बैंकिङ खबर । बैंकिङ क्षेत्रमा व्याजदर, तरलता लगायतका समस्या बढिरहेको अवस्थामा आगामी आर्थिक वर्ष २०७५।७६ मौद्रिक नीति आउँदैछ । नेपाल राष्ट्र बैंकले आज दिउँसो मौद्रिक नीति सार्वजनिक गर्दैछ । यो मौद्रिक नीतिबाट बैंकिङ क्षेत्रले थुप्रै आशा गरेको छ । मौद्रिक नीतिले निम्न विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने भएको छः
ओभरड्राफ्ट कर्जामा कडाई
नेपाल राष्ट्र बैंकले बैंकहरुले दिने ब्यक्तिगत ओभरड्राफ्ट कर्जामा कडाइ गर्ने भएको छ । अहिले बैंकहरुले ७५ लाख रुपैयाँसम्म व्यक्तिगत ओभरड्राफ्ट ऋण दिन पाउँछन् । राष्ट्र बैंक स्रोतका अनुसार यसलाई घटाएर ५० वा ६० लाख रुपैयाँमा झार्न लागिएको हो ।
उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि
सरकारले बजेटमा लक्ष्य गरेको आर्थिक वृद्धि प्राप्त गर्नका लागि उत्पादनमूलक क्षेत्रमा ठूलो मात्रामा कर्जा विस्तार गर्नुपर्ने भएकाले अन्य क्षेत्रलाई कडाइ गर्दै आगामी मौद्रिक नीतिले उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तारमा जोड दिने भएको छ । थप नयाँ उत्पादनशील क्षेत्रको पहिचान गरी २५ प्रतिशतको सीमालाई बढाएर ३० प्रतिशत पुर्याइने बुझिएको छ ।
शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट कर्जा
शैक्षिक प्रमाणपत्र धितो राखेको बैंकबाट ऋण पाइने ब्यवस्था मिलाइने भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले गत जेठ १५ गते ल्याएको बजेटमा शैक्षिका प्रमाणपत्र धितोमा बैंकबाट सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने घोषणा गरेका थिए । सरकारको यो घोषणालाई कार्यान्वयन गर्न मौद्रिक नीतिमार्फत नीतिगत व्यवस्था गर्न लागिएको हो ।
स्प्रेड दर परिवर्तन
नेपाल राष्ट्र बैंकले पाँच बर्षपछि निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर ९स्प्रेड० दर घटाउने भएको छ । मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले पाँच प्रतिशत रहेको स्प्रेड दरलाई ४।८ प्रतिशतमा झार्न लागेको छ । पाँच बर्षे वित्तीय क्षेत्र विकास रणनीति’ अनुसार स्प्रेड दर ४।८ प्रतिशतमा झार्ने घोषणा गर्न लागिएको हो । आधार ब्याज दरमा जोडिने प्रिमियम ब्याजका बारेमा पनि राष्ट्र बैंकले आवश्यक व्यवस्था गर्नेछ ।
मर्जर स्वेच्छिक
राष्ट्र बैंकले मर्जरलाई स्वेच्छिक रुपमा अगाडि बढाउने छ । मौद्रिक नीतिमा बाणिज्य बैंकहरुबीच हुने मर्जरलाई प्रोत्साहित गरिने ब्यवस्था समेटिनेछ ।
हेज फण्डको व्यवस्था
मौद्रिक नीतिमा हेजिङ फण्डको व्यवस्था गरिने भएको छ । विदेशी बैंकबाट ऋण ल्याएर नेपालमा कर्जा प्रवाह गर्दा महँगो पर्ने भएपछि नेपाल राष्ट्र बैंकले नै ’हेजिङ फण्ड’ स्थापना गर्ने भएको हो ।
लिबोर दर
राष्ट्र बैंकले लिबोर दरमा तीन प्रतिशतसम्म थपेर ऋण लिन पाइने व्यवस्था गरेको छ । अहिले लिबोर दर साढे दुई प्रतिशत छ । यसमा तीन प्रतिशत प्रिमियम थप्दा ब्याज साढे पाँच प्रतिशत पुग्छ ।
अन्य
राष्ट्र बैंकले शेयर धितो कर्जाका बारेमा पनि आवश्यक व्यवस्था गर्ने छ । त्यस्तै, संस्थापक निक्षेपको हकमा पनि सम्बोधन गरिनेछ । बाणिज्य बैंकहरुको ठूला शाखाहरुको अनिवार्य रुपमा छुट्टै लेखापरीक्षण गर्ने नीति पनि ल्याउने भएको छ ।