बैंकिङ खबर । कम्युनिष्ट सरकारको बजेटप्रति बीमा क्षेत्रले असन्तुष्टी व्यक्त गरेको छ । बजेटमा बीमा क्षेत्रले दिएका सुझावहरु नसमेटिएको र अपेक्षा गरेअनुरुपको बजेट नआएको बीमा क्षेत्रको गुनासो छ ।
नेपाल लाइफ इन्स्योरेन्सका सीईओ विवेक झाले आफूले अपेक्षा अनुरुपको बजेट नआएको बताए । यद्यपि, बजेटमा समावेश गरिएका केही विषयहरु सकारात्मक रहेको र कार्यान्वयनको पाटो बलियो हुनुपर्ने उनले बताए ।
त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ नुर प्रकाश प्रधानले बजेटमा आफूहरुले दिएको सुझाव समावेश नभएको बताए । बीमा क्षेत्रको दायरा बढाउने खालका कुनै पनि व्यवस्था बजेटमा नभएको उनले बताए ।
'अपेक्षा गरेअनुरुप बजेट विनियोजन भएन'
विवेक झा, प्रमुख कार्यकारी अधिकृत, नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड
अन्य बर्षको बजेटभन्दा यस बर्षको बजेटमा धेरै आश लागेको थियो । यद्यपि, अपेक्षा अनुसारको बजेट विनियोजन भएन । त्यही पनि विनियोजन भएको रकमलाई मैले सकारात्मक रुपमा हेरेको छु । जीवन बीमाको लागि यो बजेटले हरेक मानिसमा बचत गर्ने बानी बसाल्ने र सुरक्षित भविष्यका लागि बीमा गर्ने बानीको विकास गर्नेछ । यसपालीको बजेट बीमामा आकर्षण बढाउने खालको छ । त्यस्तै, साना निक्षेपकर्ताको निक्षेपको अनिवार्य बीमा सीमा तीन लाख रुपैयाँ र धितोरहीत प्रवाह हुने साना कर्जा सुरक्षण गर्ने रकमको सीमा १० लाख रुपैयाँ पुर्याउने व्यवस्था बजेटमा गरिएको छ । यो व्यवस्थाले बीमामा नागरिकको आकर्षण बढाउने कुरामा ठूलो भूमिका खेल्नेछ । त्यस्तै, स्वास्थ्य बीमा कार्यक्रमलाई अझ विस्तार गर्ने विषय पनि स्वागतयोग्य रहेको छ । अपेक्षा गरे अनुसारकै बजेट नआएको भएतापनि गरिएका व्यवस्थाहरुको कार्यान्वयन हुन सकेमा बीमा व्यवसाय र पहुँच विस्तारमा सहयोग पुग्नेछ ।
'बजेट व्यवहारिक भएन'
नुर प्रकाश प्रधान, प्रमुख कार्यकारी अधिकृत, लुम्बिनी जनरल इन्स्योरेन्स
अहिलेको बजेटमा बीमा क्षेत्रले दिएको सुझावलाई समेटिएको छैन । कृषि, उद्योग लगायत राष्ट्रिय आवश्यकताका विषयहरुमा बीमा क्षेत्रलाई समेट्ने खालको बजेट आएको छैन । यी क्षेत्रहरुलाई समेट्न नसकेका कारण बीमाको दायरा बढ्न सक्दैन । जस्तै, कृषि व्यवसायको मात्रै बीमा नभएर कृषि व्यवसाय गर्ने कृषकको बीमालाई समेत उत्तिकै महत्व दिनुपर्छ । यस्ता खालका विषयहरु बजेटमा सम्बोधन भएनन् । यस हिसाबले हेर्दा, बजेटले व्यवहारिक भएर हेर्न नसकेको देखियो । बीमा क्षेत्रको दायरा बढाउने लगायतका विषयवस्तु नसमेटिएको हुँदा यसपालीको बजेट खासै सन्तोषप्रद छैन । बीमा क्षेत्रका लागि यसपालीको बजेटमा केही कमीहरु देखेको छु ।


