बैंकिङ खबर । प्राथमिक सेयर निष्काशनमा सिआस्वा प्रणाली अनिवार्य भएको छ । यसको मतलब अब आईपिओ, एफपिओ र हकप्रद सेयर खरिदका लागि आवेदन दिँदा सिआस्वा प्रणालीको प्रयोग गर्नुपर्नेछ । अहिले आस्वा सेवा प्रदान गर्दै आइरहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थालाई एकै केन्द्रीकृत प्रणाली आवद्ध गरि एउटै सफ्टवेयरबाट आवेदन लिने व्यवस्था सिआस्वामा हुन्छ । सिआस्वाले सेयर लगानीकर्ताहरु लाई निकै सहज भएको छ ।
सिआस्वाले दिएका सेयर सुविधाहरु
सिआस्वा प्रणालीको प्रयोगबाट घरमै बसी बसी इन्टरनेटको प्रयोगबाट सेयर खरिदका लागि आवेदन दिन सकिन्छ । अहिले अधिकांश बैंकहरुले आफ्नो वेभसाइटमार्फत सेयरमा आवेदन दिने व्यवस्था गरेका छन् ।
सिआस्वा प्रणालीका कारण सेयर लगानीकर्ताको समय बचत भएको छ । पहिले सेयर विक्री प्रबन्धक वा तोकिएका बैंकहरुमा गएर लाइन बसेर आवेदन दिनुपर्दा लगानीकर्ताको धेरै समय खेर जाने गरेको थियो ।
कागजातहरु हराउला, च्यात्तिएला भन्ने जोखिम अहिले छैन । डिम्याट खातामार्फत कारोबार हुने हुँदा सेयर आफैँ खातामा आएर बस्ने सुविधा यो प्रणालीमा हुन्छ । त्यस्तै, सेयरमा नपरेको रकम आफ्नै बैंक खाता फिर्ता आउने सुविधा पनि यो प्रणालीमा हुन्छ ।
हातमा पैसा बोकेर सेयर किन्न जानुपर्ने अवस्था अब छैन । बैंक खाता भएको पैसा सिधै सेयरमा लगानी गर्न सक्ने सुविधा सिआस्वा प्रणालीमा रहेको छ । सेयरमा लगानी गर्ने मात्रै नभएर सेयरको मौज्दात र पोर्टफोलियो हेर्न, सेयर धितोबन्धकीमा रहेको विवरण तथा आफ्नो कारोबार र आवेदन गरेको सेयर पर्याे कि परेन हेर्न मिल्ने सुविधा सिआस्वा प्रणालीमा हुन्छ । सिआस्वा प्रणालीका कारण सेयर बाँडफाँड प्रक्रिया समेत सरल र छिटो भएको छ । सिआस्वामार्फत गरिएका आवेदनहरु संकलन गर्न सहज भएकाले छोटो समयमा नै बाँडफाँड गर्न सम्भव भइरहेको छ ।
कसरी लिने सिआस्वा सेवा ?
यो प्रणालीबाट सेयर आवेदन दिनका लागि लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सिआस्वा प्रणाली सुविधा लिनको लागि आवेदन दिनुपर्दछ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरी सफ्टवेरमा भेरिफिकेशन गरी लगानीकर्तालाई एउटा भेरिफिकेशन कोडको रुपमा सिआरएन अर्थात सिआस्बा रजिष्ट्रेसन नम्बर दिन्छ । त्यसपछि तपाईँले आफ्नो डिम्याट खाता पनि रुजु गराउनुपर्ने हुन्छ । एकपटक आफ्नो खाता रहेको बैंकबाट सिआरएन नम्बर प्राप्त गरेपछि सिडिएससीको अनलाइन वेभसाइटमा गएर आवेदन गर्न सक्नेछन् । अथवा, सिआस्वा सेवा उपलब्ध भएका बैंक तथा वित्तीय संस्थाको वेभसाइटमार्फत पनि सेयर आवेदन दिन सकिन्छ ।
आवेदन गर्ने बैंकमा आवेदन गर्ने मौजात रकम समेत बैंकमा हुनु आवश्यक पर्दछ । यस्तो सेवा लिनका लागि बैंकको वेभसाईटमा गएर आस्बा अनलाइन (केही बैंकको इन्टरनेट बैंकिङमा लगइन गरे पछि मात्र आस्बा अनलाइनको सेवा आउँछ) लेखिएको स्थानमा क्लिक गर्नु पर्छ । सेवाग्राहीलाई बैंकले उपलब्ध गराएको अनलाइन बैंकिङको लगइन आईडी तथा पासवर्डबाट लग इन गरी सेयर आवेदनका लागि माग गरिएको निर्देशन पुरा गर्नुपर्ने हुन्छ । अनलाइन सेवा नलिएका सेवाग्राहीले नजिकको कुनै पनि शाखामा सम्पर्क गरि अनलाइन बैंकिङको सेवा माग गर्न सक्नेछन् । यी बैंकमा खाता भएका सेवाग्राहीले अनलाइन बैंकिंग सुविधा लिएर यो प्रणालीबाट घरमा बसी बसी सेयर आवेदन गर्न सक्नेछन् । आस्बामा अनलाइनबाट सेयर आवेदन गरे पछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी सहितको डिजिटल कागजात उपलब्ध गराउँछ ।
शूल्क कति लाग्छ ?
आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यबाट बार्षिक शुल्क ५० रुपैयाँ तिरेर यो सेवा लिन सकिन्छ । यो शूल्क प्राथमिक निष्काशनका लागि मात्र नभई आफ्नो सेयरको मौज्दात र पोर्टफोलियो हेर्न, सेयर धितोबन्धकीमा रहेको विवरण तथा आफ्नो कारोबार र आवेदन गरेको सेयर पर्याे कि परेन हेर्न मिल्ने सेवाका लागि लिइएको सिडिएससीले जनाएको छ । अहिले निशुल्क आस्वा सेवा लिइरहेका लगानीकर्ताले भने आफ्नो खाता रहेको बैंक मार्फत सिआरएन नम्बर लिनका लागि कुनै शुल्क तिर्नु पर्दैन ।
