December 30th, 2017

साताभर केके भयो बैंकिङ क्षेत्रमा ? हेर्नुहोस्, नौ बुँदामा

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएको छ । बैंकहरु निक्षेप बढाउन व्याजदर बढाउने गरिरहेका छन् । यता, राष्ट्र बैंक पनि तरलताको अवस्था सुल्झाउनतिर लागेको छ । साताको अन्तिम दिनदेखि इटहरीमा बैंकिङ एक्स्पो सुरु भएको छ । समग्रमा, यो साता, बैंकिङ क्षेत्रमा भएका महत्वपूर्ण खबरहरु यहाँ प्रस्तुत गरिन्छ :

बैंकिङ एक्स्पो सुरु
पूर्वाञ्चलको इटहरीमा बैंकिङ एक्स्पो सुरु भयो । मिडिया इन्टरनेलले आयोजना गरेको एक्स्पो १६ गते अर्थात आइतबारसम्म चल्नेछ । बैंक तथा वित्तीय संस्था, बीमा लगायतका कुल ३७ स्टक रहने एक्स्पोमा बैंक, बीमा, रेमिट्यान्स, उद्यमशीलता लगायतका बारेमा जानकारी पाइनेछ । 

साना वित्तीय संस्थालाई पुँजीवृद्धिमा सहजता
नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै एक जिल्ला कार्यक्षेत्र भएका विकास बैंक र फाइनान्स कम्पनीलाई तोकिएको चुक्तापुँजी पुर्याउन दुई वर्षको समय थप गरिदियो । जसअनुसार, अब एक जिल्ले विकास बैंक र फाइनान्स कम्पनीले आगामी ०७६ साल पुष मसान्तसम्म तोकको पूँजी पुर्याउनु पर्नेछ । ०७२ सालको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले एक जिल्ले विकास बैंकलाई ५० करोड तथा फाइनान्स कम्पनीले ४० करोड चुक्ता पुँजी ०७४ असार मसान्तभित्र पुर्याउनु पर्ने व्यवस्था गरेको थियो । त्यसपश्चात ६ महिना समय थपेको राष्ट्र बैंकले अहिले दुई बर्ष समय थप गरिदिएको हो । साथै राष्ट्र बैंकले थपिदिएको समयमा पनि पूँजी बढाउन नसके यस्ता बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । 

विदेशी अवार्ड लिन कडाई
राष्ट्र बैंक मंगलबार साँझ निर्देशन जारी गर्दै बैंक अफ दि इयरजस्ता विदेशी अवार्ड लिन बैंकहरुलाई कडाइ गर्ने जनायो । पुरस्कार लिन जाँदा उल्लेख्य खर्च हुन थालेपछि राष्ट्र बैंकले अवार्डमा कडाइ गर्ने भएको हो । बैंकहरुले विदेशी अवार्ड लिनुअघि अवार्ड दिने संस्थाको वैधानिक हैसियतका साथै उसको आधिकारिकता पुष्टी हुने कागजातसमेत राष्ट्र बैंकलाई बुझाउनु पर्छ । अवार्ड लिनका लागि विदेश जाने बिषयलाई व्यवस्थित गर्ने जिम्मा सम्बन्धित बैंकहरुलाई नै छाडिएको छ ।

विकास ऋणपत्र खरिद बोलकबोल
नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ तरलता बैंकिङ बजारमा पठाउनका लागि विकास ऋणपत्र खरिद गर्ने सूचना निकाल्यो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको विकास ऋणपत्र खरिद गर्नका लागि सोझै खरिद बोलकबोलको सूचना जारी गरेको छ । तत्काल देखिएको तरलता अभावको समस्याको समाधानका लागि राष्ट्र बैंकले विकास ऋणपत्र खरिद गरी बैंकहरुलाई रकम उपलब्ध गराउन लागेको हो । बैंकहरुले आगामी आइतबार अर्थात पुस १६ गते आफूसँग भएको विकास ऋणपत्र राष्ट्र बैंकलाई विक्री गरी रकम लिन सक्नेछन् । ऋणपत्रको व्याजदर बोलकबोलको आधारमा तय गरिने राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले तरलता अभाव भएको भन्दै महँगो व्याजदरमा निक्षेप लिन थालेका छन् भने आफूसँग भएको निक्षेपलाई कायम राख्न मुद्धति निक्षेपको व्याजदर समेत धमाधम बढाइरहेका छन् ।

