बैँकर्सको नजरमा नेपाली बैँक चिन प्रवेश गर्दाका सास्तीहरु
गत चैत्र महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारीक चीन भ्रमणका क्रममा नेपाल राष्ट्र बैंक र चीनको बैंकहरू नियमन गर्ने निकाय चाइना बैंकिङ रेगुलेटरी कमिसन (सिआरबी) बिच एउटा सम्झौता भयो । जुन सम्झौतापछि अब चिनियाँ बैंकहरुले नेपालमा र नेपाली बैंकहरुले चीनमा शाखा खोल्न पाउँछन् ।
नेपाल र चीनबीचको ब्यापार दिनदिनै बढ्दै गएको कारण पनि यो सम्झौतालाई महत्वपूर्ण मानिएको छ । चीनसँगको ब्यापार अहिले दोहोरो अंकमा बृद्धि भइरहेको छ तर दुवै देशमा एकअर्काका मुलुकका बैंकका शाखाको अभावका कारण कारोबारमा भने समस्या देखिने गरेको छ । अहिले बैंकहरुले चीनबाट सामान निर्यात गर्ने ब्यापारीहरूका लागि लेटर अफ क्रेडिट खोल्ने गरेका छन् । त्यसैले पनि यो सम्झौतालाई बहुआयामिक रुपमा लिइएको हो ।
आर्थिक रुपमा विश्वमै शक्तिशाली बनिसकेको चीनका बैंकहरुले नेपालमा शाखा खोल्ने आर्थिक तथा प्राविधिक हैसियत राख्छन् । तर नेपालजस्तो विकासोन्मुख राष्ट्रका बैंकहरुले चीनमा शाखा खोल्ने हैसियत राख्लान् भन्ने विषयमा बैंकर्सहरु नै आशंकित छन् । यद्यपी शाखा खोल्नै नसक्ने अवस्था नरहेको उनीहरुको भनाई छ । शाखा खोलेपनि टिकाईराख्न भने अत्यन्त चुनौतिपूर्ण रहेको बैंकर्सहरुको ठम्याई छ । यसैबिच, नेपाली बैँकहरु चिन प्रवेश गर्न सक्ने सम्भावना र चिनमा शाखा विस्तार गर्दा भोग्नुपर्ने अप्ठेराहरुको विषयमा बैंकिङ खबर डट कमका लागि सहकर्मी शिवहरि घिमिरेले राष्ट्र बैंकका अधिकारीसहित केही बैंकर्सहरुसँग गरेको बहस यहाँ प्रस्तुत गरिन्छ :
असम्भव त छैन तर चुनौतीपूर्ण छ चिन्तामणी शिवाकोटी (डेपुटी गर्भनर, नेपाल राष्ट्र बैंक) चींन र नेपालबीच भएको बैंकिङ सम्झौता दुबै देशको लागि फाइदाको विषय हो । तर नेपाली बैंकहरुले बर्तमान अवस्थामा सहजै चीनमा शाखा खोल्न सक्ने अवस्था छैन् । नेपाली बैंकहरुको पुँजीको दायरा सानो छ । तत्कालै हामीसँग चीनका बैंकहरुसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता छैन् । चीनमा शाखा खोल्नको लागि नेपाली बैंकहरुले पुँजीको दायरा फराकिलो बनाउन आवश्यक छ । यो सम्झौताले बैंकिङ क्षेत्रलाई मात्र नभएर व्यापार व्यवसाय र लगानीको क्षेत्र तथा दायरा पनि बढ्छ । यतिमात्र भएर पुग्दैन । हामीसँग अन्र्तराष्ट्रिय जगतमा पुग्न सक्ने क्षमता र तत्परता चाहिन्छ । नेपाली बैंकहरुको पुँजीको दायरा बढाउनकै लागि भनेर राष्ट्र बैंकले पनि पुँजी वृद्धिको योजना ल्याएको हो । त्यसैले नेपाली बैंकहरुले चीनमा शाखा खोल्नु असम्भव नै त हैन तर चुनौतिपूर्ण छ ।
