September 27th, 2018

‘मानिसहरुको बीमाप्रति चासो एकदम बढ्दै आएको छ’

प्रकाश विक्रम खत्री । जीवन बीमा भनेको एक किसिमको बचत र लगानी दुवै हो । जीवन बीमा जोखिमहरुको बहन गर्ने वित्तीय साधन पनि हो । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन् ती व्यक्तिहरुले हरेक वर्ष पैसा बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै घटना घट्यो भने बीमा कम्पनीहरुले क्षतिपुर्ति बहन गर्दछ । यदि बीमा गरेका व्यक्तिहरुमा तोकिएको समयअवधिसम्म कुनै घटना भएन भने बीमा कम्पनीहरुले प्रतिफलसहित उक्त रकम फिर्ता गर्दछन् । जीवन बीमाले जस्तोसुकै पिडीतलाई पनि डर त्रासबाट मुक्त गराएर सहयोग गर्ने गर्दछ ।

बीमाप्रति आम नागरिकहरुको आकर्षण कम रहेको छ । जसको कारण भनेको बीमा कम्पनीका शाखाहरुको विस्तार हुन नसक्नु हो । ९० प्रतिशतभन्दा बढि विजनेश अभिकर्तामार्फत आउने गर्दछ । ती बीमा अभिकर्ताहरुमा बीमा सम्बन्धी ज्ञानाको अभाव हुन्छ । बीमा सम्बन्धी ज्ञान भएता पनि मानिसहरुलाई बुझाएर भन्न सक्ने क्षमताको अभावका कारण नेपालमा बीमा पहुँच कम भएको हो । 

पछिल्लो समयमा बीमा कम्पनीहरुका शाखाहरु विस्तार हुदै आएका छन् । शाखा बृद्धिभएता पनि बीमा पहुँच भने बढन सकेको छैन । पहिला पहिला सर्वसाधरणहरुमा बीमा कम्पनीहरु आएर के होला, बीमा कम्पनीहरुले के काम गर्लान् त ? भन्ने सबै एक किसिमको जिज्ञासाको विषयवस्तु बनेको थियो । तर, अहिले बीमा गर्ने व्यक्तिहरुको संख्यामा पहिलाको भन्दा बृद्धि भएको छ तर, सोचे जस्तो बृद्धि भएको छैन् । मानिसहरुको बीमाप्रति चासो एकदम बढ्दै आएको छ । बीमा पहुँच पहिलाको भन्दा २५ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरुको व्यापार व्यवसाय बढेको छ । व्यापार व्यवसाय बढ्नु भनेको बीमितहरुको संख्या बढ्नु हो । 

गत आर्थिक बर्षमा ९ वटा कम्पनीहरु मिलेर साढे १३ करोड बीमा शुल्क संकलन गरेका थिए । यो आर्थिक वषमा लगभग साढे १६ अर्ब बीमा शुल्क संकलन गरेका छन् । त्यसमा पनि ९ वटा कम्पनीहरुको राम्रो योगदान छ । लगभग तीन अर्ब त नयाँ कम्पनीहरुको मात्रै योगदान रहेको छ ।

मुलुकको अर्थतन्त्रमा बीमा क्षेत्रले ठुलो प्रभाव पारेको छ । एकातिर रोजगारीको सिर्जना भएको छ भने अर्को्तिर बीमीतले क्षतिपुर्ति पाएका छन् । बीमा कम्पनीहरुले सामाजिक सुरक्षा दिने गर्दछ । बीमा कम्पनीले कुनै घटना घटेपछि क्षतिपुर्ति दिनुको साथसाथै रोग लाग्दा समेत सहयोग गर्दछ । (ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीसँग बैंकिङ खबर डट कमले गरेको कुराकानीमा आधारित)