Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

बीमा चेतनामा जागरण आउँदैछ

२०७४ माघ २१ गते

बैंकिङ खबर / बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले पछिल्लो समय थप गरिएका बीमा कम्पनीहरुका कारण मुलुकमा रोजगारी बढाउन विशेष महत्व पुगेको बताएका छन् । शनिबार राजधानीको भृकुटीमण्डपमा आयोजित बैंकिङ एक्स्पोको समापन समारोहलाई सम्बोधन गर्दै समितिका अध्यक्ष चापागाँईले चालु आर्थिक वर्षदेखि बीमा व्यवसाय शुरु गरेका कम्पनीबाट २ हजार भन्दा बढी नागरिकले प्रत्यक्ष र हजारौ नागरिकले अप्रत्यक्ष रुपमा रोजगारी पाएको बताएका हुन् ।

मुलुकमा पछिल्लो समय बीमाको दायरामा समेत वृद्धि भएको अध्यक्ष चापागाँईले दावी गरे । ‘पछिल्लो समय सर्वसाधारणमा बीमा चेतनाको वृद्धि भएको छ’ समापन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष चापागाँईले भने– ‘अघिल्लो वर्ष सम्म न्यून रहेको बीमाको पहुँच चालु आर्थिक वर्षमा उल्लेख्य वृद्धि भएको छ ।’  बीमा समिति तथा बीमा कम्पनीहरु स्वंयले समेत बीमा चेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिरहेका कारण बीमाप्रति नागरिकको आकर्षण बढ्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएसनका अध्यक्ष एवम् छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले बीमाको पहुँच वृद्धिमा माइmक्रोफाइनान्सको भूमिका समेत महत्वपूर्ण भएको बताए । वित्तीय पहुँच विस्तारमा विशेष भूमिका निर्वाह गर्दै आएका माइक्रोफाइनान्सहरु पछिल्लो समय लघु बीमाको माध्यमबाट बीमाको दायरा बढाउन समेत महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष जोशीले बताए ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकि क्षत्रीले बीमा साक्षरताकोकमीकै कारण सोचे अनुरुप बीमाको पहुँच विस्तार हुन नसकेको धारणा राखे । यसैगरी युनियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले हाल नेपालका १० प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको तथ्यांक गलत भएको बताए । कति नागरिकमा बीमाको पहुँच पुगेको भन्ने एकिन तथ्यांक नभएको भन्दै सीईओ कर्णले यति नै प्रतिशत नागरिकमा बीमाको पहुँच पुग्यो भन्न नसकिने अवस्था रहेको बताए । समापन समारोहमा बोल्दै वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले बेंकिङ एक्स्पो सम्पन्न गर्नमा विभिन्न संघसंस्थाको सहयोगप्रति आभार व्यक्त गरे । उनले सरकार र राजनीतिक दलको मुख नताकि उद्यमशिलताको बाटोमा लाग्न युवा पूस्तालाई आवहान गरे । नेपालमा धेरै सम्भावना भएर पनि हामी गरीव हुनुपरेको भन्दै उनले बेंकिङ पहुँच, वित्तीय चेतना र उद्यमशिलताको बहस देशैभरी संचालन गर्ने बताए । 

सकियो बैंकिङ एक्स्पो 

काठमाडौंको भृकुटीमण्डपमा आयोजित दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न भएको छ । दुई दिनसम्म संचालित बैंकिङ एक्स्पोमा करिब ५५ हजारले अवलोकन गरेका छन् । एक्स्पोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था, बीमा कमपनी, युवा स्वरोजगार कोष, नागरिक लगानी कोष लगायतका जम्मा ५० वटा स्टलहरु राखिएका थिए । नेपाल राष्ट्र बैंकको मूख्य प्रवद्र्धन, बीमा समितिको सहकार्य र नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैंकर्स संघ र नेपाल क्लियरिङ हाउसको साझेदारीमा मिडिया इन्टरनेशनलले आयोजना गरेको बैंकिङ एक्स्पो दुई दिन सम्म सञ्चालन भई शनिबार सम्पन्न भएको हो । 

