Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पुँजीवृद्धिको अनुपातमा व्यवसाय बढाउनु चुनौतिपूर्ण

२०७५ श्रावण ३१ गते

हिजोका दिनमा जम्मा रु.२० करोड मात्र पुँजी भएका वित्त कम्पनीहरु आज रु.८० करोडभन्दा बढीको चुक्ता पुँजी कायम गर्न सफल भई सोही अनुरुप आफ्नो जोखिम वहन क्षमतामा समेत वृद्धि गर्न सफल देखिएका छन् । यद्यपि, पुँजी वृद्धिको अनुपातमा नीतिगत दायरा पृ्र्ववत् नै रहनु, केही शीघ्र समयमा नै सोही अनुरुपबाट व्यवसाय वृद्धि नहुनु एवं तरलता अभावबाट कोषको लागतमा वृद्धि भई खुद व्याज आयमा आएको कमीको कारणले संस्थाको प्रतिसेयर आम्दानीमा केही संकुचन देखिनु लगायतका चुनौतिहरु फाइनान्सहरु समक्ष रहेको पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रबि चन्द्र गुरुङ बताउँछन् । यसैबीच, समग्र पोखरा फाइनान्स र समग्र फाइनान्स क्षेत्रको अवस्था समेतलाई समेटेर उनै गुरुङसँग बैंकिङ खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

राष्ट्र बैंकको मर्जर नीति पछाडी फाइनान्स कम्पनीहरु कमजोर देखिएका हुन् ?
प्रथमतः मुलुकमा स्थापित प्रायशः सबै वित्त कम्पनीहरु बैंंक तथा वित्तीय संस्था सम्बन्धी ऐन एवं नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन अन्तर्गत रही उपलव्ध पुँजी तथा क्षेत्र बमोजिम आफ्नो कार्यहरु सफलतापृ्र्वक नै सञ्चालन गर्दै आएका छन् । यसै सन्दर्भमा नियमन निकायबाट बैंक, वित्तीय संस्थाहरु थप सबल र सक्षम होउन् भन्ने असल उद्देश्यका साथ मर्जर नीतिलाई प्राथमिकतामा राख्नुको साथै पुँजी वृद्धिको नीतिलाई समेत अवलम्बन गरिएको छ, यसबाट केही वित्त कम्पनीहरु सहज रुपले मर्जतर्फ आकर्षित हुन सकेका छन् भने केही कम्पनीहरु आफ्नै बलबुतामा थप पुँजी संकलन गर्न सक्षम भई आजको समयमा अझ बढी  सबल र सक्षम हुन पुगेका छन् । हिजोका दिनमा जम्मा रु.२० करोड मात्र पुँजी भएका वित्त कम्पनीहरु आज रु.८० करोडभन्दा बढीको चुक्ता पुँजी कायम गर्न सफल भई सोही अनुरुप आफ्नो जोखिम वहन क्षमतामा समेत वृद्धि गर्न सफल देखिएका छन् । यद्यपि, पुँजी वृद्धिको अनुपातमा नीतिगत दायरा पृ्र्ववत् नै रहनु, केही शीघ्र समयमा नै सोही अनुरुपबाट व्यवसाय वृद्धि नहुनु एवं तरलता अभावबाट कोषको लागतमा वृद्धि भई खुद व्याज आयमा आएको कमीको कारणले संस्थाको प्रतिसेयर आम्दानीमा केही संकुचन देखिनु आदि चुनौती रहेका छन् । तथापि, वित्त कम्पनीहरु आगामी दिनमा आफ्नो उपलव्ध श्रोत र क्षमताका साथै नियमन निकायका नीति, निर्देशनहरुलाई अंगीकार गर्दे अझ बढी सबल तथा व्यवसायिक हुनेछन् भन्नुमा अतिशयोक्ति नहोला ।  

