बैंकिङ खबर । वैशाख २६ र २७ गते काठमाडौँको भृकुटीमण्डपमा क्यापिटल मार्केट एक्स्पो संचालन हुँदैछ । नेपाल धितोपत्र बोर्डको रजत जयन्तीको अवसर पारेर नेपालमै पहिलो पटक हुन लागेको क्यापिटल मार्केट एक्स्पो २०७५ को उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको इभेन्ट मेनेजरमा मिडिया इन्टरनेशनल रहेको छ ।
दुई दिनसम्म विहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने प्रदर्शनीमा पुँजी बजारसँग सम्बन्धीत कम्पनी एवम् संस्थाहरुले आआफ्नो स्टल संचालन गर्नेछन् । प्रदर्शनीमा मर्चेन्ट बैंकर, सेयर ब्रोकर, म्युचुअल फण्ड, क्रेडिट रेटिङ कम्पनी, नेपाल धितोपत्र बोर्ड, सूचिकृत कम्पनी लगायतको १७० वटा सूचनामूलक स्टल रहनेछन् ।
कार्यक्रममा पुँजी बजारका बारेमा हालसम्म प्रकाशन भएका विविध अध्ययन सामग्रीहरुको निःशूल्क वितरण, पुँजी बजारका विज्ञहरुको उपस्थितीमा अन्तक्र्रिया कार्यक्रम संचालन र सहभागीहरुका मनमा उठेको जिज्ञासाहरुको सम्बोधन समेत गरिने छ । एक्स्पोमा प्रवेश निःशूल्क गरिएको छ ।
एक्स्पोमा सेयर बजारसँग सम्बन्धीत सम्पूर्ण सेवा तथा सुविधाका बारेमा जानकारी पाइनेछ । मर्चेन्ट बैंक, सेयर ब्रोकर, सीडिएससी, सीआस्वा, प्राथमिक र दोस्रो बजार लगायतका विषयमा अत्यावश्यक जानकारी एक्स्पोमा पाइनेछ । त्यस्तै, नेपालको पुँजी बजारको आकार, पुँजी बजारमा संलग्न कम्पनीहरु, पुँजी बजारसँग सम्बन्धित सेवा र सेवा उपलब्ध गराउने कम्पनी एवम् संस्थाहरु लगायतका बारेमा समेत जानकारी पाइनेछ ।
नेपालमै पहिलोपटक क्यापिटल मार्केट एक्स्पो
डा नवराज अधिकारी, निर्देशक, नेपाल धितोपत्र बोर्ड
नेपाल धितोपत्र बोर्डको स्थापना भएको २६ वर्षमा पहिलोपटक हामीले क्यापिटल मार्केट एक्स्पोको आयोजना गर्न लागेका छौँ । अहिले सेयर बजारमा हल्लाको भरमा लगानी गर्ने प्रवृत्ति बढिरहेको अवस्था छ । यसले गर्दा जोखिम बढिरहेको छ । सेयर बजारमा जोखिम कमगर्नका लागि सेयर बजारबारे सचेतना अभिवृद्धि गर्नु अत्यन्तै आवश्यक रहेको महशूस गरिएको छ । बजारबारे राम्रोसँग बुझेर आफ्नो लगानी सुरक्षित गर्नेबारे लगानीकर्तालाई जानकारी दिने कार्यक्रमको उद्देश्य रहेको छ । त्यस्तै, आगामी दिनमा सेयर बजारमा लगानी गर्न चाहाने वर्गहरुले पनि पहिले सेयर बजारबारे बुझ्ने अवसर पाउन् भन्ने उद्देश्यका साथ यस एक्स्पोको आयोजना गर्न लागिएको छ । एक्स्पोको अवलोकन गरी लगानीकर्ता, विद्यार्थी एवम् सर्वसाधारणहरुले भरपूर लाभ उठाउनुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । एक्स्पोमा सहभागी भइसकेपछि हल्लाको भरमा सेयर बजारमा प्रवेश गर्नेको संख्यामा केही हदसम्म कमी आउने अपेक्षा हामीले गरेका छौँ ।
सेयर नलेजका लागि ऐतिहासिक अवसर
माधव निर्दोष, इभेन्ट मेनेजर एवम् अध्यक्ष, मिडिया इन्टरनेशनल
विगत पाँच वर्षदेखि हामीले उठाउँदै आएको मुद्दा वित्तीय सूचनाकै हो । वित्तीय जागरण राष्ट्रिय अभियानका कर्याक्रममार्फत होस् या बैंकिङ एक्स्पो मार्फत । क्यापिटल मार्केट एक्स्पो सेयर मार्केटसम्बन्धी अत्यन्तै आवश्यक सूचना मेला हो । यो एउटा ऐतिहासिक अवसर हो । सेयरमा बुझेर मात्रै लगानी गर्नुपर्ने भन्दै आइए तापनि यस विषयमा जानकारी कहाँबाट कसरी लिने रु भन्ने विषयमा नै अन्यौलता रहेको अवस्था छ । पुँजी बजार प्रदर्शनीले यस विषयमा प्रष्ट पार्नेछ । एक्स्पोमा सेयर किनबेच गर्ने तरिका मात्रै नभएर कुन क्षेत्र तथा कम्पनीमा लगानी गर्नु राम्रो हुन्छ भन्ने विषयमा समेत ज्ञान लिन पाइनेछ । अहिले कम्पनीको बारेमा बुझेर भन्दा पनि हल्लाको भरमा लगानी गर्नेको संख्या धेरै छ । त्यसैले, लगानीका लागि कुन कुन कम्पनी राम्रो र किन भन्ने विषयमा बुझ्नका लागि पुँजी बजार एक्स्पो अवलोकन गर्नु आवश्यक छ ।