उद्यमशिलताबारे गोष्ठि 

एक्स्पोको दोस्रो दिन आयोजित बैंकिङ लगानी र उद्यमशीलता विषयक अन्तक्र्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुख नरबहादुर थापाले बैंकिङ क्षेत्र र राष्ट्रिय अर्थतन्त्र सँगसँगै अगाडी बढ्नुपर्ने बताए । थापाले मुलुकले हासिल गरेको साढे सात प्रतिशत आर्थिक वृद्धिदरलाई आगामी दिनमा पनि कायम राख्न मुलुकको सबै आर्थिक क्षेत्रहरुसँग वित्तीय क्षेत्र जोडिनुपर्ने बताए । उनले भने, ‘बैंकिङ क्षेत्रले कृषि, साना तथा मझौला व्यवसाय लगायतमा लगानी गरेर ग्रामीण अर्थतन्त्रलाई पनि वित्तीय संस्थासँग जोड्नुपर्छ ।’ रियलस्टेटमा गरिएको लगानीले अर्थतन्त्र विकासमा सहयोग नगर्ने भएकाले उत्पादनमूलक क्षेत्रतर्फको लगानी वृद्धिमा बैंक तथा वित्तीय संस्थाले ध्यान दिनुपर्ने थापाले बताए । 

वित्तीय क्षेत्र राष्ट्रिय अर्थतन्त्रसँग जोडियो कि जोडिएन भन्ने कुराको छलफल र समिक्षा पनि समयसमयमा गरिनुपर्ने थापाको भनाइ छ । उनले भने, ‘समिक्षाका क्रममा केही समस्याहरु भेटिएमा सोको समाधानतर्फ पनि ध्यान दिनुपर्छ ।’ यसका लागि अन्य विकसित मुलुकको लगानी नीति एवम् अभ्यासको अबलम्बन गर्नुपर्ने उनको भनाई थियो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णु गौतमले जागीर गर्ने भन्दा पनि स्वरोजगार गर्ने र उद्यमी बन्ने कुरामा जोड दिइनुपर्ने बताए । अभिभावकले नै आफ्ना छोराछोरीलाई व्यवसाय गर्ने र उद्यमी बन्नेतर्फ हौसला प्रदान गर्नुपर्ने उनको भनाई थियो । कामदार भिसामा विदेश जाने परम्पराले गर्दा मुलुकमा उत्पादन घटेको उनले बताए । ‘कुनै बेला खाद्यान्न निर्यात गर्ने गरेको मुलुकमा आज हरेक कुरा आयात गर्न थालिएको छ,’ उनले भने, ‘उत्पादनशीलतामा योगदान पुर्याउने सबै युवाहरु विदेशीएका छन् ।’ हरेक कामलाई सम्मान गर्ने बानी बसाल्ने हो भने समृद्धि सम्भव रहेको उनको भनाई थियो । युवाहरुलाई स्वदेशमै उद्यमी बन्नका लागि युवा स्वरोजगार कोषले कर्जा सहयोग गरिरहेको जानकारी गौतमले दिए । ०६५ सालमा स्थापना भएको कोषले हालसम्म पाँच अर्ब लगानी गरेको र ४५।४६ हजार स्वरोजगार सिर्जना गरेको उनले बताए । 

त्यस्तै, डेभलपमेन्ट बैंकर्स संघका महासचिव झलक प्रसाद खनालले लगानी र उद्यमशीलता अन्तरसम्बन्धित विषय भएको बताए । उनले भने, ‘लगानीबिना उद्यमशील बन्न सकिँदैन । त्यस्तै, उद्यम र उद्यमी नभई लगानी गर्न मिल्दैन ।’ लगानी गर्दा त्यसबाट उद्यमशीलता सिर्जना हुने र प्रतिफल प्राप्त हुने निश्चय गरेर मात्र लगानी गर्नुपर्ने उनको भनाई थियो । स्वपुँजीको लगानी गर्दा प्रत्यक्ष रुपमा उद्यमीसँग सम्बन्ध रहने भएकाले जोखिम पनि एक्लैले बहन गर्नुपर्ने तर बैंकबाट कर्जा लिएर लगानी कर्ता जोखिम पनि बाँडिने खनालले बताए । उनले भने, ‘बैंकले लगानी गर्ने व्यवसाय अथवा क्षेत्रको अध्ययन गरेर उचित भएनभएको विषयमा सचेत गराउँछ ।’

