June 10th, 2016

राष्ट्र बैंकले तोकेबमोजिम पुँजी पुर्याउन नेपाल बैंकका ३ योजनाहरु

nepal bankनेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले तोकेबमोजिम आवश्यक पूँजिकोष अनुपात यसै आर्थिक वर्षभित्र पुर्याउने बताएको छ । बैंकको शुक्रबार सम्पन्न ५६ औँ साधारणसभामा आ.व. २०७१/७२ को वार्षिक प्रतिवेदन र भावी योजनाहरु सार्वजनिक गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले पूँजी योजना अनुसार प्रयोगमा नआएका बैंकिङ्ग सम्पत्तिहरुको विक्रि कार्य भइरहेको जानकारी गराए । उनकाअनुसार बैंक अन्य संस्थाहरुमा लगानी गरेको शेयरहरु विक्रि गर्ने प्रकृयामा रहेको छ भने नेपाल राष्ट्र बैंकले तोके बमोजिमको चुक्ता पूँजी पुर्याउनको लागि आगामी वर्ष १०ः२.३ को अनुपातमा हकप्रद शेयर जारी गर्ने योजना बनाएको छ । यस बाहेक चुक्ता पूँजी वृद्धि गर्न र बैंकको अवस्थालाई अझ सुदृढ बनाउन अन्य बैंक तथा वित्तीय संस्थाहरुसंग मर्जमा जाने वा एक्वायर गर्ने योजना पनि रहेको कुरा आचार्यले आफ्नो प्रतिवेदनमार्फत प्रस्तुत गरे ।

साथै बैंकमा कोर बैंकिङ सफ्टवेर (सीबीएस)को रुपमा पुमोरी टीभी कार्यान्वयनमा ल्याइसकेको र नियमनकारी निकायले दिएको निर्देशन बमोजिम कृषि, जलविद्युत, घरेलु, साना तथा मझौला उत्पादनमूलक उद्योग, प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी बढाउने योजना रहेको बताए । सभामा साधारण शेयरधनाीहरुले व्यक्त गरेका गुनासा एवम सुझावहरुको प्रत्युत्तरमा सञ्चालक समितिका अध्यक्षले सुझावहरुको कार्यान्वयन गर्ने तथा बैंक विकास प्रति आफु प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।  
                                                                          
आर्थिक वर्ष २०७१/७२ मा बैंकको निक्षेप १२.४९% ले वृद्धि भई ७७ अरब ९९ करोड रुपैँया पुगेको छ भने कर्जा २९.५३% ले वृद्धि भई ५३ अर्ब ३८ करोड रुपैँया पुगेको छ । लगानी २५.३८% ले घटेर १६ अर्ब ९३ करोड रुपैँया पुगेको छ । जगेडा तथा कोष २ अर्ब ६३ करोड ऋणात्मकमा झरेको छ जुन गत आ.व. मा ३ अर्ब ११ करोड ऋणात्मक रहेको थियो । त्यस्तै, पूँजीकोष २.९५% ले वृद्धि भई ७.५०% मा पुगेको छ भने निष्कृय कर्जा १.१४% ले घटेर ३.९८% रहेको छ ।