बैंकिङ खबर । जनता अवकाश कोषको भदौ ३१ गते बसेको कोष संचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७४/७५ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु त्था अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ । साथै, कोषले आर्थिक बर्ष २०७४/७५ मुनाफाबाट कोषमा सहभागी बचतकर्ता÷संचयकर्ताहरुलाई निजहरुको २०७५ असार मसान्तमा कायम रहेको बचत मौज्दातको १% का दरले मुनाफा वितरण गर्ने निर्णय गरेको छ । सो बराबरको रकम सहभागीहरुको सम्बन्धित खातामा असोज १ गते जम्मा गरेको छ ।
आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषको रुपमा स्वीकृतीप्राप्त गरी बि.सं. २०६० सालमा सिद्धार्थ अवकाश कोषको नाममा स्थापना भई सेवा प्रदान गर्दै आइ रहेकोमा गत असार १ गतेबाट कोषको नाम परिर्वतन भई जनता अवकाश कोषको नाममा संचालनमा रहेको छ । कोषले हाल ४५० वटा संगठित संस्थाका १२ हजारभन्दा बढी सहभागीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
जनता अवकाश कोषले कर्मचारीको संचयकोष, अवकाशकोष, उपदानकोष, संचित विदाकोष, कर्मचारी कल्याण कोष र पब्लिक प्रोभिडेण्ड फण्ड अवकाश योजनामार्फत बिभिन्न बैंक, वित्तीय संस्था, अन्य संगठीत संघ, संस्था, प्रतिष्ठान, विद्यालय, उद्योग र करयोग्य आय भएका परामर्शदाता, चिकित्सक, इन्जिनियर, कानून व्यवसायीहरुलाई सेवा प्रदान गरिरहेको छ । कोषले संचालन गरेका अवकाश योजनाहरुमा बार्षिक ८.५०% प्रतिशतका दरले व्याज प्रदान गर्नुका साथै संचित रकमको ९०% प्रतिशत सापटी लिन सक्ने व्यवस्था रहेको छ । कोषले सहभागीहरुलाई सुत्केरी स्यहार खर्च रु. १०,००० र काजक्रिया खर्च रु. १०,०००को व्यवस्था गरेको छ ।
जनता अवकाश कोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडका नेपालभर रहेका सम्पूर्ण शाखाहरुमार्फत कोषको सेवा प्राप्त गर्न सक्नेछन् ।