर्नुपर्दछ । नियमित प्रक्रियाअनुसार चेकको भुक्तानी लिन समय लाग्दछ । यसर्थ तुरुन्त नगद आवश्यकता पर्दा चेक खरीद गरिन्छ । चेक खरीद गर्नासाथ बैंक तथा वित्तीय संस्थाले तत्काल नगद भुक्तानी गर्दछ । चेक खरिद गर्दा ग्राहकले कमिशन तिर्नुपर्दछ ।
यस्तो चेकलाई धितोको रूपमा स्वीकार गरी ऋण प्रवाह गर्न नपाइने व्यवस्था छ । प्रचलित नीतिगत व्यवस्थाको अधिनमा रही चेक खरिद वा डिस्काउन्ट गर्न भने सकिन्छ । नियमपूर्वक खरिद वा डिस्काउन्ट गरेको चेक खरिद गरेको दिनसमेत बढीमा तीन कार्य दिनभित्र अनिवार्य रूपमा सटही प्रक्रिया कलेक्सन वा समासोधन (क्लियरिङ)मा पठाउनुपर्ने प्रावधान छ । सरकारी जागिर डटकमबाट साभार



