बैंकिङ खबर । आज दिउँसो ४ बजे मौद्रिक नीति आउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ । अन्य आर्थिक वर्षभन्दा फरक ढंगले ल्याउने भनिएको यसपालीको मौद्रिक नीतिमा बीग मर्जरको विषयलाई फोकस गरिएको छ । एउटै व्यक्तिवा समूहको लगानीमा रहेका एकभन्दा बढी बैंक भए सोलाई मर्ज गराउने राष्ट्र बैंकको योजना छ । मर्जरका लागि दुई वर्षको सहुलियत दिने योजना राष्ट्र बैंकले बनाएको छ ।
यसपालीको मौद्रिक नीतिले समावेश गर्न लागेको मूख्य विषय हो बीग मर्जर । बजेटले नीतिगत व्यवस्था गरिसकेपछि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यसलाई कार्यान्वयनमा ल्याउन लागेको हो । मौद्रिक नीतिआउनुअघि नै बैंकहरुले मर्जर प्रतिवद्धता समेत बुझाइसकेका छन् । २८ वटा रहेको वाणिज्य बैंकको संख्यालाई १४।१५ मा झार्ने राष्ट्र बैंकको लक्ष्य छ ।
अर्थमन्त्री खतिवडाले चालू आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशत मूल्य वृद्धिको सिमाभित्र रहेर मौद्रिक नीति ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार राष्ट्र बैंकले सरकारले ल्याएको बजेटलाई सघाउने, वित्तीय स्थायित्व कायम गर्ने, मुद्रालाई बढी भन्दा बढी परिचालन गर्ने गरी मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।
राष्ट्र बैंकले बैंकहरुको आक्रमक ऋण लगानी रोक्नका लागि पूँजी कोष अनुपात बढाउन लागेको छ । राष्ट्र बैंकले आक्रमक ऋण लगानी रोक्न काउन्टर साइक्लिक बफरलाई साढे २ प्रतिशतसम्म बढाउने भएको छ । त्यस्तै, निक्षेपको स्थायित्वका आधारमा ’लिक्विडिटी कभरेज रेसियो’ कार्यान्वयनमा ल्याउने तयारी राष्ट्र बैंकको छ । राष्ट्र बैंकले बैंकहरुलाई विदेशी बैंकबाट मात्र नभई संस्थाहरु पनि पैसा ल्याउन मिल्ने व्यवस्था गर्ने भएको छ । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले तरलता बण्डको अवधारणा पनि अगाडि सार्ने भएको छ ।