Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

बैंकिङ क्षेत्रमा रोजगारीको अबसरै अबसर

२०७४ चैत्र ३ गते

बैंकिङ खबर / बैंकिङ क्षेत्रमा ठूलो संख्यामा रोजगारी खुल्ने भएको छ । सरकारले अबको एक वर्ष्भित्रमा सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने भएपछि बैंकहरु शाखा विस्तारमा जुटेका छन् । क वर्गका २८ वटा बैंकहरुले मुलुकभर शाखा विस्तार गर्दा दुई हजारभन्दा बढीले रोजगारी पाउने भएका हुन् ।
 
बैंकहरुलाई गाउँमा जानैपर्ने बाध्यता
अब राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्रामीण भेगमा जान बाध्य पार्न लागेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई स्थान नै तोकेर ग्रामीण भेगमा शाखा खोल्न निर्देशन दिएको छ । यसरी नियामक निकाय सशक्त रुपमा उत्रिएपछि बैंकहरु स्थानीय तहमा शाखा विस्तार गर्ने कार्यमा जुट्न थालेका छन् । यसअघि, ग्रामीण भेगमा व्यवसाय नै हुँदैन, ग्राहक नै पाइँदैन, सुरक्षित पनि हुँदैन जस्तथा अनेकौँ बाहना गरेर सहरमुखी सेवा दिने बैंकहरु अब भने ग्रामीण तथा विपन्न वर्गको पहुँचसम्म पुग्नैपर्ने भएको छ । गाउँका जनतालाई सेवा दिने काम लघुवित्तको मात्रै हो भन्ने बैंकहरु पनि अब सबै नागरिकलाई वित्तीय पहुँचमा जोड्ने मिसनमा लागिपर्ने भएका छन् ।  

विस्थापित शाखाको पुनःस्थापनामा जोड
सशस्त्र द्वन्द्वकालमा विस्थापित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका एक सय ६७ शाखा पुनःस्थापना हुन बाँकी छन् । द्वन्द्वकालमा तीन सय १८ शाखा विस्थापित भएकोमा २०७३ फागुनसम्ममा एक सय ५१ शाखा पुनःस्थापना भएका छन् । बन्द भएका शाखा पुनः खोल्नका लागि नेपाल राष्ट्र बैंक, व्यवस्थापिका संसद्को अर्थ समिति र अर्थ मन्त्रालयले विभिन्न समयमा छुट्टाछुट्टै निर्देशन दिए पनि विस्थापितमध्ये आधा मात्र शाखा पुनःस्थापना भएका छन् । सशस्त्र द्वन्द्व समाप्त भएको लामो समयसम्म बैंकहरू गाउँ नफर्किएपछि कतिपय ठाउँमा स्थानीयवासीले शाखा पुनःस्थापनाको माग गर्दै आन्दोलन समेत गर्दै आएका छन् । ग्रामीण सहरबाट विस्थापित शाखा खुले पनि दुर्गम गाउँमा रहेका शाखा भने पुनःस्थापना हुन नसकेको बताइएको छ । अब राष्ट्र बैंकले यी शाखाको पुनःस्थापनामा जोड दिने भएको छ । विस्थापित भएका ग्रामीण क्षेत्रका शाखाहरुको पुनःस्थापना भएपछि थुप्रै जनता बैंकिङ पहुँचमा समेटिने छन् ।