August 6th, 2018

बीमा कम्पनी थपिएर व्यवसायमा असर पर्दैन

बीमाको सुरुवात भएको लामो समय भइसक्दा पनि नेपालमा बीमाको पहुँच विस्तार हुन सकिरहेको छैन । जोखिम परेको अन्तिम अवस्थामा मात्रै बीमाको आवश्यकता महशूस गर्ने र जोखिम कम हुनेवित्तीकै विर्सिने नेपालीहरुको प्रवृत्तिका कारण बीमाको पहुँच विस्तार हुन नसकेको युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई बताउँछन् । बीमाको पहुँच विस्तार हुन नसक्नुमा कम्पनीहरुको भन्दा पनि सर्वसाधारणको नै कमजोरी रहेको उनको भनाई छ । हेरौँ, उनै भट्टराईसँग बैंकिङ खबर डट कमका लागि सहकर्मी विजय पराजुलीले गरेको कुराकानीको सम्पादित अंशः 

सर्वसाधारणले बुझ्ने भाषामा इन्स्योरेन्स भनेको के हो, बताइदिनुस न ?
सामान्य भाषामा बीमा भनेको जोखिमलाई स्थान्तरण वा सार्नु हो । कुनै चिज वा वस्तुमा जोखिम धेरै देखियो भने त्यो जोखिम बीमा कम्पनीमा सार्ने काम नै जनरल इन्स्योरेन्सको हो । त्यो जोखिम सारे बापत केही रकम बीमा कम्पनीले लिन्छ । जोखिमको प्रकार र बीमा गरिएको अवधिका आधारमा जोखिमबाट भएको क्षतिपूर्ति बीमा कम्पनीले गर्छ । बीमामा दुई पक्ष हुन्छ । प्रथम पक्षले म तपाईहरुको यो समयदेखि यो समयसम्म, यस्तो यस्तो खालको जोखिम भयो भने बहन गर्छु भनेर एउटा प्रपोजल दिएको हुन्छ । द्धितीय पक्षले ती जोखिमहरुलाई हस्तान्तरण गर्छ । कतिपय जोखिमहरु देखिने हुन्छन् भने कतिपय जोखिमहरु नदेखिने खालका हुन्छन् । कतिपय जोखिमहरुलाई आफ्नै फिजिकल रुपले घटाउन सकिन्छ । तर, जति घटाए पनि कतिपय जोखिमहरु घट्दैनन् । ती आफुले घटाउन नसकेको जोखिमहरु इन्स्योरेन्स कम्पनीलाई हस्तान्तरण गर्नुपर्छ । जोखिमलाई पूर्ण रुपमा निर्मूल पार्न नसकेपनि बीमा कम्पनीले केही हदसम्म जोखिम कम गर्न मद्दत गर्छन् । 

पछिल्लो समयमा इन्स्योरेन्सहरुको संख्या बढिरहेको छ । इन्स्योरेन्सहरुको संख्या बढ्दा प्रतिष्पर्धामा कस्तो प्रभाव पर्छ ? 
जति इन्स्योरेन्सहरुको संख्या बढेतापनि विजनेसको आकार त्यही नै हुन्छ । पहिलाको भन्दा विजनेसको आकार अहिले बढेको छ । गत वर्षको भन्दा अहिलेको विजनेस १६ प्रतिशतले बृद्धि हुँदै आएको छ । अब २०७५/७६ मा पनि विजनेसको आकार १५ प्रतिशत देखि १८ प्रतिशतसम्म मात्रै बढ्छ । हाल निर्जिवन बीमा कम्पनिहरु २० वटा पुगेका छन् । अबका दिनमा नयाँ सिटी तथा उद्योगधन्दाहरुको विकास हुने हुँदा कारोबार बढ्दै जान्छ । 

बीमा समितिले बीमा कम्पनीहरुलाई पुँजी बढाउन निर्देशन दिएको छ । तर, पुँजी बढ्दैमा विजनेस बढ्ने हुँदैन । सबै बीमा कम्पनीहरुलाई कति विजनेसको फिगरमा बस्ने भन्ने कुरामा चुनौती छ । एक अर्ब पुँजी पुग्दा विजनेसको साइज कतिमा राख्ने भन्ने कुरा महत्वपुर्ण हुन्छ । विजनेस साइज कम लिएर बसेका तर एक अर्ब पुर्याइसकेका कम्पनीलाई अफिस चलाउन गाह्रो हुन्छ । ५०।६० करोडको प्रिमियम त कर्मचारी पाल्नलाई मात्र ठिक हुन्छ । त्यसैले बीमा कम्पनीहरुले पुँजी बढाएसँगै विजनेस पनि विस्तार गर्दै लैजानुपर्छ ।

