रुपा कोइराला/बैंकिङ खबर । संघीय संचरना अनुसार कायम भएका सात सय ५३ वटा स्थानीय तहमध्ये तीन सय ७४ वटा स्थानीय तहमा क वर्गका बैंकहरुले शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार प्रदेश नं. १ र ३ मा सबैभन्दा धेरै तथा प्रदेश नं. ६ मा वाणिज्य बैंकहरुको संख्या सबैभन्दा कम रहेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने नीति लिएको छ । जसअनुसार, बैंकहरु पनि सक्रिय रुपले लागी परेका छन् ।
शाखा विस्तारका लागि असार मसान्तसम्मको समय
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई असार मसान्तभित्रमा ३५९ स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएको छ । २४३ स्थानीय तहमा बैशाख मसान्त र बाँकी ११६ स्थानीय तहमा असार मसान्तभित्र शाखा खोलिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । बैंक नपुगेका ३५९ वटा स्थानीय तहमा शाखा पुर्याउने भनिएकोमा बैंकहरुले २४३ स्थानमा मात्र शाखा खोल्ने प्रतिबद्धता गरेका थिए । बाँकी ११६ वटा स्थानीय तहमा भने बैंकहरु जान मानेका थिएनन् । यी स्थानीय तहमा पूर्वाधार, सुरक्षा लगायतको कारण देखाएर बैंकहरुले शाखा विस्तार गर्न आनाकानी गरिरहेका थिए । राष्ट्र बैङ्कले बैंकहरु जान नमानेका ११६ मा पनि शाखा खोल्न भनेपछि बैंकहरुले स्वेच्छिक रूपमा ४० वटा शाखा खोल्ने जनाएका थिए । बाँकी ७६ स्थानमा शाखा खोल्न कुनै पनि बैङ्क तयार भएका थिएनन् । यी स्थानीय तहहरुमा शाखा खोल्ने जिम्मा राष्ट्र बैंकले २१ वटा बैंकलाई दिएको छ ।
कुन बैंकको भागमा कति शाखा थप ?
राष्ट्र बैङ्कका अनुसार, खोटाङका ३, ओखलढुङ्गाको १, संख्वासभाको ३, सोलुखुम्बुको २, ताप्लेजुङको ३, उदयपुरको १, पर्साको १, रौतहटको १, सप्तरीको १, सर्लाहीको १, धादिङको २, काभ्रेको १, मकवानपुरको १ र सिन्धुलीको १ स्थानीय तहमा बैङ्क पुगेका छैनन् । त्यस्तै, सिन्धुपाल्चोकको १, मनाङको १, गुल्मीको १, रोल्पाको ४, रुकुमको २, दैलेखको २, डोल्पाको ४, हुम्लाको ३, जाजरकोटको ३, जुम्लाको १, कालिकोटको ६, मुगुको २, सल्यानको १, अछामको २, वैतडीको २, बझाङको ८, बाजुराको ६, डडेल्धुराको १, दार्चुलाको २, डोटी र कैलालीको १।१ स्थानीय तहमा बैंक जान मानेका छैनन् । यीमध्ये, नविल बैंक र एभरेष्ट बैंकले सबैभन्दा धेरै ७।७ वटा स्थानीय तहमा शाखा खोल्ने निर्देशन पाएका छन् भने बैङ्क अफ काठमाण्डू, कृषि विकास, हिमालयन, जनता, नेपाल बैङ्क, नेपाल एसबिआइ बैङ्कले थप ६।६ वटाका दरले शाखा खोल्ने निर्देशन पाएका छन् । त्यस्तै, सेञ्चुरी, सिभिल, लक्ष्मी, प्राइम, सिद्धार्थ र सनराइज बैंकले थप १।१ शाखा विस्तार गर्नेछन् भने सिटिजन्स, एनसीसी र इन्भेष्टमेन्ट बैंकले २।२ शाखा खोल्नेछन् । यसबाहेक, सानिमा, राष्ट्रिय वाणिज्य र माछापूछ्रेले ३।३ तथा कुमारीले ५ वटा थप स्थानीय तहमा शाखा खोल्ने जिम्मा पाएका छन् ।
'सबै स्थानीय तहमा बैंक पुर्याउन सम्भव छ'
नारायण प्रसाद पौडेल, प्रवक्ता, नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्रमा नै सबै स्थानीय तहमा शाखा पुर्याइसक्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । सबै स्थानीय तहमा बैंक शाखा पुर्याउन सम्भव भएर नै नेपाल राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले यसपटक ठाउँ तोकेरै बैंकहरुलाई शाखा खोल्न निर्देशन दिएको छ । यसमध्ये, कुनै स्थानीय तहमा पूर्वाधारका कारण शाखा संचालनमा समस्या आउन सक्छ । यदि, विजुली, इन्टरनेट लगायतका पूर्वाधारका कारण समस्या आउने देखिएमा हामीले अर्थमन्त्रालयसँग समन्वय गर्ने भनेका छौँ । पूर्वाधार नभएर बैंक संचालन गर्न नसक्ने देखिएका स्थानीय तहमा पूर्वाधार पुर्याउने कुरामा अर्थमन्त्रालयको सहयोग रहनेछ ।
समस्या र चुनौति धेरै छन्
ज्ञानेन्द्र ढुंगाना, अध्यक्ष, नेपाल बैंकर्स संघ
असार मसान्तभित्रमा सबै स्थानीय तहमा शाखा पुर्याउन बैंकहरुका लागि धेरै समस्या र चुनौतिहरु छन् । कतिपय स्थानीय तहहरुमा बैंक संचालनका गर्नका लागि आवश्यक न्यूनतम पूर्वाधारहरु नै उपलब्ध नभएको अवस्था छ । बैंक शाखा स्थापना गर्नका लागि चाहिने न्युनतम पूर्वाधारहरु भएको खण्डमा बैंकहरुले शाखा खोल्नेछन् । शाखा संचालनका लागि इन्टरनेट, घर, कर्मचारी, विजुली लगायतको व्यवस्था भएमा हामी शाखा खोल्छौँ । अझै तीन महिना समय छ, छलफल गरेर सम्भव भएसम्म सबै स्थानीय तहमा बैंकहरुले शाखा खोल्नेछन् ।
वित्तीय पहुँचको अवस्था
माघ मसान्तको तथ्यांकअनुसार अझैपनि नेपालका आधाभन्दा बढी स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । वाणिज्य बैंकको शाखा नभएका स्थानीय तहको संख्या तीन सय ७९ रहेको छ । तथ्यांकअनुसार, प्रदेश नं. १ र ३ मा सबैभन्दा धेरै ७१ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तारित भएका छन् । यी प्रदेशमा क्रमशः १३७ र ११९ स्थानीय तह रहेका छन् । त्यस्तै, १३६ वटा स्थानीय तह रहेको प्रदेश नं. २ का ६३ वटा स्थानीय तहमा वाणिज्य बैंक पुगेका छन् भने प्रदेश नं. ४ का ८५ मध्ये ४५ वटा स्थानीय तहमा बैंक शाखा खोलिएका छन् । त्यसैगरी, १०९ वटा स्थानीय तह भएको प्रदेश नं. ५ मा ६६, ७९ वटा स्थानीय तह रहेको प्रदेश नं. ६मा २५ र ८८ वटा स्थानीय तह भएको प्रदेश नं. ७ मा ३३ वटा बैंक शाखा संचालनमा छन् ।