कार्यक्रममा माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स संघका बरिष्ठ उपाध्यक्ष प्रकाशराज शर्माले लघुवित्तहरु अब जीवीकोपार्जनमा सहयोग गर्ने कुरामा मात्र सीमित नभएर परियोजना, उद्यमशीलता लगायतमा समेत लगानी बढाउन थालेको जानकारी गराए । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जामध्ये, पाँच प्रतिशत कर्जा लघुवित्तहरुले प्रदान गरेको र २४ हजारभन्दा बढी महिलाहरुलाई उद्यमी बन्न सहयोग गरेको उनले बताए । लघुवित्त संस्थाहरुले उद्यमशीलता सम्भव भएको र विपन्न वर्ग पनि उद्यम गरेर समृद्ध बन्न सक्ने कुराको पुष्टि गरेको उनको भनाई थियो । 

सेयर बजार विशेष अन्तक्र्रिया
दोस्रो बैंकिङ एक्स्पोको सेयर बजार विशेष अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सेयर विज्ञ डा. गोपाल भट्टले नेपालको सेयर बजारमा सर्ट सेलिङको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए । डा. भट्टले सेयर बजार बढ्दा र घट्दा दुवै अवस्थामा फाइदा लिनका लागि लगानीकर्ताले सर्ट पोजिसन लिनुपर्ने बताए । ‘मूल्य बढ्दा सेयर बेच्ने र घटेको कम्पनीको सेयर किन्ने गरेर बजार घट्दा वा बढ्दा दुवै अवस्थामा फाइदा दिन सकिन्छ,’ उनले भने, ‘नेपालमा सेयर किने मूल्य कहिले बढ्ला भनेर कुरेर बस्ने प्रचलन रहेको छ, जुन लङ पोजिसनको अवस्था हो ।’ त्यस्तै, सेयर बजारमा रियल सेक्टरको प्रवेश गराउनुपर्ने र संस्थागत लगानीकर्ताहरुको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

सेयर बजारमा जोखिम हुने भएकाले लगानी गर्दा विशेष ध्यान दिनुपर्ने डा. भट्टले बताए ।  लगानी गर्दा बजारसम्बन्धि टर्मिनोलोजीहरु, बजारमा प्रयोग भइरहेका प्रविधिहरु, नीतिगत व्यवस्थाहरु, लगानी गर्न लागेको कम्पनी लगायतका विषयमा राम्ररी अध्ययन गर्नुपर्ने उनले सुझाए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले नेपालको पुँजी बजारलाई व्यवस्थित बनाउन बोर्डले थुप्रै प्रविधिहरु भित्र्याएको जानकारी दिए । आगामी दिनहरुमा पनि यस्ता खाले प्रविधिहरुको विकासमा जोड दिने उनको भनाइ थियो । कार्यक्रममा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष ध्रुव तिमल्सिनाले सेयर बजारले मुलुकको विकासका लागि पुँजी जुटाउने काम गर्ने जानकारी दिए । अहिले नेपालको सार्वजनिक निष्काशनको बजार देशव्यापी रुपमा गइसकेको र नेपाल धितोपत्र बोर्डले पनि सेयर बजारको विकासका लागि प्रकावकारी नीतिहरु कार्यान्वयनमा ल्याएकाले अब छिटै नै नेपालको सेयर बजारले फड्को मार्ने उनको भनाइ थियो । 

त्यस्तै, ब्रोकर्स एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले नेपालको पुँजी बजार विकासको क्रममा रहेको बताए । उनले विगत केही समयमा नै सेयर बजारमा थुप्रै नीतिगत परिवर्तनहरु भएको र विकृतिहरुसमेत घटेको जानकारी दिए । यद्यपि, प्राथमिक बजारको तुलनामा दोस्रो बजारको अवस्था कमजोर रहेको उनको भनाइ थियो । ‘दोस्रो बजार नीतिनियम, संस्थागत संचरना, प्रविधि लगायतका कुराहरुमा कमजोर रहेकाले सानो घटनाबाट पनि प्रभावित हुने गरेको छ,’ उनले भने । दोस्रो बजारमा जोखिम बढी हुने भएकाले आधारभूत कुराहरुलाई ध्यान दिएर मात्रै लगानी गर्न उनले सुझाए । एनआरएनएका सल्लाहकार गोविन्द बेलवासेले आफूहरुले पनि नेपालको पुँजी बजारमा प्रवेश गर्न चाहेको बताए । गैरआवासिय नेपालीहरुले पूर्वाधार विकासमा योगदान पुर्याइरहेको जानकारी दिँदै उनले अब सेयर बजारमा पनि लगानी गर्न आतुर रहेको बताए ।