एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ९८ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलव ५० प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा एभरेष्टले एक अर्ब ७३ करोड दुई लाख रुपैयाँ नाफा कमाएको थियो ।
पाँच अर्ब ७४ करोड १० रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब ८८ करोड ३७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा दुई दशमलव १५ प्रतिशतले वृद्धि गरी ९५ अर्ब नौ करोड ४४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १४ दशमलव ७० प्रतिशतले वृद्धि गरी ७८ अर्ब २८ करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी १५ दशमलव ८३ प्रतिशतले बढेर तीन अर्ब ७३ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १४ दशमलव ७४ प्रतिशतले बढेर तीन अर्ब ५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १२ करोड २४ लाख रुपैयाँ राखेको छ भने चार करोड ३३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ४३ दशमलब ७८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३० दशमलब ९० गुणा, प्रतिसेयर नेटवर्थ दुई सय २९ दशमलब ९९ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव ४६ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५१ प्रतिशत र पूँजीकोष अनुपात १४ दशमलव ८५ प्रतिशत रहेको छ ।


