प्रभु बैंकले विकट क्षेत्रमा प्राथमिकताका साथ शाखा कार्यालयहरु स्थापना गरिरहेको छ । ग्रामिण भेगका जनतालाई बैंकिङ सेवा दिने उद्देश्यले बैंकले अहिले शहरभन्दा पनि ग्रामिण भेगमा बढी शाखा विस्तार गरिरहेको छ । ग्रामिण भेगमा शाखा खोल्दा मूनाफा आर्जन नहुने भएकाले बैंकहरुले त्यस्ता ठाउँमा शाखा खोल्न नमानेका बेला प्रभु बैंक भने अग्रसर देखिएको छ । मूनाफाभन्दा पनि जनताको सेवालाई बिशेष प्राथमिकतामा राखेर दुर्गममा शाखा खोलिएको प्रभु बैंकले जनाएको छ । रुकुमको रुकुमकोट, मुस्ताङको मार्फा, मनाङको चामे, मुक्तिनाथको रानिपौवा, अछाम लगायतका दुर्गम ठाउँहरुमा शाखा विस्तार गरिसकेको प्रभु बैंकले अन्य थप विकट क्षेत्रमा शाखा विस्तार गर्ने तयारी गरिरहेको छ । मध्य र सुदुपश्चिमका आधाभन्दा बढी जनसंख्या सहज वित्तीय पहुँचमा नरहेको तथ्यलाई मध्यनजर गर्दै सक्षमसँग मिलेर प्रभु बैंकले वित्तीय पहुँचमा रहेको असन्तुलनलाई कम गर्ने लक्ष्य लिएको छ । प्रभु बैंकको यस कार्यमा सक्षमले प्राविधिक र वित्तीय सहयोग गर्ने जनाएको छ ।
अब हरेक स्थानीय तहमा प्रभु बैंकका शाखा
नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा शाखा खोल्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएबमोजिम प्रभु बैंकले निकट भविष्यमा नै ३१ वटा शाखा विस्तार गर्ने भएको छ । प्रभुले प्रदेश नं. १ को चार वटा, प्रदेश नं. २ को चार वटा, प्रदेश नं. ४ को १४ वटा, प्रदेश नं. ५ को २ वटा, प्रदेश नं. ६ को ४ वटा र प्रदेश नं. ७ को ३ वटा स्थानीय तहमा शाखा विस्तार गर्ने भएको छ । प्रभु शाखा विस्तार गर्न लागेका सबै स्थानीय तह गाउँपालिका हुन् ।
लघुवित्त नपुगेको ठाउँमा 'प्रभु बैंक'
बिशेष गरेर ग्रामिण भेगका विपन्न वर्गलाई सेवा दिने उद्देश्यले सञ्चालन अनुमति पाएका लघुवित्त वित्तीय संस्थाहरु अझै पनि विकट क्षेत्रमा पुग्न सकेका छैनन् । तर, देशका विभिन्न विकट क्षेत्रहरु जहाँ लघुवित्त पुगेका छैनन्, त्यस्ता ठाउँमा समेत प्रभु बैंकले शाखा विस्तार गरेको छ । विकट क्षेत्रमा शाखा विस्तार गर्दा नाफा नहुने भए पनि सेवा र बैंकिङ पहुँच विस्तारकै लागि प्रभु बैंकले शाखा विस्तार गरिरहेको छ । हाल मुलुकभर प्रभु बैंकका १३३ शाखा सञ्चालनमा छन् । जसमध्ये, ४४ वटा शाखा उपत्यकाभित्र छन् भने बाँकी ८९ वटा शाखा उपत्यकाबाहिर छन् ।
बैंकिङ पहुँचको अभाव भएका जिल्लाहरुमा प्रभुको शाखा
बैंकिङ पहुँचका दृष्टिकोणले नेपालका ७५ जिल्लामध्ये अति नै पछि परेका नौ जिल्लाहरु छन् । ति नौ जिल्लाहरुमा शाखा खोल्न बैंकहरुले गाह्रो मानिरहेका बेला प्रभु बैंकले भने ती नौ मध्ये केही जिल्लामा शाखा विस्तार गरिसकेको छ भने बाँकी जिल्लाहरुमा पनि शाखा विस्तार गर्ने तयारी गरेको जनाएको छ । बैंक तथा वित्तीय संस्थाको एकदमै न्यून उपस्थिति भएका मनाङ, जुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुला जिल्लामा वित्तीय साक्षरता र बैंकिङ पहुँचको अवस्था अझै निराशाजनक देखिएको छ । ती जिल्लामा अझै पनि मानिसहरु साहू महाजनसँग नै कारोबार गर्न बाध्य छन् । उनीहरुमध्ये धेरैलाई बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्नु त टाढाकै कुरा भयो, यस्ता संस्था भनेको के र कसका लागि भन्ने कुरा नै थाहा छैन । प्रभु बैंकले शाखा विस्तार गरेपछि ती जिल्लाहरुमा बैंकिङ पहुँच पुगेको छ भने वित्तीय साक्षरताको पनि विकास भइरहेको छ ।