सेयर विश्लेषक रविन्द्र भट्टराईको नयाँ कृति सेयरबाट करोडपति बजारमा आएको छ । बुधबार नेपाल पर्यटन बोर्डको हलमा मदन पुरस्कार प्राप्त कृति सेतो धरतीका लेखक अमर न्यौपाने, नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष र कान्तिपुरका आर्थिक ब्युरो प्रमुख गोकर्ण अवस्थी र लेखकले संयुक्त रुपमा पुस्तक विमोचन गरे ।
पुस्तकमा टिप्पणी गर्दै अमर न्यौपानेले भने, “एक जना प्रतिष्ठत व्यापारी मलाई भने, "तपाईंले साहित्य र सेयरलाई सँगसँगै लैजान सक्नुभयो भने तपाईंको जीवन सहज हुनेछ । त्यतिखेरदेखि नै म सेयरप्रति आकर्षित हुन थालेको थिए । र, सेयरबारे जान्न खोजिराखेको थिए । यसै मेसोमा सेयरबाट करोडपति पढ्न पाएँ । साहित्यका पुस्तक जसरी स्वाद लिएर पढ्छु त्यस्तै स्वाद लिएर यस पुस्तक पढें । पुस्तकमा लेखकले धेरै बिम्बहरु प्रयोग गर्नुभएको छ त्यसैले पुस्तक सेयर साहित्यका रुपमा लिए पनि हुन्छ ।” उनले थपे, “पैसाको दास नबन, पैसालाई दास बनाऊ भन्ने पुस्तक निष्कर्ष हो ।”
अर्का टिप्पणीकार गोकर्ण अवस्थीले भने, “यतिका सरल भाषामा आर्थिक विषयबारे लेख्न आर्थिक पत्रकारहरुले पनि सक्दैनन् । सेयर बजारको प्राविधिक कुरालाई पनि सहज तरिकाले लेखकले भनिदिनुभएको छ । र, सेयरमा लगानी गर्ने गजबका टिप्सहरु पनि लेखकले दिनुभएको छ ।” तर, उनले ठट्यौली पारामा भने, “जसले यो पुस्तक आधा मात्र पढ्छ, ऊ डुब्छ । किनकी सेयरका जोखिमामा कुराहरु पुस्तक पछिल्लो भागमा मात्र छन् ।”
लेखक रविन्द्र भट्टराईले भने, “यो मेरो सपनाको किताब हो । सेयर भनेको प्राविधिक विषय हो , यसलाई बुझाउन गाह्रो हुन्छ । यसलाई सजिलोसँग बुझाउन सकिन्छ कि भनेर १२ वर्ष देखि गरेको मिहिनेतको नतिजा हो सेयरबाट करोडपति । उनले थपे, “यो पुस्तक करोडपतिको कथा होइन, करोडपति बन्न सिकाउने गाइड हो ।”
गरिब धनी बन्न चाहन्छ र धनी झन् धनी बन्न, अर्थात पैसा कमाउने रहर सबैमा हुन्छ । तर, सानो पुँजीबाट धनी बन्न सकिँदैन भन्ने आम बुझाइभन्दा केही फरक सोच पनि राख्न सकिन्छ । हजारबाट लाख हुँदै करोडसम्म पुग्न सेयर बजारलाई ‘भर्जिन ल्यान्ड’ बनाउने आधार हो— सेयरबाट करोडपति । पैसा बनाउन कति, कसरी र कस्तो दुःख गर्ने भन्ने आवश्यकता र अवसरले निर्धारण गर्छ । तर, पैसा कमाउनकै लागि जीवनलाई खण्डहर बनाउनु पर्दैन । दैनिक दुई घन्टा गरिने अध्ययनले वर्तमानमात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ । यसैको सटिक उत्तर हो— सेयरबाट करोडपति ।
पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । पुस्तकको मुल्य ३०० रुपैयाँ रहेको छ ।