May 12th, 2016

भूकम्पपछिको पुनर्निर्माणको पञ्चवर्षीय योजना आज सार्वजनिक हुँदै

punarnirmanराष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ खर्ब ३० अर्ब रुपैयाँ बराबरको बजेटसहित भूकम्पपछिको पुननिर्माणको पञ्चवर्षीय योजना आज (बिहिबार) सार्वजनिक गर्दैछ । प्राधिकरण निर्देशक समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे राजधानीको सोल्टी होटलमा अन्तर्राष्ट्रिय दातृ समुदायको उपस्थितीमा पञ्चबर्षीय योजना सार्वजनिक गर्नेछन् । पुनर्निर्माण बजेटमा भूकम्पबाट क्षति भएका घर पुनः निर्माणका लागि १६ अर्ब अनुदान रहेको छ भने पुनः निर्माणको बार्षिक बजेट करिब १ खर्ब ५० अर्बको हुनेछ । 

गत बर्ष बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प र त्यपसछि आएका ४ सय भन्दा बढी पराकम्पले सात खर्ब ६ अर्व रुपैयाँ बराबरका भौतिक संरचनामा क्षति गराएको थियो । पुनर्निर्माण र पुनःस्थापनाका लागि ६ खर्व ६९ अर्ब रुपैयाँ लाग्ने अनुमान प्रतिबेदनले गरेको थियो । निजी आवास निर्माणलाई प्राथमिकतामा राखेको प्राधिकरणले बैशाख १२ गते ३ सय ८४ गाविस तथा नगरपालिकाका ३ लाख १९ हजार ९ सय १२ अनुदान पाउन योग्य घर धनीको नाम सार्वजनिक गरेको छ ।

अनुदान सम्झौताका लागि सर्वेक्षण भएका ११ जिल्लामा ३ हजारभन्दा बढी घरधनीसँग अनुदान सम्झौता भइसकेको छ भने खाता खोलेका घर धनीलाई बैंक मार्फत रकम निकासाको काम जारी छ । आठ हजार सात सय ९० जनाको ज्यान लिएको भूकम्पले २२ हजार ४ सय ९३ जना घाइते बनाएको थियो ।