बैंकिङ खबर । नेपालमा मोबाइल बैंकिङ् सेवा आउनुभन्दा धेरै पहिला डेविट कार्डको प्रयोग भएको थियो । एटिएम मेसिनबाट बैंक खातामा भएको नगद झिक्न सजिलो हुने भएपछि डविट कार्डको प्रयोगकर्ताहरु बढेका थिए । नेपालमा एटिएम मेसिनमा प्रयोग गर्नमिल्ने डेविट कार्डको प्रयोगको सुरुवातसँगै बैंकिङ टेक्नोलोजिको पनि विकास भएको पाइन्छ । बैंकहरुले इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, भाइबर बैंकिङ हुँदै मोबाइल बैंकिङ सेवा दिन थालेपछि वित्तीय पहुँच पनि बढेको बैंकर्सहरु बताउँछन् । पछिललो समय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेविट कार्डको प्रयोगकर्ता भन्दा मोबाइल बैंकिङ्का प्रयोगकर्ता बढी छन् ।
आर्थिक वर्ष २०७५/०७६को ६ महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ता ६३ लाख ९४ हजार ९ सय १६ जना पुगेका छन् । डेविट कार्ड प्रयोगकर्ता ५९ लाख ६२ हजार ८ सय ३८ जना रहेका छन् ।
गत वर्षको पुष मसान्तसम्म मोबाइल बैंकिङको प्रयोगकर्ताको तुलनामा डेविट कार्ड प्रयोगकर्ता बढी थिए । गत वर्ष ३५ लाख ३० हजार २ सय २७ जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका थिए भने ५७ लाख ६९ हजार १ सय २८ जना डेविट कार्ड प्रयोगकर्ता रहेका थिए ।
पछिल्लो समय कारोबार गर्न सजिलो हुने भएकाले डेविट कार्डको प्रयोगमा भन्दा मोबाइल बैंकिङको प्रयोगमा सेवाग्राही आकर्षित भएको देखिन्छ । मोबाइलबाटै एप्सको माध्यमबाट पैसा पठाउन सकिने, ब्यालेन्स हेर्न सकिने, स्टेटमेन्ट हेर्न सकिने, रिचार्ज गर्न सकिने, रेस्टुरेन्ट तथा अन्य बिल्सहरु भुक्तानी गर्न सकिने भएपछि मोबाइल बैंकिङमा आकर्षण बढेको हो ।
मोबाइल बैंकिङको प्रयोगबाट बैंकिङ कारोबार गर्न सहज हुने भएकाले यसको प्रयोगकर्ता बढेको देखिन्छ । बैंकहरुले पनि वित्तीय पहुँच बढाउने सजिलो माध्यमका रुपमा मोबाइल बैंकिङ सेवालाई लिएका छन् । त्यसैले यसको प्रयोगकर्तामा उच्च वृद्धि भएको देखिन्छ ।