October 3rd, 2019

ओम र गण्डकी विकास बैंकको विलयपछि ‘विकास बैंकको हब पोखरा’ रित्तियो

बैंकिङ खबर । नेपालमा अहिले बैंकिङ क्षेत्रको विकास द्रुत गतिमा भइरहेको छ । अहिलेको अवस्थामा हेर्दा प्रायः बैंकको केन्द्रीय कार्यालय राजधानीमा नै देखिन्छ । तर, अहिले राजधानी सरेर राम्रो ग्रोथ देखाइरहेका कतिपय बैंकहरुको सुरुवात पोखरामा भएको थियो । वाणिज्य बैंकहरुमध्ये, माछापूच्छ्रे बैंकले पोखराबाट सुरुवात गरेको थियो । पोखराबाट सुरुवात गर्ने विकास बैंकहरुले धेरै छन् । यसरी कुनै समय विकास बैंकहरुको हब नै रहेको पोखरा अहिले रित्तिएको छ । पोखरामा केन्द्रीय कार्यालय भएका कुनै बैंक काठमाडौँ सरे भने केही बैंकहरु मर्जरबाट विलय हुन पुगे ।

पोखराका तीन वित्तीय संस्था कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स लिमिटेड एकआपसमा गाभिएर बनेको कैलाश विकास बैंक लिमिटेडको प्रधान कार्यालय पोखराको न्युरोडमा थियो । पछि, यो बैंक राजधानीमा सर्यो । काठमाडौँको न्यूप्लाजामा केन्द्रीय कार्यालय रहेको कैलाश प्राइम कमर्सियल बैंकमा विलय हुँदैछ ।

पोखराको न्युरोडमै स्थापना भएको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड पनि राजधानी सहरमा नै पसेको छ । हाल यो बैंकको केन्द्रीय कार्यालय काठमाडौँको बालुवाटारमा रहेको छ । धादिङको सिभिक डेभलपमेन्ट बैंकलाई गाभेर राष्ट्रिय स्तरमा स्तरोन्नति भएको मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय पोखराको पृथ्वीचोकबाट काठमाडौँको कमलादीमा सरेको छ ।

गरिमा विकास बैंक पनि पोखराबाट काठमाडौँको लाजिम्पाटमा सरेको छ । गरिमाको स्थापना भने स्याङ्जाको वालिङमा भएको थियो । पछि, बैंकले आफ्नो तेस्रो वार्षिक साधारणसभामार्फत केन्द्रीय कार्यालय पोखरामा सार्ने निर्णय गरेको थियो ।

पहिले पोखराको लेखनाथस्थित सृजनाचोकमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक पनि राजधानीमा सरिसकेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंक र पोखरामा केन्द्रीय कार्यालय रहेको कामना विकास बैंक एकआपसमा गाभिएर कामना सेवा विकास बैंक बनेको हो । अहिले यो बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा रहेको छ ।

केन्द्रीय कार्यालय पोखराको चिप्लेढुंगामा रहेको छ ओम डेभलपमेन्ट बैंक भने एनएमबि बैंकमा गाभिई सकेको छ । बाँकी रहेको गण्डकी विकास बैंक पनि मेगा बैंकमा गाभिन लागेको छ । राष्ट्रिय स्तरको फेवा विकास बैंक लिमिटेड र क्षेत्रीयस्तरको गण्डकी विकास बैंक एक आपसमा गाभिएर गण्डकी विकास बैंक बनेको थियो । यो बैंकको केन्द्रीय कार्यालय पोखराको चिप्लेढुंगामा रहेको छ । यो बैंक पनि मर्ज हुने भएपछि पोखरा रित्तिएको छ ।

अब पोखरामा एउटा फाइनान्स र पाँच वटा माइक्रोफाइनान्स गरी आधार दर्जन वित्तीय संस्थाको केन्द्रीय कार्यालय रहेको छ । हाल पोखरा फाइनान्स, एनएमबि लघुवित्त, नेपाल एग्रो माइक्रोफाइनान्स, स्पर्श लघुवित्त र जालपा लघुवित्तको केन््रीय कार्यालय पोखरामा रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]