June 30th, 2018

लघुवित्त क्षेत्रमा सदस्यता परित्यागको समस्या : यस्ता छन् कारणहरु

दमन प्रसाद पोखरेल । लघुवित्तीय सेवा दिने नेपालका प्रायः सबै बैंक तथा वित्तीय संस्थाहरुमा सदस्यता त्याग गर्ने विषयले एउटा ठुलो समस्याको रुप लिँदै गएको छ । त्यसले समाजमा लघुवितप्रति नै नकारात्मक सन्देश दिइरहँदा यसलार्ई रोक्नु निकै नै चुनौतिपूर्ण बन्दै गइरहेको छ । सदस्यहरुले किन लघुवित्तको सदस्यता त्याग गर्छन भन्ने विषयमा सोच्नुपर्ने बेला आएको छ । नेपालमा अझै पनि कतिपय स्थानमा लघुवित्त सेवा पुग्न सकेका छैनन् । दुर्गम भेगका कतिपय जनताले लघुवित्त सेवा लिन पाइरहेका छैनन् । लघुवित्त सेवा दिने बैंक तथा वित्तीय संस्थाहरु किन दुर्गम भेगमा गएर लक्षित वर्गलार्ई सेवा दिइरहेका छैनन् ? त्यस्ता बर्गलाई लगानी गर्दा सायद लघुवित कार्यक्रमले छिटो प्रतिफल वा नाफा नदिने र दुर्गममा जादा संस्था घाटामा जाने हुनाले कोहीपनि त्यस ठाँउमा सेवा दिन जाँदैनन् । राष्ट्र बैंकले दुर्गममा जाने बैंक वा संस्थालाई धेरै छुट दिएको समाचारहरु आउँछन् । तर पनि जानेवाला छैनन् – बैंक तथा वित्तीय संस्था ।

सहरी क्षेत्रका सदस्य छोड्दैछन् लघुवित्त
लघुवित कार्यक्रममा गाउँभन्दा शहरी क्षेत्रका सदस्यले बैंक छोड्ने क्रम बढेको छ । यसलार्ई रोक्न कर्मचारी हर सम्भव लागि परेका छन् । तर पनि ग्राहकले सदस्यता त्याग गरी रहेका छन् । एकजना ग्राहकले बैंक छोड्नु भनेको ४ जनाले छोड्नु जस्तै हो । किनकि उनीहरुको परिवारमा कम्तिमा ४ जना हुन्छन् र तीन सबै जना लघुवित्त कार्यक्रमप्रति नकारात्मक बन्छन् । यस्तो अवस्थामा लघुवितको भविष्य के होला ? पछिल्लो पिढिले लघुवितको बारेमा के सोच्लान् ? कसरी उनीहरुलाई सकारात्मक बनाई कार्यक्रममा सहभागी गराउने भन्ने विषय चुनौतिपूर्ण बन्दै गएको छ । त्यसैले, लघुवित्त कार्यक्रम संचालन गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो पिढीलार्ई लघुवित कार्यक्रममा समावेश गराउन के गर्न सकिएला भनेर अहिले नै सोच्नुपर्ने देखिन्छ ।

सदस्य वा ग्राहक भनेको के हो ?
एउटा ब्यक्ति, संस्था अथवा अन्य कुनै परिचय भएको व्यक्ति जसले अन्य कुनै ब्यक्ति, संस्थाले उत्पादन गरेको वस्तु तथा सेवा खरिद गर्दछ र उपभोग गर्दछ भने त्यस्ता ब्यक्ति, संस्थालार्ई ग्राहक भनिन्छ ।

सदस्य वा ग्राहक सेवा भनेको के हो ?
सदस्य वा ग्रहक सेवा भनेको कुनै पनि संस्थाको ग्राहकको आवश्यकता र इच्छा अनुसारको सेवा प्रदान गर्न सक्ने क्षमता हो वा नियमित र सजिलो तरिकाबाट  सदस्यको अपेक्षा पुरा गर्ने बैंकको क्षमता हुनु तथा सो अनुसार सेवा प्रदान नै राम्रो ग्राहक सेवा हो ।

सदस्य वा ग्राहक रेखदेख भनेको के हो ?
ग्राहक रेखदेख भन्नाले बैंक वा वित्तीय संस्थामा आवद्घ सदस्यहरुलार्ई अधिकतम सन्तुष्टि दिने पद्घति नै सदस्य वा ग्राहक रेखदेख भनिन्छ ।

किन त्याग गर्छन् सदस्यता ?
सबै लघुवित बैंक तथा वित्तिय संस्थाले आफ्नो ग्राहकलार्ई अधिकतम सन्तुष्टि दिने सेवा प्रदान गरेको जानकारी आईरहेको छ । तरपनि एक अध्ययनले ग्राहकले लघुवित संस्था वा बैंकमा सन्तुष्टि प्राप्त गरेपनि  निम्न कारणले सदस्यता त्याग गर्छन् भन्ने देखाउछ ।