एनआईसी एशिया बैंकको ऋणपत्र निष्काशन
एनआईसी एशिया बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१।८२’ को बिक्री खुला गर्यो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्रमध्ये ८० प्रतिशत अर्थात दुई अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवरबाट र २० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन खुला गरेको हो । बैंकको डिबेन्चरमा पुस १७ गतेसम्म आवेदन दिन पाइनेछ । 

लक्ष्मी बैंकको भाइबर सेवा सुरु
लक्ष्मी बैंक लिमिटेडले भाइबर सेवा सुरु गर्यो । यससँगै, भाइबरको “लक्ष्मी बैंक पब्लिक एकाउन्ट”मा आबद्ध भएपछि विभिन्न बैंक सम्बन्धित सूचनाहरु सहज रुपमा तत्कालै प्राप्त गर्न सकिने भएको छ । विषेश गरी लक्ष्मी बैंकका ग्राहकहरुले भाइबर सेवाअन्तर्गत आफ्नो खाताको विवरण, व्यालेन्स, मिनि स्टेटमेन्ट लगायत अन्य थुप्रै अत्यावश्यक सूचनाहरु जस्तै बैंकका शाखाहरु, बैंकका एटिएमहरु कहाँकहाँ छन् भन्ने जानकारी, विदेशी मुद्राको विनिमय दर, जस्ता थुप्रै जानकारी प्राप्त गर्न सक्ने छन् । साथै यो सेवा बैंकको लक्ष्मी बैंक मोबाइलमनिको एक हिस्साका रुपमा समेत उपलब्ध रहेको छ ।  

कर्पोरेट मुभमेन्ट
नविल बैंकको सीईओमा अनिल केशरी शाह नियुक्त भए ।

आशा लघुवित्त वित्तीय संस्था लि.को प्रथम बार्षिक साधारणसभाबाट निर्वा्चित संचालक रामेश्वर सापकोटालाई वित्तीय संस्थाको संचालक समितिको बैठकबाट अध्यक्ष छनौट गरियो । 
एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सञ्चालक समितीमा आगामी ४ वर्षको लागि पुनः नियुक्त भएका अध्यक्ष उत्तम भ्लोन लामाले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरे ।
बुधबार(पुस १२ गते) बसेको मुक्तिनाथ विकास बैंक लि.को सञ्चालक समितिको बैठकले सञ्चालक खिम प्रकाश मल्ललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्यो ।

शाखा तथा सेवा विस्तार
सनराइज बैंक लिमिटेडले बालाजु चोक र पद्म कोलनी, सीतापाइलामा एटिएमहरु संचालनमा ल्यायो भने देश नं ४, कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं. ५ मा नयाँ शाखा स्थापना गर्यो ।
विहीबारदेखि प्रभु लाइफ इन्स्योरन्सले म्यादी जीवन बीमा योजना सुरु गर्यो ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लि.ले तिलोत्तमा नगरपालिका–८ शिवपुरमा शाखा कार्यालय स्थापना गरी बैंकिङ कारोबार शुरु गर्यो ।
प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिकास्थित मैनापोखरी र गोरखाको शहीद लखन गाउँपालिका, घैरुङमा नयाँ शाखाको शुभारम्भ गर्यो ।
प्रभु बैंक लिमिटेडले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजुमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्यायो ।
सर्लाही जिल्ला बरहथवा नगरपालीकामा कृषि विकास बैंक लि.को आधुनिक प्रविधि जडीत पूर्ण वाणिज्य बैकिङ्ग शाखाको औपचारिक उद्घाटन गरियो । 
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मकवानपुरको हेटौंडा, बागलुङ्गको बागलुङ्ग र तनहुँको दमौलीमा शाखा कार्यालय स्थापना गरी संचालनमा ल्यायो ।  

कर्मचारीलाई तालिम
स्पर्स लघुवित्त वित्तीय संस्थाले फिल्डमा काम गर्ने कर्मचारीहरुलाई २ दिने लघुवित्त सम्बन्धी आधारभुत तालिम सम्पन्न गर्यो ।