December 3rd, 2018

कृषि विकास बैंकद्धारा निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा बाली/पशु सुरक्षण कार्यक्रम सम्पन्न

बैंकिङ खबर । कृषि विकास बैंकको क्षेत्रीय कार्यालय बीरगञ्ज र मकवानपूरस्थित कान्तिपथ शाखा कार्यालयको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य परीक्षण शिविर तथा बाली/पशु सुरक्षण कार्यक्रम सम्पन्न भएको छ ।  मकवानपूरको बकैया–५, पावस मकवानपुरमा आयोजित कार्यक्रममा कृषि विकास बैंक क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक बाबुकाजी थापाले आवश्यक औषधी सहितको बाकस प्राथमिक स्वास्थ्य केन्द्रका डा.प्रविण पाण्डेलाई हस्तान्तरण गरी कार्यक्रमको समुदघाटन गरेका थिए ।

स्थानीयहरुको व्यापक उपस्थित रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय निर्देशक बाबुकाजी थापाले नेपाली जनताको आर्थिकस्तर उकास्न तथा देशमा आर्थिक समृद्धि ल्याउन कृषि विकास बैंकले खेलेको भूमिकाबारे चर्चा गरे । उनले ५१ बर्ष अगाडी कृषकहरुको आर्थिक समृद्धिका लागि स्थापित कृषि विकास बैंकले हाल आधुनिक प्रविधि मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए । नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पुँजी भएको यस बैंकले दुरदराजमा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनीहरुको क्षमता बृद्धिका लागि बिभिन्न बित्तीय साक्षरता लगायत यस्तै प्रकृतिका सामाजिक सामुदायिक कार्यक्रम एबम् तालिमहरु समेत प्रदान गर्दै आईरहेको समेत उनले उल्लेख गरे ।

कृषि विकास बैंक कान्तीपथ शाखाका प्रबन्धक देवी प्रसाद पोखरेल, समाजसेवी भक्त बहादुर खत्री र डा.प्रविण पाण्डेले कार्यक्रमको महत्वका बारेमा प्रकाश पारे । 

सोही दिन बैंकले पावस दुग्ध उत्पादन सहकारी संस्था बकैया, ५ मकवानपुरमा पशु तथा वाली वीमा सम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रम समेत संचालन गरेको थियो । उक्त कार्यक्रममा कृषि विकास बैंक एस.एम.ई विभागका शाखा प्रमुख प्रेम खनाल र शा.अ. मधुसुदन खकुरेलले बाली बीमा तथा पशु बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।