शाखा खोल्नु मात्र ठूलो कुरा हैन उपेन्द्र पौडेल (अध्यक्ष, नेपाल बैंकर्स संघ ) नेपाली बैंकहरुले चीननमा शाखा विस्तार गर्नुपूर्व गहन अध्ययन गर्न आवश्यक छ । नेपाली बैंकहरुलाई चीनमा खाशा विस्तार गर्न निकै जटिल विषय हो । त्यहाँ शाखा विस्तार गरेर मात्र हुँदैन कारोबार र क्लाइन्ट बढाउन सक्नुपर्छ । यो बैंकिङ संझौताले देशको आर्थिक विकासमा पनि महत्वपूर्ण टेवा पुग्ने देखिन्छ । तर त्यसको लागि हामी प्राविधिक र पुँजीको क्षेत्रमा अब्बल हुन जरुरी छ । चीनका बैंकहरु नेपाल आउन सक्षम छन् । उनीहरुसँग लगानी गर्न सक्ने हैसियत पनि छ । तर हामी पुँजीको हिसाबले अलि कमजोर छौँ । चीनमा बैंकका शाखाहरु विस्तार गर्नको लागि सानो पुँजीले भेट्दैन । त्यसकारण हामीले चीनमा शाखा खोल्नुपूर्व गहिरो अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ ।
बैंकिङ कारोबारलाई दिगो बनाउनुपर्छ अनिल केशरी शाह (उपाध्यक्ष, नेपाल बैंकर्स संघ एवम सिईओ मेगा बैंक) नेपालका बैंकहरुले चिनियाँ बैंकसँग जोडिनु र बैंकिङ कारोबार सुरु गर्नु खुशीको कुरा हो । नेपाली बैंकहरुले यो सम्झौतालाई एउटा अवसरको रुपमा लिनुपर्छ । यसले नेपाल र चीनबीचको आर्थिक क्रियाकलापमा पनि ठूलो टेवा पु¥याउने देखिन्छ । यद्यपी नेपालका बैंकहरुलाई चीनमा शाखा खोल्नको लागि चुनौति नभएको होइन । चुनौतिका पक्षहर धेरै छन् । जस्तै पुँजीको अभाव, प्राविधिक कठिनाई र क्लाइन्टको अभाव देखिन सक्छ । तर ती चुनौतिलाई सामना गर्नको लागि हामीसँग सामथ्र्य पनि आवश्यक छ । चीनमा गएर कारोबारको त कुरै छाडौँ शाखा खोल्नको लागि पनि ठूलो पुँजीको आवश्यकता पर्छ । त्यस्तै बैंकहरुले शाखा त खोल्लान् तर टिक्न सक्ने क्षमता पनि चाहियो । त्यसकारण नेपाली बैंकहरुले चाइनामा बैंकिङ कारोबार सुरु गर्नुपूर्व संयमता अपनाउन जरुरी छ ।
नेपाली बैंकले तत्कालै चीनमा शाखा खोल्न सक्दैनन् लीला प्रकाश सिटौंला (सिईओ, कृषि विकास बैंक) दुई देशबीच भएको सम्झौताले बैंकिङ कारोबारको नयाँ बाटो खुलेको छ । तर नेपाली बैंकहरुले तत्कालै चीनमा शाखा खोल्न सक्दैनन् । चीनमा शाखा खोलेर मात्र हुँदैन । बैंकिङ कारोबारमा अभ्यस्त हुन सक्ने क्षमता हामीसँग चाहिन्छ । यो सम्भौताबाट हाम्रो बैंकिङ कारोबार अन्र्तराष्ट्रिय जगतले नै चिन्ने भएकोले हामीले अध्ययन गरेर मात्र शाखा खोल्न जरुरी छ । नेपाली बैंक र चिनियाँ बैंकहरुको बैंकिङ कल्चर र बैंकिङ सिस्टम पनि फरक छ । हामीभन्दा उनीहरु बैंकिङ कारोबारमा बढी व्यवस्थित छन् । त्यसकारण हामीले हाम्रा कमजोरीलाई सच्याउँदै जानुपर्छ । नेपाली बैंकहरुले पुँजीको सुधार सँगसँगै चाइनाको बैंकिङ प्रणालीलाई पनि राम्रोसँग बुझ्न आवश्यक छ । यसबाहेक आर्थिक सामथ्र्य कमजोर भएकोले चीनमा शाखा खोल्नुपूर्व पुँजी वृद्धितर्फ जोड दिन आवश्यक छ ।
बैंकर्सहरुको भनाईलाई नै मान्ने हो भने नेपालका बैंकहरुलाई चीनमा शाखा खोल्न चुनौति धेरै छन् । चीनको प्राविधिक विकास र आर्थिक हैसियतसामु नेपालका बैंकहरुले त्यहाँ शाखा खोल्नुअघि धेरै कुरामा ख्याल पुर्याउन आवश्यक छ । चीनमै पुगेर क्लाईन्ट टिकाएर कारोबार गर्नु चुनौतीपूर्ण देखिन्छ ।