पोखरा फाइनान्सको नयाँ योजनाहरु के के छन ? कहाँ कहाँ सेवा विस्तार गर्दै हुनुहुन्छ ?
पोखरा फाइनान्सको आजको मितिमा करिब रु.४ अर्ब ४४ करोड निक्षेप तथा करिव रु.४ अर्ब कर्जा कायम गर्न सफल भएको छ । यस वित्तीय संस्थाले सदाझैं सन्तुलित एवं दिगो रुपले व्यवसायिक वृद्धि गर्दै आएको छ र आगामी दिनमा संस्थागत क्षमतालाई मध्यनजर गरी निक्षेप संकलन तथा कर्जा लगानीलाई उच्च गतिमा बढाउंदै लैजाने योजना अनुरुप ग्राहक सेवामा वृद्धि हेतु निक्षेप तथा कर्जामा नवीन योजनाको साथै मोबाइल बैकिङ्ग, एटिएम, अन्तर बैंक भुक्तानी सुविधा, लकर, सीआस्वा लगायतका विभिन्न सेवाहरु सञ्चालनमा आईसकेका छन् । हाल केन्द्रीय कार्यालयसहित १४ वटा शाखाहरु र केही एटीएम मार्फत् आधुनिक बैकिङ्ग सेवा प्रवाह भईरहेकोमा अब छिट्टै ने.रा. बैंकको स्वीकृतिमा थप ७ वटा शाखाहरु विस्तार गर्ने योजना रहेको छ, र यसबाट शाखा सञ्जाल विस्तारको अलावा व्यवसायिक विकास अझ विस्तारित हुने अपेक्षा गरेको छु ।

पुँजी बृद्धिको योजना के भैरहेको छ ? मर्जरमा जाने अरुलाई खरिद गर्ने वा अरु कुनै वित्तीय संस्थामा गाभिने योजना छ कि छैन ?
नेपाल राष्ट्र बैंकले मुलुकमा स्थापित बैंक, वित्तीय संस्थाहरुको लगानी तथा जोखिम वहन क्षमता आदि वृद्धि गरिने उद्देश्यले मर्ज एवं पुँजी वृद्धिको नीतिलाई महत्व दिए अनुरुप केही बैंक, वित्तीय संस्थाहरुले मर्ज अंगालेका र कतिपयले तोकिए बमोजिमको चुक्ता पुँजी कायम गरिसकेका छन् र यसमा पोखरा फाइनान्सले पनि एफपिओ र हकप्रद समेत गरी रु. ८१.६४ करोड पुर्याई आफ्नो पुँजी यथासमयमा नै कायम गर्न सफल भईसकेको अवगत नै छ । यसै अनुरुप वित्तीय संस्थालाई अझ सबल र सक्षम बनाउन आ.व. २०७४/७५ को मुनाफाबाट समेत बोनस सेयर घोषणा गरेका छौँ र यस वित्तीय संस्थाको पुँजीलाई आगामी दिनमा समेत निरन्तर रुपले बृद्धि गर्दै लैजाने नीति हामीले लिएका छौं । हालमा यस वित्तीय संस्थाको मर्जरमा जाने, अरुलाई खरिद गर्ने वा अन्य कुनै पनि संस्थामा गाभिने योजना रहेको छैन, तथापि भविष्यमा उपयुक्त बैंक, वित्तीय संस्थासंग मर्जमा जान वा अन्य संस्था समेत खरिद गर्ने सम्बन्धमा वित्तीय संस्था पछि नरहेको समेत स्पष्ट गर्न चाहान्छौं । 
 
