बैंकिङ खबर । वैशाख २६ र २७ गते काठमाडौँको भृकुटीमण्डपमा क्यापिटल मार्केट एक्स्पो संचालन हुने भएको छ । नेपाल धितोपत्र बोर्डको रजत जयन्तीको अवसर पारेर नेपालमै पहिलो पटक हुन लागेको क्यापिटल मार्केट एक्स्पो २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रमको इभेन्ट मेनेजरमा मिडिया इन्टरनेशनल रहेको छ । एक्स्पोमा सहभागीताका लागि प्रचारप्रसार एवम् चिठिपत्र सम्प्रेषणको काम तीव्र गतिमा भइरहेको इभेन्ट मेनेजर मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले बताए ।
केके हुँदैछ एक्स्पोमा ?
दुई दिनसम्म विहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने प्रदर्शनीमा पुँजी बजारसँग सम्बन्धीत कम्पनी एवम् संस्थाहरुले आआफ्नो स्टल संचालन गर्नेछन् । कार्यक्रममा पुँजी बजारका बारेमा हालसम्म प्रकाशन भएका विविध अध्ययन सामग्रीहरुको निःशूल्क वितरण, पुँजी बजारका विज्ञहरुको उपस्थितीमा अन्तक्र्रिया कार्यक्रम संचालन र सहभागीहरुका मनमा उठेको जिज्ञासाहरुको सम्बोधन समेत गरिने छ ।
कसकसको रहन्छ स्टल ?
प्रदर्शनीमा मर्चेन्ट बैंकर, सेयर ब्रोकर, म्युचुअल फण्ड, क्रेडिट रेटिङ कम्पनी, नेपाल धितोपत्र बोर्ड लगायतको १५० सूचनामूलक स्टल संचालन गर्ने तयारी भइरहेको छ । स्टल संचालनका लागि नेपाल राष्ट्र बैंक र बीमा समितिलाई समेत आग्रह गरिएको बताइएको छ ।
लक्षित वर्ग
क्यापिटल मार्केट एक्स्पोले हाल सेयर बजारमा संलग्न भएका र हुन चाहने सम्पूर्णलाई लक्षित गरेको छ । साथमा उद्योगी, व्यवसायी, सूचीकृत कम्पनी, विद्यार्थी एवम् अन्य पुँजी बजारबारे चासो राख्ने सम्पूर्ण वर्गलाई लक्षित गरेर यस प्रदर्शनीको आयोजना गरिएको हो ।
केके जानकारी पाइन्छ ?
एक्स्पोमा सेयर बजारसँग सम्बन्धीत सम्पूर्ण सेवा तथा सुविधाका बारेमा जानकारी पाइनेछ । मर्चेन्ट बैंक, सेयर ब्रोकर, सीडिएससी, सीआस्वा, प्राथमिक र दोस्रो बजार लगायतका विषयमा अत्यावश्यक जानकारी एक्स्पोमा पाइनेछ । त्यस्तै, नेपालको पुँजी बजारको आकार, पुँजी बजारमा संलग्न कम्पनीहरु, पुँजी बजारसँग सम्बन्धित सेवा र सेवा उपलब्ध गराउने कम्पनी एवम् संस्थाहरु लगायतका बारेमा समेत जानकारी पाइनेछ ।
अर्थमन्त्रीले उद्घाटन गर्ने
एक्स्पोको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्नेछन् । यसका लागि डा. खतिवडालाई पत्र पठाइएको र स्वीकृत समेत भइसकेको धितोपत्र बोर्डले जनाएको छ । एक्स्पोमा प्रवेश निःशूल्क रहेको छ । एक्स्पोसम्बन्धी जानकारी दिनका लागि दुई दिन अगाडी पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको बताइएको छ ।
'नेपालमै पहिलोपटक क्यापिटल मार्केट एक्स्पो'
डा. नवराज अधिकारी, निर्देशक, नेपाल धितोपत्र बोर्ड
नेपाल धितोपत्र बोर्डको स्थापना भएको २६ वर्षमा पहिलोपटक हामीले क्यापिटल मार्केट एक्स्पोको आयोजना गर्न लागेका छौँ । अहिले सेयर बजारमा हल्लाको भरमा लगानी गर्ने प्रवृत्ति बढिरहेको अवस्था छ । यसले गर्दा जोखिम बढिरहेको छ । सेयर बजारमा जोखिम कमगर्नका लागि सेयर बजारबारे सचेतना अभिवृद्धि गर्नु अत्यन्तै आवश्यक रहेको महशूस गरिएको छ । बजारबारे राम्रोसँग बुझेर आफ्नो लगानी सुरक्षित गर्नेबारे लगानीकर्तालाई जानकारी दिने कार्यक्रमको उद्देश्य रहेको छ । त्यस्तै, आगामी दिनमा सेयर बजारमा लगानी गर्न चाहाने वर्गहरुले पनि पहिले सेयर बजारबारे बुझ्ने अवसर पाउन् भन्ने उद्देश्यका साथ यस एक्स्पोको आयोजना गर्न लागिएको छ । एक्स्पोको अवलोकन गरी लगानीकर्ता, विद्यार्थी एवम् सर्वसाधारणहरुले भरपूर लाभ उठाउनुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । एक्स्पोमा सहभागी भइसकेपछि हल्लाको भरमा सेयर बजारमा प्रवेश गर्नेको संख्यामा केही हदसम्म कमी आउने अपेक्षा हामीले गरेका छौँ ।
'सेयर नलेजका लागि ऐतिहासिक अवसर'
माधव निर्दोष, इभेन्ट मेनेजर एवम् अध्यक्ष, मिडिया इन्टरनेशनल
विगत पाँच वर्षदेखि हामीले उठाउँदै आएको मुद्दा वित्तीय सूचनाकै हो । वित्तीय जागरण राष्ट्रिय अभियानका कर्याक्रममार्फत होस् या बैंकिङ एक्स्पो मार्फत । क्यापिटल मार्केट एक्स्पो सेयर मार्केटसम्बन्धी अत्यन्तै आवश्यक सूचना मेला हो । यो एउटा ऐतिहासिक अवसर हो । सेयरमा बुझेर मात्रै लगानी गर्नुपर्ने भन्दै आइए तापनि यस विषयमा जानकारी कहाँबाट कसरी लिने ? भन्ने विषयमा नै अन्यौलता रहेको अवस्था छ । पुँजी बजार प्रदर्शनीले यस विषयमा प्रष्ट पार्नेछ । एक्स्पोमा सेयर किनबेच गर्ने तरिका मात्रै नभएर कुन क्षेत्र तथा कम्पनीमा लगानी गर्नु राम्रो हुन्छ भन्ने विषयमा समेत ज्ञान लिन पाइनेछ । अहिले कम्पनीको बारेमा बुझेर भन्दा पनि हल्लाको भरमा लगानी गर्नेको संख्या धेरै छ । त्यसैले, लगानीका लागि कुन कुन कम्पनी राम्रो र किन भन्ने विषयमा बुझ्नका लागि पुँजी बजार एक्स्पो अवलोकन गर्नु आवश्यक छ ।


