July 20th, 2018

नेपालको बैंकिङ क्षेत्रका अवसर र चुनौतीहरु

डा. गोपाल भट्ट । नेपालमा बैंकिङ क्षेत्रमा अहिले धेरै अवसरहरु छन् । विगतमा राजनीतिक अस्थिरताका कारणले धेरै अवसरहरु खुम्चिएका थिए । अहिले राजनीतिक स्थीरता कायम भएको छ । देशले स्थायी सरकार भएको छ । संविधान बनेको छ । अब देशको राजनीतिले साँच्चै स्थीर मोड लिएको हो भने बैंकिङ क्षेत्रका लागि अझ धेरै अवसरहरुको विकास हुन्छ । 

लगानीको सम्भावना बढ्दै
राजनीतिक पार्टीहरुले पनि आर्थिक विकास, समृद्धि अथवा अर्थतन्त्रलाई नै मूख्य एजेण्डा बनाएका छन् । 
अर्थतन्त्र विकासका लागि इनभेष्टमेन्ट चाहिन्छ र लगानी गर्ने अनुकुल वातावरण चाहिन्छ । मुलुकमा लगानी गर्ने एउटा इन्स्टिच्युटहरु हुन् भने अर्को वित्तीय संस्थाहरु नै हुन् । लगानीको वातावरणलाई सुनिश्चित गर्ने हो भने र आर्थिक समृद्धि साँच्चै चाहेको हो भने नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु छन् । नेपालमा क्यापिटल मार्केटको विकास राम्रोसँग नभइसकेकाले बैंकिङ क्षेत्र नै मुलुकको विकासको प्रमुख आधार हो । माग अनुसार लगानी बढ्ने र बैंक तथा वित्तीय संस्थाहरुको लगानी क्षेत्र पनि बढ्ने हो भने सम्भावनाहरु प्रशस्त छन् । राजनीतिक स्थीरता कायम राख्दै सरकारले निजी क्षेत्रलाई परिचालन गर्न सक्यो भने बैंकिङ क्षेत्रका लागि अवसर बढ्ने समय आएको छ ।

वित्तीय क्षेत्रका वर्तमान चुनौतीहरु
वित्तीय क्षेत्रको सबैभन्दा ठुलो चुनौती भनेको ओभर साइड हो । मागहरु आएअनुसार सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी गर्न दिन्छ । तर, नियामक निकाय नेपाल राष्ट्र बैंकको ओभरसाइड कमजोर भएको र क्षमता अभिवृद्धि नभएका कारण चुनौतिपूर्ण बनिरहेको छैन । 

विश्वका धेरै प्रविधिहरु भित्रिसकेका छन् । नेपालको वित्तीय क्षेत्र अर्थतन्त्रसँग जोडिसकेको छ । तर, नेपाल राष्ट्र बैंकले सबै टेक्नोलोजीलाई ओभरसाइड गर्न सकेको देखिँदैन । लगानी गरेको पैसा कहाँबाट आएको छ ? लगानी गर्न लागेको पैसा कतै कालो धन पो हो कि ? लगानी गरिएको रकम स्वदेशमा रहेको छ भने बाहिर गइरहेको छ ? लगायतलाई हेर्ने मेकानिजम छ कि छैन ? त्यो क्षमता छ कि छैन ? सबैभन्दा पहिले यसलाई बुझ्नु जरुरी छ । 

वित्तीय क्षेत्रमा सानो गल्ती भयो र कुनै घटना घट्यो भने त्यसको असर सम्बन्धित संस्थामा मात्र नभएर अन्य क्षेत्रहरुमा पनि पर्न जान्छ । उक्त संस्थाको सिस्टमप्रति अविश्वास त पैदा हुन्छ नै समग्र अर्थतन्त्रलाई समेत धक्का लाग्न पुग्छ । त्यसैले, क्रेडिबिलिटी रिस्क पनि वित्तीय क्षेत्रको ठूलो चुनौती हो । 

समाधानका उपायहरु
वित्तीय क्षेत्रका समस्या समाधानका लागि काम गर्नुभन्दा पहिले त योजना नै बनाउनुपर्छ । हरेक नीतिहरु अध्ययनको आधारमा ल्याउनुपर्छ । किनकि, अध्यानबिनाका नीतिहरु असफल हुन्छन् । त्यस्तै, केन्द्रीय बैंक र सरकारको क्षमता अभिबृद्धि गर्नुपर्छ । मेनपावरहरुलाई बढीभन्दा बढी दक्ष बनाउनुपर्छ । कर्मचारी नियुक्त गर्दा प्राविधिक ज्ञान लगायतका विषयमा ध्यान दिनुपर्छ । अहिले कुन ठाउँमा कस्तो मान्छे राख्ने भन्ने कुरा नै नमिलिरहेको अवस्था छ । जस्तै, कुनै शिक्षकलाई पुँजी बजारमा लगेर राखिदियो भने त्यसको आउटपुट के हो ? त्यसैले, दक्षताका आधारमा उचित व्यक्तिलाई उचित पद र जिम्मेवारी दिनुपर्छ । राजनीतिक नियुक्तिका पदहरु बनाएर कर्मचारी राख्दा अहिले देशको आर्थिक अवस्था दिनानुदिन नकारात्मकतिर गइरहेको छ । प्रोफेशनालिजम भन्ने कुराको कदर नै भएको छैन । पुँजी बजारमा पुँजी बजारको विज्ञ, बीमा समितिमा बीमा विज्ञ राख्नुपर्छ । तब मात्र उनीहरुले उक्त क्षेत्रका लागि राम्रो काम गर्छन् । फलस्वरुप, सम्बन्धित संस्थालाई मात्रै नभएर सर्वसाधारण र आखिरमा समग्र मुलुकलाई समेत फाइदा पुग्छ । (बैंकिङ विज्ञ तथा नेपाल राष्ट्र बैंकका तत्कालीन कार्यकारी निर्देशक डा. भट्टसँग बैंकिङ खबरले गरेको कुराकानीमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]