साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो कर्मचारीहरुलाई एक दिने जिवन बीमा तथा शाखा ब्यबस्थापन तालिम प्रदान गरेको छ । संस्थाका संस्थापक सेयरधनी रबिन अधिकारीले तालिमको उद्घाटन गरेका थिए ।
लघुवित्तको आधारभूत अवधारणा, प्रभावकारी शाखा व्यवस्थापन, सदस्य तथा कर्जा विस्तारमा कर्मचारीको भुमिका र जिवन बीमा लगायतका बिषयबस्तु बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
तालिममा वित्तीय संस्थाको तर्फबाट फिल्डको गुणस्तर बृद्धि, गुणस्तरीय कर्जा बिश्लेषण, कर्जा सदुपयोगिता, धितो कर्जाको उच्च व्यवस्थापन, कार्यालयको लेखा ब्यबस्थापन, मासिक केन्द्र बैठक ब्यबस्थापनको बारेमा बिभागीय प्रमुखहरु क्रमशः सरिता ढकाल, रुपेश कुमार झा, राम प्रसाद लामिछाने र किरण श्रेष्ठले आफनो प्रस्तुती राखेका थिए । लाईफ ईन्सुरेन्स करपोरेसन नेपाल गोरखाका शाखा प्रमुख हरि शर्मा पौडेल, एजेन्सी म्यानेजर मोहमद फजल मिँयाले जिवन बीमाको उद्देश्य, महत्व तथा बीमाको प्रक्रियाको बारेमा सहभागीहरुलाई सहजीकरण गरेका थिए ।
४० जना सहभागी भएको तालिममा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । साथै दश जिल्ला कार्यक्षेत्र रहेको यस संस्थाले आफनो स्थापनाको ३ महिनाको छोटो अवधिमा अति बिकट पहाडी क्षेत्र तथा ग्रामिण क्षेत्रमा १५ ओटा शाखाबाट ३००० भन्दा बढी बिपन्न सदस्यहरुलाई सेवा गर्दै आईरहेको जानकारी पनि कार्यक्रममा दिइयो ।