स्वावलम्बन लघुवित्त विकास बैंक लि.को १७ औं वार्षिकोत्सव एक समारोह विच काठमाडौंमा सम्पन्न भएको छ ।
समारोह उद्घाटन गर्दैै नेपाल राष्ट्र बैंक लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका का.मु.कार्यकारी निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथि देव कुमार ढकालले वित्तीय संस्थाले यस प्रकारका कार्यक्रम गरी विभिन्न विधामा ग्राहक सदस्यहरुलाई सम्मान गरी प्रोत्साहन गर्नु अत्यन्त प्रशंसनिय रहेको बताए । ज्येष्ठ ग्राहक सदस्य, उत्कृष्ट लघुउद्यमी, उत्कृष्ट वचतकर्ता, उत्कृष्ट केन्द्रलाई सम्मान गर्नुले यस वित्तीय संस्था ग्राहक सदस्यप्रति उत्तरदायी र जिम्मेवार रहेको प्रष्ट भएको हुनाले वित्तीय संस्थालाई दीगो लघुवित्त सेवा प्रदायक बनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रमका सभापति तथा बैंक संचालक समितिका अध्यक्ष बिजेन्द्र सुवालले संस्थाको वित्तीय सहयोगमा ग्राहक सदस्यहरुले विभिन्न उद्यम गरिरहेकोमा खुसी व्यक्त गरे । हालको प्रतिस्पर्धामा चुनौतीहरु रहेता पनि चुनौतीलाई अवसरको रुपमा लिएर संस्था अगाडि बढ्ने बताए । सदस्यको क्षमता अभिवृद्धि, कर्मचारी तालिम र सुचना प्रविधिमा जोड दिँदै संस्थाको सेवा अधिकतम क्षेत्रमा विस्तार गर्ने समेत बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश मान प्रधानले बैंकको विकासको १६ वर्षको समय अन्तरालमा विभिन्न साना ठूला समस्या र चुनौतिहरुलाई सहजता र सफलतापूर्वक पार लगाउँदै आजका दिनसम्म आइपुगेको बताए । संस्थाको विगत र वर्तमान गौरव गर्न लायक रहेको उनले बताए । यस महत्वपूर्ण अवसरमा पूर्व संचालक लगायत कर्मचारीहरु र उत्कृष्ट केन्द्रका प्रमुखहरु, उत्कृष्ट बचतकर्ता, सफल उद्यमी लगायतलाई सम्झन र सम्मान गर्न पाउदा खुसी लागेको समेत उनले उल्लेख गरे ।
विपन्न वर्गको आर्थिक–सामजिक अवस्थामा सुधार ल्याउन लघुवित्त कार्यक्रम संचालन गर्दै आएको बैंकले हाल ५४ जिल्लाका १२३ शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख १८ हजार ९ सय ७२ ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा पु¥याउँदै आएको छ । बैंकको हाल लगानीमा रहिरहेको कर्जा रकम रु.८ अर्व ३५ करोड १२ लाख ५४ हजार रहेको छ ।
समारोहमा बैंकमा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघु उद्यमीहरु, उत्कृष्ट वचतकर्ता, उत्कृष्ट केन्द्र प्रमुख तथा उत्कृष्ट शाखा कार्यालयहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संचालक समितिका पूर्व संचालकहरु तथा २० वर्षसम्म निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई दोसल्ला ओढाई कदरपत्र सहित सम्मान गरिएको थियो । साथै, कर्मचारी र ग्राहक सदस्यका छोरा छोरीहरुलाई २०७३ सालको एस.ई.ई. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्रछात्राहरुलाई नगद सहित सम्मान गरिएको थियो ।