नेपालमा बीमाको पहुँच विस्तार गर्न के गर्नुपर्छ ?
बीमाको पहुँच नेपालको सन्दर्भमा कम नै छ । यसमा सबैभन्दा महत्वपुर्ण भनेको जनचेतना हो । सर्वसाधारणहरुले बीमा भन्ने कुरा बाहिरी रुपबाट बुझेका छन् । तर बीमा गर्दा के फाइदा हुन्छ भन्ने चेतनाको अभाव भइरहेको छ । यसकारण सर्वसाधरणहरुलाई बीमा महत्वको ज्ञानमा कमी भएर सबै मानिसहरु बीमा पहुँचमा पुग्न नसकेका हुन् । 

त्यस्तै, बीमा कम्पनीहरुमा आबद्ध भएका कर्मचारीहरुमा पनि बीमा ज्ञानको अभाव छ । उनीहरुलाई बीमा भनेको मात्र थाहा छ । मानिसहरुलाई बीमा गर्दाको फाइदाको बारेमा सर्वसाधरणहरुलाई बुझाएर भन्न सक्ने क्षमताको पनि कमी भएको कारण बीमा पहुँच कम भएको हो । त्यसकारण बीमा क्षेत्रमा बीमा सम्बन्धी राम्रो ज्ञाना भएको मानिसले जनचेतना फैलाउने खालको विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक छ । 

व्यवसाय विस्तारका लागि बैंक र इन्स्योरेन्स बीच विभिन्न सम्झौता हुने गरेको छ । बैंक र बीमाबिचको सम्बन्ध के होला ? 
बैंक र इन्स्योरेन्स एक अर्कोका अन्तरसम्बन्धित पाटो हुन् । कुनै ठाउँमा शाखा खोल्नुपर्यो भने बीमा कम्पनीहरुले विभिन्न अध्ययन गर्छन् । त्यस ठाउँमा व्यवसाय राम्रोसँग चल्छ कि चल्दैन ? कति विजनेस हुन्छ वा हुदैन ? यो सबै विषयमा अध्ययन गर्ने मापदण्ड भनेको नै बैंक हो । त्यस ठाउँमा कति वटा बैंकहरु छन्, फाइनान्स कम्पनीहरु कति वटा छन्, तीनीहरुले अहिलेसम्म कति लोन दिए, कस्तो कस्तो लोन दिए, यो सबै कुराको लेखाजोखा बेंकबाट लिइन्छ । यसकारण इन्स्योरेन्स कम्पनिहरुलाई बैंकको आवश्यकता छ । त्यसैगरि बैंकका लागि पनि इन्स्योरेन्स एकदम महत्वपुर्ण छ । किनभने इन्स्योरेन्स नगरेको प्रोपर्टिलाई बैंकले लोन दिँदैन वा बैंकले त्यस्तो इन्स्योरेन्स नगरेको सम्पत्तिको धितो राख्दैन । बैंकलाई चाहिने पोलीसीहरु इन्स्योरेन्सहरुले बनाउने हुनाले बैंकको लागि इन्स्योरेन्सको महत्व धेरै छ । 

नेपालमा भुकम्प जस्तो प्राकृतिक प्रकोप जाँदा पनि धेरै बीमा भएको पाइएन । बीमा कम्पनीहरुले आम नागरिकहरुलाई बीमा बारे बुझाउनै नसकेका हुन् त ?
बीमा कम्पनीहरुले बीमाको महत्वलाई बुझाउन नसकेका हैनन्, बुझाउन सक्छन् । तर नेपाली समुदायमा विपद आइसकेपछि मात्रै सतर्क हुने प्रचलन छ । जस्तै, भुकम्पको समयमा त्रसित भएर मानिसहरु इन्स्योरेन्स कम्पनी धाइरहेका थिए । तर, जब त्यो त्रास कम हुँदै गयो, नागरिकहरुले पनि बीमा गर्नुपर्ने कुरा विर्सँदै गएका छन् । भुकम्प गएको समयमा जसरी अहिले आम नागरिकहरुले बीमाबारे चासो देखाएका छैनन् । आम जनताहरुले जोखिम जहिले पनि जति बेला पनि हुन सक्छ भन्ने कुरालाई बिर्सिएका छन् । त्यसैले, यहाँ बीमा कम्पनीहरुको भन्दा बढी सर्वसाधारणहरुकै कमजोरी छ जस्तो मलाई लाग्छ ।

युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजीको अवस्था कस्तो छ ? मर्जरमा जाने नीति ल्याउने अवस्था के छ ?
युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी अहिले ३० करोड २४ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेर एक अर्ब पुँजी पुर्याउने हाम्रो योजना छ । ४/५ बर्ष पछिको सिनारियो हेर्ने हो भने कोसँगको गाभिने र लिड कसले गर्ने भन्ने कुरा आउँछ । त्यस्तै, विजनेस कुन फिगरको साइजबाट बस्ने भन्ने कुरा पनि महत्वपुर्ण हुन्छ । तर, अहिलेको अवस्थामा सबै बीमा कम्पनीहरुलाई इगो छ । कुनै पनि बीमा कम्पनीहरु मर्जमा जाने अवस्था आएको छैन । तर, कुनै कम्पनी हामीमा मर्जरमा आउँछन् भने पनि हामी खुला छौँ । साथै, कुनै विदेशी कम्पनी पार्टनरको रुपमा आउँछन् भने पनि हामी खुला छौँ ।

ग्रामीण क्षेत्रमा बीमाको पहुँच विस्तार गर्न युनाइटेड इन्स्योरेन्सले कस्तो योजना बनाएको छ ? 
पछिल्लो दिनहरुमा बीमा कम्पनीहरुले शाखा विस्तार कार्यलाई आक्रामक ढंगले अगाडी बढाउँदै आएका छन् । सबै बीमा कम्पनीहरुले सात वटै प्रदेशमा शाखा विस्तार तीव्र रुपमा गरेका छन् । साथै ७ वटै प्रदेशमा १।१ वटा रिजनल अफिस राख्ने काम पनि सुरु गरेका छन् । सबै प्रदेशमा रिजनल अफिस भएपछि विजनेस फिगर पनि बढी नै हुन्छ । एउटा प्रदेशमा एउटा रिजनल अफिस भएपछि त्यो रिजनलले गाउँ गाउँमा प्रचार प्रसार नगर्ने भन्ने हुँदैन । बीमा पहुँच विस्तार गर्नका लागि बीमा कम्पनीहरुले गाउँ गाउँमा जनचेतना फैलाउने विभिन्न कार्यक्रमहरु राखेका छन् । 

युनाइटेड इन्स्योरेन्सको बीमा योजनाहरु के के छन् ? 
अन्य बीमा कम्पनीहरुले जारी गरेको सबै पोलीसिहरु युनाइटेड इन्स्योरेन्सले पनि जारी गरेको छ । सामुन्द्रीक बीमा, स्वास्थ्य बीमा, सम्पति बीमा, अग्नी बीमा, मोटर बीमा लगायतका पोलीसीहरु युनाइटेडले जारी गरेको छ ।

इन्स्योरेन्स कम्पनीहरुले दाबी भुक्तानी ढिलो गर्छन् भन्ने गुनासो आउने गरेको छ । भुक्तानी ढिलो हुनुको कारण के हो ?
सकेसम्म इन्स्योरेन्स कम्पनीहरुले दाबी भुक्तानी दिन ढिला गर्दैनन् । दाबी भुक्तानीका लागि बीमा कम्पनीले जति ढिला गर्छन्, उती नै उनीहरुलाई घाटा हुन्छ । बीमा कम्पनीहरुले दाबी भुक्तानी दिएन भने सिधै संख्या घटेको हुँदैन । त्यस कम्पनीको आउटस्डान्डीङ क्लेम राख्दा इन्स्योरेन्स कम्पनीले त्यसलाई प्रोभिजन राख्नुपर्छ । प्रोभिजन राख्नु भनेको कम्पनीको प्रोफिटबाट रकम घट्नु हो । अबको विजनेस भनेको क्लेम बेस विजनेस हो । क्लेम जुन बीमा कम्पनीले दिन्छ, त्यसमा नै बीमा गर्न सर्वसाधारणहरु आतुर हुन्छन् । क्लेम नै दिएन भने बजारबाट ग्राहक उठाउँछु भन्नु एउटा भ्रम मात्रै हो । 

अन्त्यमा केही भन्न चाहानुहुन्छ कि ?
नेपालको बीमा क्षेत्र खराब पनि छैन । अहिले नेपालमा बीमाको बजार सानो छ । तर, विदेशी मल्टिनेशनल कम्पनीहरु नेपाल आउन इच्छुक छन् । बीमा कम्पनीहरुको बजारलाई फराकिलो बनाउनका लागि बीमा कम्पनीहरु सक्षम भएर अगाडी बढ्नुपर्छ । बीग मर्जरमा गएर कम्पनीहरुलाई सबल बनाउनुपर्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]