विजय पराजुली/बैंकिङ खबर । नेपालको बैदेशिक विनिमय सञ्चिती मुल्य बृद्धिको तुलनामा त्यहि अनुरुप बढ्नुपर्नेमा घट्दै जाँदा बस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमता घट्दै गएको छ । नेपालको चालु आर्थिक बर्षको पहिलो चार महिनाको बस्तु तथा सेवाको आयातलाई आधार मान्दा नेपाल राष्ट्र बैंक र विभिन्न बैंक तथा वित्तीय संस्थासँग करीब ७.९ महिनाको लागि मात्र अयात धान्न सक्ने अवास्था रहेको छ । गत आर्थिक बर्षको यहि अवधिमा बैंक तथा वित्तीय संस्थासँग ११.६ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिती रहेको थियो ।
गत आर्थिक बर्षको कार्तिक मसान्त सम्म ११०५ अर्ब ५२ करोड विदेशी विनिमय संचित रहेकोमा चालु आर्थिक बर्षको कार्तिक मसान्तमा घटेर १०८२ अर्ब ९१ करोडमा झरेको छ । गत असार मसान्तमा यस्तो सञ्चिती ११०२ अर्ब ५९ करोड रहेको थियो । उक्त समयमा नेपालको विनिमय सञ्चितीले ९.४ महिनाको बस्तु तथा सेवाको आयातलाई धान्न सक्ने अवस्था रहेको थियो ।
चालु आर्थिक बर्षको कार्तिक मसान्तमा विप्रेशण आप्रवाह ३६.४ प्रतिशतले बढ्दा पनि उच्च ब्यापार घाटाको कारण विदेशी विनिमय सञ्चिती घटिरहेको छ । विदेशी विनिमय रिजर्भ घट्न थालेपछि नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जानेहरुलाई २५ सय डलरसम्म खर्च गर्न पाउने ब्यवस्था गरेकोमा त्यसलाई घटाएर १५ सय डलरमा झारेको छ । तर पनि विदेशी विनिमय सञ्चितीमा सुधार हुन सकेको छैन ।
चालु खाता र शोधानान्तर स्थिती
समीक्षा अवधिमा चालु खाता घाटा रु.८८ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु. ४८ अर्ब ९८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनामा २५ करोड ७ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७७ करोड ४१ लाख पुगेको छ । यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२ अर्ब ४० करोडले बचतमा रहेको थियो ।
रेमिट्यान्सको अवस्था
नेपालमा विदेशी विनिमय सञ्चितीमा प्रमुख हिस्सा रहको विप्रेषण आप्रवाह समिक्षा अवधिमा ३६.४ प्रतिशतले वृद्धि भई रु.३१२ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.६ प्रतिशतले वृद्धि भई रु.३५२ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २७.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ ।
विदेशी विनिमय सञ्चिती घट्दा के हुन्छ ?
विदेशी विनिमय सञ्चिती घट्दा लगानीकर्ता निरुत्साहित हुनुको साथै बैदेशिक लगानी पनि भित्रिने सम्भावना घट्दै जाने पुर्ब गर्भनर दिपेन्द्र बहादुर क्षेत्री बताउँछन् । विनिमय सञ्चिती घट्यो भने विदेशी लगानीकर्ताहरुमा प्रत्यक्ष लागानी गर्ने जाँगर मर्ने क्षेत्री बताउँछन् । ‘विदेशी विनिमय सञ्चितीमा ह्रास आउँदा नेपालको आयात गर्ने प्रवृत्तिमा विस्तारै विस्तारै सरकार र केन्द्रीय बैंकले पनि साँघुरो किसिमको नीति लिन बाध्य हुनेछन्,’ उनी भन्छन्, ‘यदि सरकारले यस्तो नीति नलिएमा भुक्तानी प्रणाली नै राम्रोसँग चलाउन सक्ने अवस्थामा अर्थतन्त्र रहँदैन ।’
अहिले पनि विदेशमा भम्रण गर्न जानेलाई २५ सय डलर दिने गरेकोमा त्यसलाई घटाएर १५ सय डलरमा झारिएको छ । यो नै नेपालको रिजर्भ घट्न थाल्यो भन्ने संकेत रहेको क्षेत्रीले बताए । यदि बैदेशिक विनिमयको सञ्चिती नै घट्दै गयो भने भोली सरकार ऋण तिर्ने नसक्ने अवस्थामा पुग्ने उनको भनाई छ । ‘लामो समयदेखि लिईरहको ऋणको सावा ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘ऋण तिर्दा विदेशी मुद्रामा तिर्नुपर्ने हुनाले सरकार ऋण तिर्न नसक्ने अवस्थामा पुग्नेछ ।’
यी सबै कारणले गर्दा नेपालको अर्थतन्त्रलाई सकारात्मक रुपमा लिने अवस्था छैन । यसरी विनिमय सञ्चिती घट्दै जानु नेपालको अर्थतन्त्रको बिग्रिँदै गएको देखाउने प्रमुख सुचक रहेको पुर्व गभर्नर क्षेत्री बताउँछन् । बस्तु तथा सेवाको आयतलाई धान्न सक्ने क्षमता घट्दै जाँदा अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व बैंक जस्ता संस्थाहरुले आएर नेपालमा हस्तक्षेप गर्ने सम्भावना रहन्छ । किनभने विदेशी विनिमय दर, अन्त्तरराष्ट्रिय ब्यापार एवम् रिजर्भको विषयलाई उनीहरुले सुक्ष्म रुपमा हेर्छन् । यदि त्यसमा तलमाथि भयो भने उनीहरुले आफ्नो कार्यक्रम लागू गर्न सरकारलाई बाध्य गर्ने कोशिस गर्छन् ।
विदेशी विनिमय सञ्चिती घट्नुको प्रमुख कारण
नेपालमा रेमिट्यान्स ३६.४ प्रतिशतले बढ्दा पनि ब्यापार घाटा अत्याधिक बढेको कारण विदेशी सञ्चिती बढ्नुको साटो घट्दै गएको क्षेत्रीले बताए । ‘ब्यापार घाटामा पनि चालु खाता, बस्तु ब्यापार, सेवा ब्यापार, शोधानान्तर घाटा लगायतको घाटा निरन्तर बृद्धि हुँदै जानु राम्रो संकेत होइन,’ पुर्ब गर्भनर क्षेत्रीले भने, ‘यसले बैैदेशिक लगानीलाई शंकाको घेरामा राख्छ ।’
यसरी निर्यातलाई प्रोत्साहन गर्न नसक्दा अर्थतन्त्र नै राम्रो अवस्थामा नरहेको देशमा के लगानी गर्ने भन्ने मानसिकता बन्न सक्छ । नेपालमा निर्यातमुखी उद्योगलाई प्रोत्साहन गर्न नसक्नु तथा आयातमुखी अर्थतन्त्र तथा विदेशी लगानी भित्राउन नसक्नु नै नेपालको अर्थतन्त्रको प्रमुख चुनौति रहेको छ । ऋण पनि समयमै भुक्तानी गर्न नसक्ने अवस्थामा सरकार पुगेको खण्डमा आईएमएफ, विश्व बैंक जस्ता संस्थाले सहयोग गर्ने भए तापनि उनीहरुको सहयोग स्वार्थपूर्ण हुने पूर्वगभर्नर क्षेत्रीको भनाई छ ।