बैंकिङ खबर। नेपालमा सञ्चालनमा रहेका बैंकहरुले चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा ३० खर्ब ६६ अर्ब ५३ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङक अनुसार गत आर्थिक बर्षको सोही अवधिमा २६ खर्ब ३५ अर्ब २७ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले एक बर्षको अवधिमा २१ प्रतिशतले निक्षेपमा वृद्धि गरेका हुन् ।
एक बर्षको अवधिमा बैंकहरुको निक्षेप बढाउन स्थानीय सरकारको बजेटले सहयोग गरेको देखिन्छ । स्थानीय सरकारबाट बैंकहरुले गत बर्षको भन्दा २ सय ३९ दशमलव ६ प्रतिशतले बढी निक्षेप संकलन गरेका छन् । त्यस्तै बैंकहरुकोे निक्षेपमा बैंदेशिक निक्षेप भने घटेको छ । बैदेशिक विनिमय संचित घट्दै जाँदा त्यसको आसर बैंकहरुको बैदेशिक निक्षेपमा पनि परेको देखिन्छ । मुलुक संघिय संरचनामा गएपछि संघिय सरकारले स्थानीय सरकारलाई दिने बजेट बैंक खाता मार्फत पठाउने ब्यवस्था गरेको र स्थानीय सरकारको खातामा रहेको बजेटको ५० प्रतिशत बैंकहरुले निक्षेपको रुपमा परिचालन गर्न पाउने भएकोले त्यसले बैंकहरुमा निक्षेप बढाएको देखिन्छ ।
अन्य क्षेत्रमा एक बर्षको अवधिमा गैर बैंकिङ क्षेत्रको निक्षेप २१ दशमलव २ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरुको निक्षेप २६ दशमलव २ प्रतिशतले बढ्दा कर्मचारी संचय कोष र नागरिक लगानी कोषको निक्षेप क्रमशः ३९ प्रतिशत र ४ दशमलव ४ प्रतिशतले बढेको छ । त्यस्तै अन्य क्षेत्रको निक्षेप १५ दशमलव ३ प्रतिशतले, सरकारी संस्थानहरुको निक्षेप १८ दशमलव १ प्रतिशतले, गैर सरकारी संस्थानहरुको निक्षेप २५ दशमलव ९ प्रतिशतले, अन्तर बैंक निक्षेप ४६ दशमलव १ प्रतिशतले, गैर नाफामुलक संस्थाहरुको निक्षेप ९ दशमलव ७ प्रतिशतले र ब्यक्तिगत निक्षेप २१ दशमलव ४ प्रतिशतले बढेको छ ।