 १ प्रतिशत सदस्य मुत्यु भएर ।
 ३ प्रतिशत सदस्य भागेर वा वसाई सरेर ।
 ५ प्रतिशत अन्य नयाँ सम्बन्धको कारणले ।
 ९ प्रतिशत प्रतिष्पर्धी संस्थाको कारणबाट ।
 १४ प्रतिशत वस्तुसेवा प्रतिको असन्तुष्टिको कारणले ।
 ६८ प्रतिशत कर्मचारीबाट हुने अनपेक्षित ब्यबहारले ।

अध्ययनले के देखाउँदछ भने सदस्यहरु बैंक तथा वित्तीय संस्था छोड्ने १ प्रतिशत मुत्युको कारण हो भने ३ प्रतिशत भाग्ने अर्थात कर्जा लिई नयाँ ठाँउमा जाँदा सुरक्षित हुने देखेर भाग्दछन् । कतिपय पहिलेको श्रीमान्लार्ई छोडी नयाँ श्रीमान बनाई भाग्ने गरेको पाइएको छ भने कतिपयले बसाईसराईको कारण देखाउने गरेका छन् । त्यस्तै, पाँच प्रतिशत सदस्य अन्य कुनै नयाँ सम्बन्धको कारणले जस्तै श्रीमानको रोजगारी टाढा भएर वा आफूले बसेको ठाउँभन्दा अन्य ठाउँमा रोजगारी राम्रो हुने पाउने सम्भावनाको कारण घर ब्यबहार चलाउनको लागि कामको खोजीमा नयाँ क्षेत्रमा जाने गरेको पाईन्छ । 

नौ प्रतिशत सदस्यले प्रतिष्पर्धी संस्थाको कारणले सदस्यता त्याग गर्ने गरेको पाइएको छ । नयाँ स्थापना हुने संस्थामा धेरै कर्जा पाईने र नयाँ खालका पोलिसी हुने तथा ग्राहकलार्ई पनि पुरानो संस्थामा बस्दा बस्दा केही भएन भन्ने भ्रम हुने भएकाले नयाँ संस्थामा बस्दा केही भईहाल्छ भन्ने मानसिकताका कारण र आफुले पहिले गरेको कमी कमजोरी पनि नयाँ बैंक तथा वित्तीय संस्थामा खोजी नहुने कारणले सदस्य नयाँ संस्थापतर जान्छन् । 

१४ प्रतिशत सदस्य वस्तु तथा सेवाको प्रति असन्तुष्टि पैदा भई संस्था छोड्छन् । किनभने हरेक दिन बैंक तथा वित्तीय संस्थाले ग्राकहलार्ई तान्नको लागि नयाँ नयाँ स्कीम ल्याइरहेका हुन्छन् । ६८ प्रतिशत सदस्य कर्मचारीको अनपेक्षित ब्यबहारबाट सदस्य त्याग गर्दछन् । कर्मचारी र सदस्यको सम्बन्ध नङ्ग र मासु जस्तो हुनुपर्नेमा नतिजा फरक भईरहेको छ । कर्मचारी ब्यबहारको कारण एउटै बैंक तथा वित्तीय संस्थामा पनि कर्मचारी एउटा सित नरुचाउने र अर्को कर्मचारी रुचाउने हुन्छन् । बोली, ब्यबहार, शैली आदिको कारण यस्तो अवस्था देखिएको हो । 

लघुवित्तकर्मीको व्यवहारका कारण थुप्रै सदस्यले सदस्यता त्याग गरेका छन् । यसका कारणहरु यसप्रकार हुन सक्छन् :
लघुवित कार्यक्रमको बारेमा प्रष्ट नबुझि कारोवार गर्ने र नबुझि कार्यक्रमबाट बाहिरिने ।
कर्मचारीबाट सही सुचना वा प्रष्ट जानकारी नपाउने ।
गाउँ सम्पर्क जाँदा वा पि.जि.टि. सम्पर्क जाँदा कार्यक्रमबारे नभएको कुरा पनि गर्ने 
सदस्य बनाउनको लागि अनेक प्रलोभन देखाउने ।
सदस्यलार्ई आवश्यक परेको सेवाको तह मापन नगर्ने ।
सदस्यसँग नियमित भेटघाट नगर्ने, कर्मचारी भएकोमा घमण्ड देखाउने ।
सदस्य मैत्री कार्यक्रमको वातावरण सिर्जना नगर्ने ।
सदस्यको गुनासो नसुन्ने र चाख नदिने ।
सदस्यको सहि पहिचान गर्न नसक्ने ।
लक्षित बर्ग पहिचान नगरी सदस्य बनाउने ।
सबै कर्मचारीको टिमवर्क नमिल्ने ।
    
