Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

साप्ताहिक हाइलाइट्स : धितोपत्र बोर्डले अझै पाएन अध्यक्ष, अरु केके भयो वित्तीय क्षेत्रमा ?

२०७६ कार्तिक १५ गते

बैंकिङ खबर । यो साता तिहारका कारण अधिकांश दिन कार्यालयहरु बन्द रहे । बैंक तथा वित्तीय संस्थाहरु पनि प्रायः बन्द नै रहे । यस बीचमा केही महत्वपूर्ण बैंकिङ गतिविधिहरु पनि भए । यद्यपि, अहिलेसम्म धितोपत्र बोर्डमा अध्यक्षको नियुक्ति हुन सकेको छैन ।

राष्ट्र बैंकमा रोजगारी
यो साता नेपाल राष्ट्र राष्ट्र बैंकले ६७ जनाका लागि भ्याकेन्सी खुलाएको छ । २८ जना सहायक निर्देशक (अधिकृत तृतीय), ८ जना लेखा वा लेखापरीक्षणका लागि सहायक निर्देशक (अधिकृत तृतीय) र ३१ जना सहायक (सहायक द्धितीय) मागिएको छ ।

अनलाइनबाटै बीमा रकम तिर्न सकिने
विदेशबाटै श्रम स्वीकृति लिन चाहनेहरुका लागि बीमा समितिले अनलाइनबाटै बीमा शूल्क तिर्न मिल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । जसअनुसार, वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले श्रम स्वीकृति नवीकरण गर्न चाहेमा अनलाइनबाटै बीमा शूल्क बुझाउन सक्नेछन् । समितिले यस्तो व्यवस्था गर्नका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई निर्देशन दिएको छ ।

२० रुपैयाँका नोट छाप्न टेन्डर
नेपाल राष्ट्र बैंकले चार अर्ब ८० करोड रुपैयाँ बराबरका नोट छपाउन लागेको छ । २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न राष्ट्र बैंकले बोलपत्र आह्वान गरेको छ । हरेक नोट तीन वर्षका लागि छपाउने गरिन्छ । यसलाई नोटको आयु भनिन्छ । २० रुपैयाँ दरका नोट यसअघि सन् २०१६ मा २१ करोड थान छपाइएको थियो ।

धितोपत्र बोर्डको नेतृत्वको जिम्मा पौडेललाई
अर्थ मन्त्रालयले अध्यक्ष नियुक्त नभएसम्मका लागि नेपाल धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारी कार्यकारी निर्देशक परिष्ठनाथ पौडेललाई दिएको छ । अध्यक्ष नहुँदा अड्किएका सेयर निष्काशन अनुमति लगायतका कामहरु अब सुचारु हुने भएका छन् ।

समस्याग्रस्त सहकारीलाई निर्देशन
सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त ९ सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीलाई १५ दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको छ । समितिले स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एन्ड इन्भेष्टमेन्ट कोअपरेभिट लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिभिटेड, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र स्टयान्डर्ड मल्टिप्रपोज कोअपरेटिभ लिमिटेडका सञ्चालक तथा कर्मचारीलाई १५ दिनभित्र समितिमा सम्पर्क राख्न आउन अल्टिमेटम दिएको हो ।