November 17th, 2019

उद्यमशीलताका लागि बैंक अत्यावश्यक, सर्वसाधारणमा जानकारी पुगेन

बैंकिङ खबर । बैंक, बीमा र पुँजी बजार सम्बन्धी वृहत प्रदर्शनी मेला (बैंकिङ एक्सपो) शुरु भएको छ । २ दिनसम्म चल्ने एक्स्पोको आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले औपचारिक रुपमा उद्घाटन गरे ।

एक्स्पो उद्घाटन गर्दै गभर्नर नेपालले पैसाको सदपयोग नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर नेपालले घरघरमा पैसा पुगिसकेको तर त्यसको सदुपयोग भने गर्न नसकेको बताएका हुन् । उनले विविध कारणले १४ स्थानीय तहमा वाणिज्य बैंकको शाखा नपुगे पनि ७ सय ४१ तहमा वाणिज्य बैंककै शाखा पुगिसकेको बताए । ‘अधिकांश स्थानीय तहमा वाणिज्य बैंक नै शाखा पुगिसकेका छन्, हरेक स्थानीय तहमा वाणिज्य बैंक पुग्नु भनेको घरघरमा पैसा पुग्नु हो’ गभर्नर नेपालले भने, ‘घरघरमा पुगेको पैसाको सदुपयोग किन नगरेको ?’

गभर्नर नेपालले नेपालमा उद्यमशीलताको प्रसस्त सम्भावना हुँदा पनि स्वदेशमा परिश्रम नगरेर विदेश जाने प्रचलनप्रति पनि दुःख व्यक्त गरे । विदेशमा बगाउने पसिना नेपालमा बगाउदा लाज हुने भन्दै युवाहरु विदेश गइरहेको उनले बताए ।  ‘दक्षिण कोरिया नै जान खोज्छन्, विदेश नै जानु पर्छ रातभर लाइन लागेर यहाँबाट लाठिचार्ज गरेर विदेश पठाउनु पर्ने अवस्था छ’ गभर्नर नेपालले भने, ‘अनि अर्काको देशमा पसिना बगाएर हाम्रो देश बनेन भन्छन्, हाम्रो देश अरु कसलै बनाइदिदैन । हामीले नै बनाउने हो ।’ नेपालमै भएका प्रसस्त सम्भावनाहरु नचिन्दा समस्या भएको उनको भनाई छ ।

सोच नै सकारात्मक नभएका कारण सर्वसाधारणमात्रै नभएर बैंक तथा वित्तीय संस्थाहरुको पनि कमजोरी देखिएको गभर्नर नेपालले बताए । बैंकिङ एक्स्पोमा सबै बैंक तथा वित्तीय संस्थाहरुको सहभागी नभएकोमा पनि उनले गुनासो गरे । बैंकबारे बुझाउन नसकिएकै कारण मान्छेहरुले उद्यमशील कसरी बन्ने भन्ने बारे थाहा नपाएको भन्दै आफ्नो सेवाबारे जनमानसमा जानकारी पुर्याउन उनले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन समेत दिए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष परिष्ठनाथ पौड्यालले पुँजी बजारको विकास तीव्र रुपमा भइरहेको बताए । बोर्डकै आयोजनामा यस अघि काठमाडौं र प्रदेश नम्बर एकको विराटनगरमा पुँजी बजार प्रदर्शनी सम्पन्न गरिएको भन्दै यस्ता प्रदर्शनीले शेयर बजारबारे जानकारी लिन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकबारे नकरात्मक हल्ला भएको गुनासो गरे । बैंकले दुःख दियो भनेर कहिलेकाही गुनासो आउने गरेको भन्र्द धेरै गुनासाहरु बैंकिङ सेवाबारे जानकारी नभएका कारण आउने गरेको शेरचनले बताए ।

वाणिज्य बैंकका सीईओहरुको छाता संस्था नेपाल बैंकर्स संघको आधिकारिक रुपमा प्रतिनिधित्व गर्दै बोलेका सीईओ शेरचनले बैंकहरु सेवामूखी भएको बताए । बैंकहरु पनि नियमनभित्र रहेको भन्दै जनतालाई सास्ती नभई सेवा दिन नै बैंकको स्थापना भएको उनले बताए ।
ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पनि बैंकबारे पछिल्लो समय गलत सूचनाहरु सम्प्रेषण हुने गरेको भन्दै आपत्ति जनाए । बैंकको आधा सूचना लिएर भ्रमपूर्ण प्रचार हुने गरेको भन्दै उनले त्यो गलत भएको बताए ।

‘ख’ वर्गका बैंकका सीईओहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएनका महासचिव समेत रहेको ज्ञवालीले बैंकहरु समृद्धिको संवाहक मात्रै नभई जीवनको ब्लड भएको बताए । शरिरको रगतको महत्वजस्तै समृद्धिमा बैंकको महत्व रहेको उनले बताए ।

लघुवित्त वित्तीय संस्थाका सीईओहरुको संस्था लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले उद्यमशीलता विकासका लागि जनचेतनाको धेरै आवश्यक रहेको बताए । उनले वित्तीय जागरणका लागि आयोजना गरिने बैंकिङ प्रदर्शनी जस्ता कार्यक्रमहरुले जनमानसमा सकारात्मक सन्देश जाने बताए ।

कार्यक्रमका संयोजक माधव निर्दोषले बैंकिङ एक्स्पो कार्यक्रम वित्तीय जागरण राष्ट्रिय अभियानअन्तर्गत संचालन गरिएको एक्स्पोले विद्यार्थी वर्ग, उद्यमशील युवा र स्वरोजगार बन्न चाहने युवाहरुका लागि अत्यावश्यकीय जानकारी प्रदान गर्ने बताए । उनले एक्स्पोमा संचालन गरिएका स्टलहरुको अवलोकन गरि आफूले बैंक वित्तबारे चाहेको जानकारी लिन अनुरोध गरे ।

मिडिया इन्टरनेशनलले आयोजना गरेको कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, बीमा समिति र नेपाल क्लियरिङ हाउसले सहकार्य गरेका छन् । कार्यक्रममा ४ दर्जन बढी बैंक, वित्त, बीमा कम्पनी लगायतका स्टलहरु रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]