सदस्यता त्यागले पार्ने असरहरु  
पुरानो सदस्यको बचत रकम धेरै हुने र ठूलो कर्जा कारोबार गर्ने हुनाले संस्थालार्ई आर्थिक असर पर्छ ।
बैंकप्रति मानिसले गाउँघरमा नकारात्मक कुरा गर्दछन् । यसले गर्दा बैंकप्रति नकारात्मक भावना पैदा हुन्छ । 
लघुवित्त कार्यक्रमप्रति दिगोपना आउँदैन । सदस्यले संस्था छाडी बिचैमा जाँदा कार्यक्रमको मुल उद्देश्य पुरा नहुने हुन्छ ।
बैंकको छवि कमजोर हुन जान्छ ।
कार्यक्रमको मुल लक्ष्य पुरा हुन सक्दैन ।

सदस्य दोहोरोपनाले हुने असर 
लघुवित मा सदस्यदोहोरोपना भन्नाले कुनै एउटा बैंक तथा वित्तीय संस्थाको ग्राहक सदस्य दुई वा दुई भन्दा बढी बैंक तथा वित्तीय संस्थामा सदस्य हुननै दोहोरोपना भनिन्छ । नेपालमा लघुवित विकास बैंक राष्ट्र बैंक बाट स्वीकृत भई संचालनमा रहेको ५६ वटा छन् भने क बर्ग ख बर्ग ग बर्ग का बैंक वित्तीय संस्थाले पनि लघुवित गरिरहेका छन् । यिनीहरु मध्ये कुनैले लघुवितको धरातल बिर्सिएर आफ्नै किसिमले संचालन गरिरहेका छन् । हाल आएर सबै बैंकको कार्यक्षेत्र शहर बजार भएकोले सबै सदस्य सबै बैंकका सदस्य हुने र कर्जा रकम लिने प्रचलन बढेको छ । जसले गर्दा कर्जाको आकार ठुलो भई समयमा किस्ता तिर्न नसक्ने समस्या आएको छ । यसको असरको सम्बन्धमा निम्न बुदाँहरु प्रस्तुत गर्न सकिन्छ स्
 धेरै संस्थामा बचत गर्नुपर्ने ।
 धेरै संस्था वा बैंकको बैठकमा भाग लिनुपर्ने ।
 बैठकमा समय खर्च भई आम्दानी हुने काम गर्न नसकिने ।
 सबै बैंक तथा वित्तीय संस्थामा कर्जा लिएपछि किस्ता ठुलो हुने ।
 धेरै कर्जा लिएपछि अनुत्पादक र फजुल खर्च हुने ।
 कर्जाको भार बढ्ने ।
 पछि कसैले नपत्याउने, गाउँघरमा बदनमीको भिल्ला लाग्ने ।
 केन्द्रमा कचकच गर्ने, रिसाउने ।
 भविष्यमा सबै बैंक तथा वित्तीय संस्थाको बचत धेरै देखिने निकाल्न नमिल्ने (जस्तै, समुह बचत र पेन्सन बचत)।
 एउट संस्थासँग कारोबार विग्रिएमा अन्यले पनि नपत्याउने, बिचार गर्ने, शंकाले हेर्ने ।
 बदनमीबाट बच्न अन्य ब्यक्तिसँग बढी ब्याजदरमा कर्जा लिई किस्ता बुझाउनुपर्ने ।
आफ्नो सम्पति कम मुल्यमा विक्रि गरी कर्जा तिर्नुपर्ने ।
 केटाकेटीमा अनावश्यक खर्च गर्ने बानी पर्ने ।
 कर्जा तिर्न नसकेमा लघुवित संस्थामा कालो सुचीमा परिने । 

अन्तमा भन्नुपर्दा कुनै पनि बैंक तथा वित्तीय संस्थाका पुराना ग्राहकले सदस्यता त्याग गर्नु भनेको संस्थालार्ई ठुलो घाटा हो । किनकी पुराना ग्राहकको क्षमता बढी हुने र कर्जा चलाउने क्षमता पनि बढि हुन्छ भने लघुवित कार्यक्रमको बारेमा पनि बढी नै जानकारी भएका हुन्छन् । त्यसैले उनीहरुले कार्यक्रमप्रति नकारात्मक सन्देश दिने, गाउँघरमा नराम्रो बतावरण पैदा गर्ने जस्ता क्रियाकलाप गर्न सक्छन् । यसले पुरै समाजलार्ई नकारात्मक र लघुवित कार्यक्रमप्रति नै नकारात्मक सन्देश जान्छ । तसर्थ, त्यस्ता सदस्यलार्ई कुनै पनि संस्था वा बैंकको सदस्य हो भनी संरक्षण गर्नुहुँदैन । अब सबै लघुवित गर्ने संस्था त्यस्ता सदस्यको बिबरण नलुकाईकन सुचना आदन प्रदान गरी सबै बैंक तथा वित्तीय संस्थाबाट बहिष्कार गर्न सक्नुपर्छ भने राम्रा इमान्दार, परिश्रमी, उद्यमशील, ग्राहकलार्ई संस्था वा बैंकले हरेक क्षेत्रबाट संरक्षण गरी कार्यक्रमबाट निस्कन नदिने उपाय खोजी गरी हट्ने दरमा कमी ल्याउनु जरुरी देखिन्छ । (लेखक मुक्तिनाथ विकास बैंकमा कार्यरत छन् ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]