बैंकिङ खबर – युवा तथा साना व्यवसायी स्वरोजगार कोष युवाहरूलाई स्वदेशमै आयआर्जनमा लगाउने र स्वरोजगार बनाउने उद्देश्यसहित ०६५ सालमा कोषको स्थापना भएको थियो । स्वरोजगार कोषले अहिले उद्यमशील बन्न चाहने युवाहरुका लागि अर्बौँ रुपैयाँ लगानी गरिरहेको छ । कोषबाट ऋण लिएर नियमित व्याज भुक्तानी गर्दै आएका ऋणीलाई सरकारले ६० प्रतिशतसम्म व्याज अनुदान दिँदै आएको छ । ऋणको किस्ता र नियमित व्याज भुक्तानी गरे ऋणीले चार प्रतिशत मात्रै व्याज तिर्नु पर्दछ । त्यस्तै स्वरोजगार कर्जा अन्तर्गतका व्यवसाय र व्यवसायीको बीमा गरिदिने र लाग्ने प्रिमियम अनुदान दिने व्यवस्था रहेको छ । कोषले गत आर्थिक बर्षसम्म चार अर्ब रुपैयाँ भन्दा बढी लगानी गरिसकेको र यस कार्यक्रमबाट ४० हजारभन्दा बढी युवा उद्यमी बन्न सफल भएको दाबी गरेको छ ।
	कोषले क–कसलाई दिन्छ कर्जा ? 
	युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १८ बर्ष माथिका र ५० बर्ष भन्दा मुनिका युवाहरुका लागि कर्जा सुविधा उपलब्ध गराउँछ । कोषले उत्पादनशील क्षेत्रमा लगानी गरी उद्यमशील बन्न चाहाने युवाहरुका लागि लगानी गर्ने गरेको छ । कोषबाट कर्जा सुविधा लिनका लागि स्वरोजगार बन्न चाहाने जो कोही युवाले पनि आवेदन दिन सक्ने कोषका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद गौतमको भनाई छ । 
	कतिसम्म पाइन्छ कर्जा ? 
	स्वरोजगार कोषले बैंक, वित्त वा सहकारी संस्थाहरु मार्फत युवाहरुमा लगानी गरिररहेको छ । कोषबाट कर्जा लिन चाहाने बैंक, वित्त वा सहकारी संस्थाहरुले प्रति संस्था ५० लाख रुपैयाँ पाउने वर्तमान व्यवस्था छ । जस अनुसार प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म कर्जा पाइन्छ । यसका लागि कुनै पनि धितो राख्नुपर्दैन । यो रकम कोषले बिनाधितो उपलब्ध गराउँछ । हाल भएको व्यवस्थालाई परिमार्जन गरेर कोषले एक वित्तीय संस्थालाई एक करोड रुपैयाँ र स्वरोजगार बन्न चाहने युवाहरुका लागि पाँच लाख रुपैयाँ कर्जा बिनाधितो उपलब्ध गराउने तयारी थालेको छ । हाल ऐन संशोधनको प्रक्रियामा रहेको र संसोधन भएपछि यो व्यवस्था लागु हुने कोषले जनाएको छ । 
	बिना धितो कर्जाको व्याजदरमा ६० प्रतिशत अनुदान 
	यसरी लिएको कर्जा युवाहरुले उत्पादनशील क्षेत्रमा लगानी गरेर नियमित कर्जाको किस्ता÷ब्याज भुक्तानी गरे वापत कोषले ब्याजदरमा ६० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ । कोषले हाल उपलब्ध गराउँदै आएको व्यादजर १० प्रतिशत हो । नियमित कर्जाको व्याज÷किस्ता भुक्तानी गरेवापत कोषले १० प्रतिशत व्याजदरमा ६० प्रतिशत अनुदान दिने गरेको छ । अनुदानपछि युवाहरुले जम्मा चार प्रतिशत मात्रै व्याददर भुक्तानी गर्नुपर्ने हुन्छ । 
	कसरी लिने कर्जा ? 
	युवा स्वरोजगार कोषबाट कर्जा लिनका लागि केहि प्रक्रिया भने पुरा गर्नुपर्ने हुन्छ । कोषबाट कर्जा लिनका लागि कर्जा लिन चाहने युवाले आफूले गर्न चाहेको पेशा÷व्यवसायबारे स्पष्ट खाका तयार पार्नुपर्ने हुन्छ । आफूले के गर्न चाहेको हो त्यसबारे योजना तयार पारी नजिकैको बैंक, वित्तीय संस्था वा सहकारी संस्था मार्फत स्वरोजगार कोषमा प्रस्ताव गर्नुपर्ने हुन्छ । 
	कर्जा लिने सरल प्रक्रिया
	१. उद्यमी बन्न चाहानेले के व्यवसाय वा पेशा गर्ने स्पष्ट खाका बनाउने ।
	२. प्रस्ताव पत्र बनाउने, मानौँ तपाई तरकारी खेति गर्न चाहानुहुन्छ भने तरकारी खेतिको बारेमा प्रस्ताब पत्र बनाउने ।
	३. प्रस्ताव पत्र बनाएर नजिकै रहेको सहकारी अथवा अन्य बैंक वित्तीय संस्थासंग समन्वय गर्ने । 
	४. स्वरोजगार कोषले स्वरोजगार बनाउनका लागि विभिन्न राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गर्छ । कोषले प्रस्ताव आह्वान गरेपछि बैंक, वित्त वा सहकारी मार्फत प्रस्ताव दर्ता गर्ने । 
यति गरिसकेपछि कोषले कर्जा दिने प्रक्रिया अगाडी बढाउँछ ।
	कोषको कार्यालय
	माथिका सबै कुरा जानिसके पछि तपाईँलाई स्वरोजगार कोष कहाँ छ भन्ने कौतुहलता जाग्न सक्छ । कोषको पुरा नाम ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष’ हो । यस कोषको कार्यालय काठमाडौंको अनामनगरमा छ । अनामनगरको मूख्य सडकमा रहेको बाजेको सेकुवाबाट पूर्व पट्टि करिब ४ सय मिटरको दुरीमा कोषको कार्यालय रहेको छ । यस कोषको आधिकारिक सम्पर्क नम्बर ०१–४१०२८३१  हो ।
       
        