Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वित्तीय साक्षरता बढी भएका मुलुक आर्थिक रुपमा समृद्ध

२०७५ फाल्गुन १७ गते

बैंकिङ खबर । वित्तीय साक्षरता अर्थात फाइनान्सियल लिटरेसीलाई सामान्यतया बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको रुपमा बुझिन्छ । नेपालको सन्दर्भमा वित्तीय साक्षरताको आवश्यकतालाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । सरकारी तबरबाट पनि विगतदेखि नै वित्तीय साक्षरतासम्बन्धी कतिपय कार्यक्रमहरु संचालित छन् । नेपालको तेह्रौं त्रिवर्षीय योजनाको आधारपत्रमा वित्तीय साक्षरता, बचत तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रमले प्राथमिकता पाएको थियो । यस्ता कार्यक्रमहरु हरेक वर्षको बजेट र मौद्रिक नीतिमा समेत समावेश हुँदै आएका छन् र केही हदसम्म कार्यन्वयन पनि भइरहेका छन् । यसबाहेक, किशोरकिशोरीको समग्र विकासका लागि वित्तीय साक्षरता अभिवृद्धिलाई प्राथमिकता दिनु, स्कूल कलेजका पाठ्यक्रम एवं पाठ्यपुस्तकमा वित्तीय साक्षरता सम्बन्धी विषयले प्राथमिकता पाउनु, देशको केन्द्रीय बैंक, वित्तीय क्षेत्र, राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र आमसञ्चारबाट यस विषयलाई विशेष महत्व दिँदै यसलाई एउटा अभियानकै रूपमा सञ्चालन, विस्तार र प्रवद्र्धन गर्नुले पनि वित्तीय साक्षरता मुलुकको विकासमा महत्वपुर्ण भएको पुष्टि हुन्छ । त्यसैले वित्तीय साक्षरताको विकास अपरीहार्य भईसकेको छ ।

वित्तीय साक्षरता बढी भएका मुलुक समृद्ध
अन्तर्राष्ट्रिय रुपमा हेर्दा पनि, वित्तीय साक्षरताको अवस्था राम्रो भएका मुलुकहरु बढी समृद्ध छन् । विश्वमा वित्तीय साक्षरताको अवस्था १३ देखि ७१ प्रतिशतसम्म रहेको छ । वित्तीय साक्षरतामा सबैभन्दा बढी उत्तर युरोप अगाडी रहेको छ । उत्तर युरोपका ५२ प्रतिशत मानिसहरु वित्तीय रुपमा साक्षर छन् । जसमध्येमा पनि डेनमार्क, स्वीडेन, जर्मनी, नर्वे र नेदरल्यान्ड्समा वित्तीय साक्षरता दर उच्च रहेको छ । यी मुलुकको वित्तीय साक्षरता दर ६५ देखि ७१ प्रतिशतसम्म रहेको छ । यसबाहेक, अष्ट्रेलिया, क्यानडा, फिनल्याण्ड, यूके लगायतका मुलुकका पनि ६५ प्रतिशतभन्दा बढी मानिसहरु वित्तीय रुपमा साक्षर छन् । त्यस्तै, संसारकै सबैभन्दा विकसित र शक्तिशाली मुलुक अमेरिकामा पनि वित्तीय साक्षरता ६० प्रतिशतभन्दा बढी पुगेको छ ।

डेनमार्क, स्वीडेन र नर्वे
सबैभन्दा बढी जनसंख्या वित्तीय रुपमा साक्षर भएका मुलुक डेनमार्क, स्वीडेन र नर्वे हुन् । यी युरोपेली मुलुकहरुमा वित्तीय साक्षरता ७१ प्रतिशत पुगेको छ । यी मुलुकहरु विश्वका समृद्ध मुलुकहरु मध्येमा पर्छन् । 

सन् १९७३ देखि युरोपेली संघको सदस्य रहेको डेनमार्कको अर्थतन्त्र वैदेशिक व्यापार र निजी कम्पनीहरुमा अडेको छ । ५.६ मिलियन जनसंख्या रहेको डेनमार्कको कुल गार्हस्थ्य उत्पादन २५८.७ विलियन अमेरिकी डलर रहेको छ भने प्रतिव्यक्ति आय ४५ हजार चार सय नौ अमेरिकी डलर रहेको छ । यहाँको पछिल्लो आर्थिक वृद्धिदर १.२ प्रतिशत रहेको छ । यहाँको कुल जनसंख्याको ६.३ प्रतिशत जनसंख्या बेरोजगार रहेको तथ्यांक छ । 

१० मिलियन जनसंख्या रहेको स्वीडेनको कुल गार्हस्थ्य उत्पादन ५११ विलियन अमेरिकी डलर रहेको छ । पछिल्लो समय यहाँको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहेको छ भने बेरोजगारी दर ६.८ प्रतिशत रहेको तथ्यांक छ । स्वीडेनको प्रतिव्यक्ति आय ५१ हजार एक सय ३५ अमेरिकी डलर रहेको छ । यहाँको अर्थतन्त्रको मूख्य आधार व्यापार हो । यी मुलुकहरु द्धन्द्ध, आतंकवाद लगायतका गतिविधिहरुबाट पनि टाढा रहेका छन् । 
 
मिश्रित अर्थव्यवस्था रहेको नर्वे वित्तीय साक्षरतामा मात्रै नभएर बैंकिङ प्रविधिको प्रयोगका हिसाबले पनि विश्वमै पहिलो नम्बरमा छ । ५५ लाख जनसंख्या रहेको यो मुलुकमा बेरोजगारी दर चार प्रतिशत रहेको छ । कुल गार्हस्थ उत्पादन ३९८.८ विलियन अमेरिकी डलर रहेको यस देशमा प्रतिव्यक्ति आय ७५, ५०४.५७ अमेरिकी डलर रहेको छ । 

इजरायल र क्यानडा
इजरायल र क्यानडामा वित्तीय साक्षरता ६८ प्रतिशत रहेको छ । मानवविकास सूचकांकका हिसाबले टप २० मुलुकभित्र पर्ने इजरायलको कुल गार्हस्थ्य उत्पादन ३५०.९ विलियन अमेरिकी डलर रहेको छ । प्रविधिमैत्री एवम् खुला बजारमा आधारित अर्थतन्त्र रहेको इजरायलमा प्रतिव्यक्ति आय ४०, २७०.२५ अमेरिकी डलर रहेको छ । १.६५३ ट्रिलियन अमेरिकी डलर कुल गार्हस्थ्य उत्पादन रहेको क्यानडामा प्रतिव्यक्ति आय ४५, ०३२.१२ अमेरिकी डलर रहेको छ । बजारमुखी अर्थतन्त्र भएको यो देश विश्वका टप १० ठूला अर्थतन्त्र मध्येमा पर्दछ । 

अन्य मुलुकहरु
यसबाहेक, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, अष्ट्रेलिया र फिनल्याण्डमा पनि वित्तीय साक्षरताको अवस्था तुलनात्मक रुपमा राम्रो छ । न्युजिल्याण्ड, सिंगापूर र चेज रिपब्लिक वित्तीय साक्षरतामा अमेरिकाभन्दा अगाडी रहेका छन् ।

Ad