May 17th, 2016

राष्ट्रिय वाणिज्य बैँकको मुनाफा १ अर्ब ६१ करोड

rbbचालू आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैँकले गत वर्ष तुलना ६० प्रतिशत कम मुनाफा कमाएको हो । गत आवको ९ महिनामा बैँकले ४ अर्बभन्दा बढी मुनाफा आर्जन गरेको थियो । यस वर्षको नाफाबाट बैँकले जगेडा कोषको घाटा उल्लेखनीय रुपमा घटाएको छ । हाल बैँकको जगेडा कोष अब २९ करोडले मात्र नकारात्मक रहेको छ । बर्षको तेस्रो त्रैमाससम्म बैंकको जगेडा कोष घाटा २ अर्ब १४ लाख भन्दा बढी थियो ।

ब्याज आम्दानी र संचालन मुनाफा बढाउँदै लगेको बैंकको कर्जा नोक्सानी वापतको रकम बढेको छ भने जोखिम वापत राखेको ४८ करोड रकम फिर्ता ल्याएको छ । बैंकको सञ्चालन नाफा ८० प्रतिशतले बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । आर्थिक बर्षको चैत मसान्तसम्म बैंकले ७९ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो गत बर्षको भन्दा १० अर्ब बढि हो । बैंकको निक्षेप एक अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यो गत बर्षको भन्दा २७ अर्ब वढि हो । बैंकको खराब कर्जा  ३.५२ प्रतिशत छ । बैंकको पुँजीकोष अनुपात  १०.६३ प्रतिशत छ । बैंकले खुद ब्याज आम्दानी तीन अर्ब ७३ करोड रुपैयाँ छ भने कर्मचारी खर्च एक अर्ब ७० करोड रुपैयाँ पुगेको छ । निस्क्रिय कर्जालाई ३.५२ प्रतिशतमा सिमित गरी गत आर्थिक बर्षको तेस्रो त्रैमासको तुलनामा स्थिर राखेको छ ।

सर्बसाधारणमा ३० प्रतिशत शेयर जारी गर्ने तयारी गरे पनि आन्तरिक तथा प्रक्रियागत समस्याले अगाडि बढ्न नसकेको बैंकमा नयाँ कार्यकारी प्रमुख हालै नियुक्त भएकाले त्यस सम्बन्धी काम फेरि सुरु हुने अपेक्षा गरिएको छ । राष्ट्रिय बाणिज्य बैंक सर्बसाधारणमा शेयर जारी गर्न बाँकी रहेको एकमात्र बाणिज्य बैंक हो ।