May 11th, 2016

एनसीसी बैँकले कमायो ३७ करोड ३५ लाख मुनाफा

ncc bankनेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३७ करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेको छ । चारवटा विकास बैंक र कुमारी बैंकसँग मर्जरको अन्तिम प्रक्रियामा रहेको बैँकले गतवर्षको भन्दा झन्डै ५ करोड बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको व्याज आम्दानीमा उल्लेख सुधार देखिएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ६१ करोड १७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले यसपटक २० करोड रुपैयाँ बढि अर्थात् ८२ करोड ९८ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । २७ अर्व ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैँकले २३ अर्व १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सम्भावीत जोखिममा ३० करोड रुपैयाँ राखेको बैंकले यसअवधिमा १८ करोड ४९ लाख खराब कर्जा उठाएको छ ।

चुक्ता पुँजी २ अर्व ३५ करोड ३१ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९८ करोड १४ लाख रुपैयाँ छ । गत वर्ष २.४० प्रतिशतको अनुपातमा रहेको खराब कर्जा चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १.६३ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८४ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ४१ रुपैयाँ ७१ पैसा रहेको छ ।