Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आर्थिक वर्षको ८ महिना निक्षेप ९.७ प्रतिशत र कर्जा १४.६ प्रतिशतले बढ्यो

२०७६ बैशाख ३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो आठ महिनाको मुलुकको समग्र आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन प्रकाशित गरेको छ । चैत्र मसान्तमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुल्य सुचकाङ्कमा आधारित मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ भने आठ महिनाको औसत मुद्रास्फीति पनि ४.२ प्रतिशत नै रहेको छ । त्यस्तै आठ महिनाको अवधिमा आयातको वृद्धिदर २३.८ प्रतिशत र निर्यातको वृद्धिदर १४.६ प्रतिशत रहेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशत र अमेरिकी डलरमा ११.६ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोड रुपैयाँले घाटामा रहेको छ । बैंकिङ कारोबारमा आधारित सरकारी खर्च २.६ प्रतिशतले बढेको छ भने र राजस्व संकलन २१.१ प्रतिशतले बढेको छ ।
आठ महिनाको अवधिमा विस्तृत मुद्राप्रदाय ८.४ प्रतिशतले बढेको देखिन्छ । वार्षिक बिन्दुगत आधारमा भने विस्तृत मुद्राप्रदाय १८.७ प्रतिशतले वृद्धि भएकोे छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ९.७ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१ प्रतिशत र कर्जाको वृद्धिदर २२.६ प्रतिशत रहेको छ ।

Ad