फाइनान्स कम्पनिहरुमा लगानीयोग्य पुँजीको अवस्था कस्तो छ ?
मुलुकमा स्थापित वित्त कम्पनीहरुको पुँजीगत क्षमताको आधारमा प्रायशः कम्पनीहरुको लगानीयोग्य पुँजी करिव करिव समान हैसियतमा रहेको भएतापनि वृहत परियोजनाहरुमा लगानी गर्न सक्ने पुँजी सन्दर्भमा अझै पनि वित्त कम्पनीहरु केही पछि परेको महसुस गरेका छौं । हाम्रो हकमा भन्नुपर्दा केही समय अघिको एफपिओ, हकप्रद समेतबाट थप पुँजी संकलन भएको र तत्कालै लगानी नभईसकेकोले अहिले हाम्रो कर्जा निक्षेप अनुपात करिव ७० प्रतिशतको हाराहारीमा रहेको छ जुन केही समय अगाडि देखिएको तरलता अभावमा समेत ७५ प्रतिशतको करिव रहेकोले केही राम्रा लगानीका अवसरहरुबाट लाभ लिन सक्षम भएका थियौं । अतः कम्पनीहरुको पछिल्लो समयमा पुँजीस्थिति बढ्नुको साथै विप्रेषण र सरकारी खर्चहरुमा समेत वृद्धि भई समग्रमा पुँजी परिचालनतर्फ प्रगतिन्मृ्ख स्थिति रहेकोले हाल बजारमा निक्षेप केही सहज भएबाट हाल फाइनान्स कम्पनीहरुसँग लगानी योग्य पुँजी कम्पनीको हैसियत अनुसार उल्लेख्य रहेको प्रतित भएको छ ।

फाइनान्स कम्पनिहरु बाणिज्य बैंक, विकास बैंक र माइक्रोफाइनान्सहरुको चेपुवामा पर्दै गइरहेको जस्तो देखिन्छ नि, खासमा के हो ?
नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक, वित्तीय संस्थाहरुलाई आधार व्याजदर भन्दा कममा कर्जा लगानी नगर्न परिपत्र जारी गरेको कारणले फाइनान्स कम्पनीहरुलाई केही हदसम्म सहज भएको छ । यसर्थमा पोखरा फाइनान्सको हकमा भन्नुपर्दा आजको मितिमा धेरै वाणिज्य बैंक र बिकास बैंकको भन्दा आधार दर हाम्रो कम वा करिव करिव समान रहेको छ र हामी पनि वाणिज्य वा विकास बैंककै व्याजदरकै सेरोफेरोमा कर्जा लगानी गरिरहेका छौं भने निक्षेपमा दिने व्याजमा समेत तुलनात्मक रुपले अव्वल नै देखिएका छौं । यद्यपि, पछिल्लो समय वाणिज्य बैंक, विकास बैंक र माइक्रोफाइनान्सहरुले आक्रामक रुपमा शाखा विस्तार गरिरहँदा त्यसबाट केही असर वित्त कम्पनीमा समेत देखिनुलाई स्वभाविक नै मानेका छौं र सोही अनुरुप आफ्नो क्षमता विस्तारमा समेत ध्यान दिंदै व्यवसाय वृद्धितर्फ अभिप्रेरित भई लागि परेका छौं । 

फाइनान्स कम्पनीप्रति सर्बसाधारणको आकर्षण कतिको छ ?
नेपाल राष्ट्र बैंकद्वारा स्वीकृत प्राप्त मुलुकका सबै फाइनान्स कम्पनीहरुप्रति सर्वसाधारणको राम्रो विश्वास रहेको पाईएको छ । पोखरा फाइनान्सको बारेमा भन्नुपर्दा वि.सं. २०५३ साल देखि अनवरत रुपमा ग्राहकसेवा वा वित्तीय कारोबार गरिरहेको यस संस्था हाल पोखरामा केन्द्रीय कार्यालय रहेको एक मात्र फाइनान्स कम्पनी हो । हामीसँग विगत लामो समयदेखि कारोबार गरिरहेका ग्राहकहरु प्रशस्त हुनुहुन्छ । हामी हाम्रा ग्राहक महानुभावहरुमा छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेका छौं साथै ग्राहकवर्गको चाहना अनुरुप विभिन्न आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै उनीहरुको सृ्चना श्रोत र तथ्याङ्क प्रणालीको सुरक्षाप्रति हरदम संवेदनशील रहेका छौं । साथै, समग्रमा वित्त कम्पनीहरुबाट आम नागरिकहरुले प्राप्त गर्न सकेको सहज वित्तीय सेवाको कारण वित्त कम्पनीहरुको व्यवसायिक भविष्य आगामी दिनमा थप उज्ज्वल रहने विश्वास लिएका छौं र कम्पनीप्रति सर्वसाधारणको आकर्षण दिनानुदिन बढ्दै गईरहेको पाएका छौं ।

Ad