May 24th, 2016

बिहानी बैँकिङ सेवाको प्रभाव : ‘अन्तिम घडीमा कलेजको फी तिर्न पाएँ’

prabhu bankशिवहरि घिमिरे –  प्रभु बैंकले प्रभातकालीन बैंकिङ सेवा सुरु गरेको थाहा पाएपछि वानेश्वर थापागाउँ बस्ने कपिल गौतम विहानै प्रभु बैंकको ढोका कहिले खुल्ला भनेर कुरिरहेका थिए । स्नातक तहमा अध्ययन गर्दै गरेका उनी कलेजको फी तिर्ने सोमबार अन्तिम दिन भएकाले बैंकबाट पैसा निकाल्नको लागि बैंककोे ढोका कुरेर बसेका थिए । एकैछिनपछि बैंक खुल्यो र उनले पैसा निकाले । बिहानै बैंकिङ सेवा पाएपछि खुशी हुँदै उनले भने ‘१० बजेसम्म जसरी पनि कलेजको फी जम्मा गरिदिनु थियो, त्यसैले अहिले आएर पैसा निकालें । आज मैले १० बजेसम्म कलेज फी नबुझाएको भए, कि मैले जरिवाना तिर्नुपथ्र्यो कि अरु नै कुनै सजायको सामना गर्नुपथ्र्यो ।’ 

prabhu bank 2ग्राहकहरुको यस्तै माग र आवश्यकतालाई ध्यानमा राखेर प्रभु बैंकंले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रभातकालीन बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले ग्राहकहरुको माग र आधुनिक बैंकिङ प्रणालीलाई मध्यनजर गर्दै बैँकले आइतबारदेखि यस्तो सेवा शुरु गरेको हो । दिवा समयमा बैंकसम्म धाउन नसक्ने अथवा अप्ठेरो पर्ने ग्राहकहरुका लागि विहानी सेवा प्रभावकारी मानिएको छ । 

ग्राहकको सुविधालाई ध्यानमा राखी मुख्य शाखा कार्यालय बबरमहलबाट सुरु गरिएको प्रभातकालीन (बिहानी) सेवा अन्र्तगत काउण्टर र निक्षेपका कामहरु सञ्चालन भइरहेका छन्। सेवा शुभारम्भ गरेको पहिलो दिन आइतबार २० जना सेवाग्राहीले बैंकको सेवा लिएका थिए भने दोश्रो दिन पनि त्यतिकै संख्यामा ग्राहकहरुले सेवा लिएको बैंकले जनाएको छ । बिदाका दिन बाहेक आईतबारदेखि शुक्रबारसम्म यो प्रभातकालीन सेवा बिहान ८ बजेदेखि सञ्चालन भइरहेको छ । सुरुमा प्रचारप्रसारको कमीले गर्दा ग्राहकहरु थोरै आएको तर विस्तारै संख्या बढ्दै जाने बैंकको विश्वास छ । 

prabhuबैंकले प्रभातकालीन सेवा सुरु गरेको दोश्रो दिन विहानै बैंकमा पैसा झिक्न पुगेका विजय सापकोटाले प्रभु बैंकले सुरु गरेको प्रभातकालीन सेवाले ठूलो मद्दत पुगेको बताए । उनी भन्छन्, ‘कहिलेकाहिँ बैंकमा कारोबार गर्नुपर्यो भने कार्यालयको काम नै छाडेर बैंकमा जानुपर्दथ्यो । तर अब त्यो झन्झटबाट प्रभु बैंकले मुक्त गरायो ।’

उनी मात्र होइन अनामनगरबाट प्रभातकालीन सेवा लिन आएका शम्भुप्रसाद भट्टले पनि प्रभु बैंकले सुुरु गरेको प्रभातकालीन सेवाबाट आफुलाई फाइदा पुगेको बताए । उनले भने, ‘दिउँसो बैंकमा कारोबार गर्न आउँदा आफ्नो काममा बाधा पुग्थ्यो, भिडभाड पनि उस्तै हुन्थ्यो तर बिहानै बैंक खुलेपछि त्यो झण्झटबाट राहत मिलेको छ ।’

prabhu bank 1प्रभु बैंकले हाललार्ई मुख्य कार्यालयबाट यस्तो सेवा सुरु गरेको छ । ग्राहकहरुको चाप र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले अन्य शाखाहरुबाट पनि यस्तो सेवा सुरु गर्ने जनाएको छ । प्रभातकालीन सेवाबाट दिनभर काममा व्यस्त रहने कर्मचारीहरुलाई सहज हुने र अपर्झट् बैंकमा काम पर्दा केही सहज भएको सेवाग्राहीहरुले बताएका छन् । बैंकले सुरु गरेको विहानी सेवामा ८ जना कर्मचारीहरु खटिएका छन् भने बैंकले आवश्यकता र ग्राहकको चापलाई ध्यानमा राखेर अरु कर्मचारी र सेवा थप गर्दै जाने बताएको छ ।